नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने

  २०८१ भदौ १८ गते ९:२५     विकासन्युज

काठमाडौं । नबिल बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

उक्त साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृती पश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित भएको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पुँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.