तीजको दिनमै सुनको मूल्यमा कीर्तिमानी, ६ महिनाभित्रै २ लाख पुग्ने विश्लेषण

  २०८१ भदौ २१ गते ११:०४     विकासन्युज

काठमाडौं । हरितालिका तीजको दिनमै सुनको मूल्यमा कीर्तिमानी भएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

बिहिबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य पनि १३ सयले नै बढेर एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । दिनप्रतिदिन सुनको मूल्य बढ्दा व्यवसायीले खरिदकर्ता पाउन सकेका छैनन् भने सुन भएकाहरु प्नि बिक्री गरिरहेका छन् । यसरी मूल्य बढ्दा अब छ्टिटै मूल्य २ लाख नाघ्ने व्यवसायीको विश्लेषण छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्य ६ महिनाभित्र २ लाख रुपैयाँसम्म पुग्ने बताउँछन् ।

‘सुनको मूल्य अचाक्ली बढेको हुनाले यो नेपालीको क्रयशक्तिभन्दा बाहिर गइरहेको छ । यसको मूख्य कारण राज्यले लगाएको २० प्रतिशतको भन्सार दर हो, यसले पनि प्रतितोला २५ हजार मूल्यवृद्धि गरेको छ, अन्तर्राष्ट्रिय बजारको तुलना गर्दा अहिले १ सुनको मूल्य प्रतितोला १ लाख ३० हजार हुनुपर्ने हो,’ उनी भन्छन्, तर नेपालमा बढी नै मूल्यपर्छ, अब छिट्टै प्रतितोलाको मूल्य २ लाख रुपैयाँ पुग्नसक्छ ।’

नेपालमा मात्रै होइन, सुनको मूल्य विश्व बजारमा नै बढिरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब विश्व बजारमा सुनको मूल्य बढ्छ, नेपालमा पनि बढ्ने गरेको छ भने जब विश्व बजारमा सुनको मूल्य घट्छ नेपालमा पनि मूल्य घट्ने अभ्यास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.