३ करोडको पोर्टफोलियो २७ अर्ब पुग्यो

  २०८१ भदौ १८ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले ४० वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह-अवरोहहरू खेपेको छ । चार दशकको यात्रामा नबिलले व्यावसायिक र सेवाका आधारमा एक सफल वाणिज्य बैंकका रूपमा आफूलाई उभ्याएको छ । यस बैंकले करोडका लगानीकर्तालाई अर्बपति बनाएको पनि छ ।

नेपाल अरब बैंक (नबिल बैंक) स्थापना गर्दा तत्कालीन युएईका लगानीकर्ताले सन् १९८४ मा २ करोड ८१ लाख रुपैयाँ लगानी गरेका थिए । जुन लगानी अहिले ९ सय गुणा बढेर २७ अर्ब पुगेको छ । उक्त लगानी बैंकले बोनस सेयर मार्फत प्रदान गरेको रकमबाट वृद्धि भएको हो ।

‘समग्रमा नबिल बैंकले निरन्तर प्रतिफल दिइरहेको छ, विगत ३९ वर्षको इतिहास हेर्दा २ करोड ८१ लाखबाट सुरु गरेको लगानी ९ सय गुणा बढेको देखिन्छ, यसमा फेरि नगद लाभांश छुट्टै प्रदान गरिएको छ, बोनस सेयरबाट २ करोड ८१ लाख लगानी २७ अर्ब पुगेको हो,’ बैंकले भनेको छ ।

बैंक स्थापनाको सुरुवाती चरणका तीन वर्षमा सेयरधनीहरू आफैं पुँजी थप गरेका थिए । सन् १९८४ मा बैंक स्थापना गर्दा प्रतिकित्ता ६० रुपैयाँका दरले २ करोड ८१ लाख ८२ हजार ४२० रुपैयाँको दरले ४ लाख ६९ हजार ७०७ कित्ता सेयर थप गरेका थिए ।

त्यसपछि लगानीकर्ता आफैंले सन् १९८५ मा प्रतिकित्ता ६० रुपैयाँका दरले २ लाख २९ हजार २ सय रुपैयाँका ३ हजार ८२० कित्ता र सन् १९८६ मा १० हजार ८ सय रुपैयाँका १८० कित्ता सेयर थप गरे । सन् १९८७ मा १३ लाख ९९ हजार ९८० रुपैयाँ र सन् १९८८ मा १ लाख ७७ हजार ६ सय रुपैयाँ लगानी थपेर चुक्ता पुँजी ३ करोड रुपैयाँ पुर्याए ।

तर, सन् १९८७ र सन् १९८८ मा बैंकले नगद लाभांश पनि वितरण गरेको थियो । सन् १९८७ मा १० प्रतिशत अर्थात् ४९ लाख ७० हजार ४ सय रुपैयाँ र सन् १९८८ मा १२ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

सन् १९९१/९२ सम्म बैैंकको पुँजी ३ करोड रुपैयाँ थियो । त्यसपछिका वर्षबाट भने लगानीकर्ताले एक रुपैयाँ थप्नु परेको छैन । त्यसपछि बैंकले दिएको बोनस सेयर नै वृद्धि हुँदै अर्बाैं पुगेको हो । यस अवधिमा बैंकले एफपीओ, हकप्रद सेयर जारी गरेको पनि छैन ।

चार दशकको अवधिमा बैंकले २२ अर्ब रुपैयाँ ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको छ भने २० अर्ब ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको छ । बैंकले आफ्नो इतिहासमा सेयरधनीहरूलाई २१ वर्ष बोनस र नगद दुवै लाभांश वितरण गरेको छ भने नगद लाभांश भने ३३ वर्ष वितरण गरेको देखिन्छ ।

तर, साविक युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँ र साविक नेपाल बङ्गलादेश बैंकलाई ४३ रुपैयाँ गाभेपछि बैंकको पुँजी वृद्धिमा केही योगदान पुर्याएको देखिन्छ । १ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी भएको साविक युनाइटेड फाइनान्सलाई गाभेपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो । सो फाइनान्स गाभ्नुअघि बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ थियो ।

यस्तै, १० अर्ब ८ करोड पुँजी रहेको साविक नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि बैंकको २२ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो । युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि वितरण गरिएको बोनस र नगदमा भने यी दुई संस्थाको समेत योगदान रहेको छ ।

४० वर्षको इतिहासमा १ प्रतिशतभन्दा बढी स्वामित्व रहेका सेयरधनीको भित्रने वा बाहिरनेक्रम न्यून छ । तर, मर्जरपश्चात् भने नीतिगत व्यवस्थाका कारण त्यो भएको बैंकको भनाइ छ ।

‘सेयरधनीहरूमा बाहिरिने भित्रिने बढी छैनन् किनभने बैंकले उचित प्रतिफल र बजारभन्दा पनि राम्रो प्रतिफल दिइरहेको छ, बैंकमा प्रवेश भएका सेयरधनीहरू बाहिरिएका छैनन्, १ प्रतिशतभन्दा धेरै सेयर स्वामित्व भएका सेयरधनीहरूमा धेरै मूभमेन्ट छैन,’ बैंकका एक उच्च अधिकारीले भने, ‘मर्जरपछि विभिन्न संस्था आए, त्यसपछि केही परिवर्तन आएको छ ।’

बैकिङ समूहतर्फ हेर्दा नबिल बैंकको सेयर मूल्य प्रायः टप थ्रिमा देखिन्छ । सेयर मूल्य उच्च हुनुको मुख्य आधार भनेको उचित प्रतिफल रहेको उनको भनाइ छ ।

‘ग्राहकको कन्फिडेन्स हो, किनभने गुणस्तरीय सेवा दिइरहेको छ, उचित प्रतिफल पनि हो, जस्तोसुकै आर्थिक स्थितिमा पनि बैंक टिकिरहेको छ, कुनै हलचल छैन, त्यसैले बैंकको सेयर मूल्य उच्च हुन पुगेको हो । निरन्तर प्रतिफलको विश्वासले सेयर मूल्य बढी हुन पुगेको हो,’ उनले भने ।

बैंकले अहिले अग्राधिकार सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । सोमबार सम्पन्न नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित पनि गरिसकेको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृती पश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि योगदान गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.