सेयर बजारका महिलाकाे तीज- तारे होटलमा फजुल खर्च गर्नुभन्दा सेयरमा लगानी गरौं

  २०८१ भदौ २१ गते १०:५३     राधिका आचार्य

बायाँबाट क्रमश: शाेभा दाहाल, दुर्गा पाेख्रेल र राधा पाेख्रेल ।

काठमाडौं । पछिल्लो समय तीज पर्व खर्चिलो हुँदै गएकाे छ । तीजको नाममा केही वर्षयता महिना-दिन अघिबाटै दर खाने, भिआईपी होटलहरूमा गएर कार्यक्रमहरू गर्ने हुँदा लाखौं रकम सकाउने गरेको उदाहरण नयाँ होइन । यस्तो  अवस्थामा उक्त खर्चलाई घटाएर भविष्यको लागि सहयोग हुने ठाउँमा लगानी गर्न उचित हुने महिला सेयर लगानीकर्ताहरू बताउँछन् ।

सेयर लगानीकर्ता राधा पोख्रेल आफू तीजलाई भड्किलो तरिकारे मनाउने कुराको विरोधी रहेको बताउँछिन् । ‘हिजोआज तीज महिना दिन अघिबाटै मनाउने गरिन्छ। मलाई पनि होटलमा दर खाने भन्दै बोलाउँछन् तर म सकेसम्म यस्ता किसिमका कार्यक्रममा जान अस्वीकार गर्ने गरेकी छु,’ उनी भन्छिन्, ‘तीज भनेको त हाम्रो संस्कृति हो नि, यसलाई त सभ्य तरिकाले र परम्परागत तरिकाले मनाइनुपर्छ भन्ने मलाई लाग्छ ।’

कुनै समय १८ सय बिन्दुमा झरेको सेयर बजार हाल २७ सय बिन्दुमा रहेको छ । सत्ता परिवर्तनसँगै केही समय सकारात्मक बाटोमा रहेको सेयर बजार हाल करेक्सनको बाटोमा रहेको लगानीकर्ताहरूले बताउँदै आएका छन् । अहिलेको घटेको बजार करेक्सन मात्रै रहेको र केही समयमा नै नेप्से उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गर्नेमा लगानीकर्ताहरू विश्वस्त रहेको बुझिन्छ ।

लगानीकर्ता पोख्रेल अहिलेको समय भनेको तीजमा खर्च गर्ने रकम सेयरमा लगानी गर्ने समय रहेको बताउँछिन् । ‘तीजमा अहिले जुन किसिमको फजुल खर्च गरिन्छ, त्यसको सट्टा त्यो रकम सेयरमा लगानी गर्यो भने त भविष्यको लागि बचत पनि हुन्छ नि,’ उनी भन्छिन्, ‘अहिलेको थोरै लगानीले पनि हाम्रो भविष्यका लागि ठुलो सहयोग पुग्छ, त्यसैले अहिलेको समयमा अन्य फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु उचित मान्छु म ।’

त्यस्तै, लगानीकर्ता शोभा दाहाल पनि तीजमा फजुल खर्च नगर्न र उक्त खर्च बरु सेयरमा लगानी गर्न सुझाव दिन्छिन् । ‘अहिलेको समय भनेको फजुल खर्च गरेर तीज मनाउने समय होइन, बरु त्यो पैसा  सेयरमा लगानी गर्यो भने त्यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ,’ उनी भन्छिन्, ‘हामी महिलाहरू सधैं बचत गर्ने कुरामा अघि सर्नुपर्छ, त्यसले हामीलाई भविष्यलाई सघाउँछ ।’

सेयरमा लगानी गर्नु भनेको भविष्यको लागि बचतसमेत रहेको बताउँदै लगानीकर्ता दाहालले तीजलाई परम्परागत तरिकाले र कम खर्चमा मनाउन जाेड दिइन् । ‘तीजमा धेरै फजुल खर्च गर्न र भड्किलो तरिकाले मनाउन राम्रो लाग्दैन,’ उनी भन्छिन्, ‘हामीले हाम्रो परम्परालाई पनि जोगाउँदै संस्कृति मनाउनुपर्छ र यही कुरा सबैलाई बुझाउनु पनि पर्छ ।’

सेयरमा जमेका महिला लगानीकर्ताहरू प्राय: सबैजसो तीजमा फजुल खर्च घटाएर उक्त पैसा सेयरमा लगानी गर्ने गरेको बताउँछन् । सेयर लगानीकर्ता दुर्गा पोख्रेल पनि तीज सभ्य र कम खर्चमा नै मनाउन उचित रहेको धारणा राख्छिन् । ‘मलाई तीज सामान्य तरिकाले, खास गरेर सभ्य र परम्परागत तरिकाले मनाउन राम्रो लाग्छ,’ उनी भन्छिन्, ‘म एक सेयर लगानीकर्ता समेत हुँ, त्यो हिसाबले हेर्दा पनि मैले फजुल खर्च गर्न हुँदैन भन्ने कुराको राम्रो ज्ञान मसँग छ । फजुल खर्च गर्ने पैसा मैले सेयरमा लगानी गरे भने मेरो छोराछारीको भविष्य पनि राम्रो हुन्छ, यो कुरा मैलै सधैं ध्यानमा राख्छु ।’

अहिलेको बचत भनेको भविष्यको सहयोग भएको लगानीकर्ता दुर्गा बताउँछिन् । ‘महिलाहरू सधैं आर्थिक रूपमा सवल हुनुपर्छ भन्ने मैले ठान्छु, त्यसको लागि कुनै न कुनै काम वा केहीमा लगानी महिलाले गर्नेपर्छ,’ उनी भन्छिन्, ‘सेयर बजारमा लगानी गर्ने कुरा भनेको एकदमै सजिलो छ । हामी महिलाहरूको लागि त झन् यो धेरै सजह हो किनकि यसको लागि कुनै समय छुट्याउनु पनि पर्दैन र यसमा लगानी गर्दा गर्दै अन्य काम पनि गर्न सकिने भयो। त्यसैले तीज मात्रै होइन, हरेक कुरामा हुने फजुल खर्च घटाएर सेयरमा लागनी गर्न नै सुझाव दिन्छु म ।’

तीजजस्तै अन्य चार्डपर्वहरू पनि छन् जुन हिजोआज थप भड्किलो हुँदै गइरहेका छन् ।  फजुल खर्चसमेत कम गर्न आवश्यक रहेको तीनै जना महिला सेयरकर्ता बताउँछन् । तीनैजनाले सन्तानकाे भविष्यबारे साेंच्दै सेयर बजारमा लगानी गरेका छन् ।  फजुल खर्चलाई घटाएर सेयरमा लगानी गर्नु राम्रो हुने धारणा उनीहरूकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.