दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

  २०८१ भदौ २० गते १७:५४     विकासन्युज

काठमाडाैं । नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएकाे छ । दिगो सृबिट कम्पनीले नेपालमा पहिलाे पटक व्यावसायिक विद्युतीय गाडी भाडामा दिन सुरु गरेकाे हाे ।

दिगो नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हो । सृबिटले गाडी घन्टा, दैनिक, हप्ता, महिना र वार्षिक रूपमा भाडामा लिन सकिने जनाएकाे छ ।

भाडामा दिन लागेकाे गाडी डिएफएसके इसी ३६ (DFSK EC 36) रहेको कम्पनीले जनाएको छ । याे गाडी विगत ४ वर्षदेखि नेपालकाे सडकमा गुडिरहेको र यसले भरपर्दाे व्यावसायिक सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ ।

भाडाकाे भाडा अवधि ५ वर्षकाे हुनेछ । कम्पनीका अनुसार भाडामा लिने व्यक्तिले भाडा सम्झौतामा हस्ताक्षर गर्दा ५ लाख रुपैयाँ सेकुरिटी डिपोजिटको रूपमा जम्मा गर्नुपर्ने हुन्छ । जुन रकम गाडी हस्तान्तरण गरिसकेपछि फिर्ता हुने कम्पनीले जनाएको छ ।

बीमा, ब्लु बुक नवीकरण, रुट परमिट, कालो नम्बर प्लेटमा परिणत गर्ने खर्च भाडामा लिने व्यक्ति स्वयंमले बेहाेर्नुपर्नेछ । भाडामा लिनेले प्रत्येक महिना मासिक भाडाको रूपमा एक लाख २५ हजार (भ्याटसहित) तिर्नु पर्ने कम्पनीले जनाएकाे छ ।

यसैगरी, कम्पनीले सवारीसाधनको नियमित र तोकिएको मर्मत र सर्भिसिङ नेपालका सेवा केन्द्रबाट नि:शुल्क गरिने जनाएकाे छ । पार्टपूर्जाहरू फेर्नुपरेकाे अवस्थामा भने भाडामा लिने व्यक्ति स्वयंले खर्च बेहाेर्नुपर्नेछ ।

सवारीसाधनको सर्भिसिङ र मर्मत सम्पूर्ण एनइभी (NEV) नेपालको सेवा केन्द्रमा हुनुपर्ने कम्पनीले जनाएकाे छ । भाडामा दिन लागिएकाे गाडी प्रतिवर्ष अधिकतम ८० हजार किलोमिटर दौडन सक्ने सीमा छ ।

भाडा अवधिको अन्त्यमा भाडामा लिने व्यक्तिले पहिले जम्मा गरेको सुरक्षा निक्षेपभन्दा बढी ५ लाख रुपैयाँ तिरेर गाडी आफ्नो नाममा नामसारी गराउन सकिने प्रावधान कम्पनीकाे छ । नामसारी गर्ने समयमा कम्पनीले गाडीको अवस्था हेरेर मूल्य निर्धारण गर्ने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.