महिला प्राचार्य भन्छन्- अहिलेको पुस्ताले तीजलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका छ

  २०८१ भदौ २१ गते १४:२९     विकासन्युज

काठमाडौँ । तीज रमाइलोमात्र होइन, यसभित्रको मूल्य, मान्यता र  सभ्यताको पहिचान पृथक छ । तर, पछिल्लो समय तीजको नामका गरिने तडकभडकले यसको गरिमा र छवि धुमिल पारिरहेको छ । धैले तीजको अस्तित्वमाथि नै प्रश्न गरिरहेका छन् । एउटा घरपरिवार र समाजमा मात्रै होइन, विभिन्न संघसंस्था तथा विद्यालय-कलेजहरूले पनि तीजलाई भव्यताका साथ मनाइरहेका छन् । पृथक किसिमको पहिचान बोकेको तीजको सुन्दर पाटोलाई हामीले पुस्तान्तरण गर्न आवश्यक छ । त्यो पुस्तान्तरणको थालनी चाहिँ अहिले विभिन्न विद्यालय तथा कलेजहरूले पनि गरेका छन् । आज हामीले काठमाडौँमा रहेका विभिन्न विद्यालय तथा कलेजका महिला प्राचार्यसँग तीजको विषयमा उनीहरूले गरेको अभ्यास बुझ्ने प्रयास गरेका छाैँ ।

दक्षिणा श्रेष्ठ, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी 

दक्षिणा श्रेष्ठ ।

म नेवार समुदायको महिला हुँ । हाम्रो समुदायमा यो पर्वमा महिलाहरू व्रत लिने तथा रमाइलो गर्ने खासै चलन हुँदैन । तर, पनि राष्ट्रिय चाडको रूपमा महिला दिदीबहिनीहरूले मनाउनुहुन्छ । यसमा पनि मेरो आस्था छ । गत मंगलबार हामीले कलेजमा पनि तीज कार्यक्रम मनाएर दर खायौँ । कलेजका सबै शिक्षक साथीहरूसँग रमाइलो गरियो । विगतको तुलनामा तीज केही फरक हुँदै गएको महसुस मैले गरेकी छु । विगतमा तीज भनेपछि दिदीबहिनी माइत जाने, बाआमा, काका-काकी आफन्तहरूसँग भेटघाट गर्ने अनि मीठोमसिनो खाएर रमाइलो गर्ने भन्ने हुन्थ्यो । तर, अहिले पहिलेको तुलनामा फेरिँदै गएको देखिन्छ । महिलाले एकदिन भएपनि आफ्नो लागि जीउँछन् । तर, पछिल्लो समय देखावटी बढेको छ ।  देखाउनका लागि अनेक गतिविधि गरिन्छ ।

अहिले सबैले आ-आफ्नै तरिकाले तीज मनाइरहेका छन् ।  धेरैजसो विद्यालय तथा कलेजले पनि तीजका कार्यक्रमहरू गरिरहेका छन् । कतिपय विद्यालय तथा कलेजले विद्यार्थीबाट पैसा उठाएर त कतिपयले नउठाएर मनाएका छन् । यो राम्रो हो । किनकि विद्यार्थीले यस्ता चाडपर्वबाट पनि धेरै कुराहरू सिक्छन् । तर, यस्ता कार्यक्रमका नाममा कलेज वा विद्यालयले विद्यार्थीबाट पैसा भने उठाउनु हुँदैन । म यसलाई बेथिति भन्छु । यस्ता चाडपर्व हाम्रा संस्कृति हुन् नि । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो । तर, नेपालमा यस्तो छैन । परम्परा बिस्तारै लोप हुँदै गएको पाइन्छ । विद्यार्थी मात्र होइन, सबैले यस्ता चाडपर्वबाट धेरै कुरा सिक्नुपर्छ । नेपालमा विभिन्न जातजाति बसाेबास गर्दै आएका छन् । हाम्रो नेवार समुदायमा पनि फरक किसिमका चाडपर्व छन् । सबैले एक-अर्काको संस्कृतिलाई सम्मान गर्दै कार्यक्रम मनाउनुपर्छ ।

प्रदिप्ता कादम्बरी, कादम्बरी कलेज 

प्रदिप्ता कादम्बरी ।

तीजलाई म पारिवारिक चाड भन्न रुचाउँछु । यो चाड अहिले सामाजिक हुँदै गएको छ । आमा, दिदी, सानिमा, दाजुभाइले दिदीबहिनीलाई तीजमा माइत बोलाउने चलन छ । म पनि आफन्तले बाेलाएको ठाउँमा तीज मनाउन गएँ । त्योबाहेक साथीहरूसँग विभिन्न समुदाय र अफिसमा भने म गइनँ । किनकि तीज महिनौं दिनसम्म चल्ने र खाने मात्र देखिएकाले मैले आफ्नै ढंगले मनाउँदै आएकी छु । तीजमा धेरै परिर्वतन भएको छ । पहिले तीजको जुन मर्म थियो, त्यो अहिले छैन । टाढा बसेका छोरीहरू माइत आउने अनि आफ्ना दुःखसुखका कुरा सुनाउने अभ्यास थियो । त्यहीअनुसारका गीतहरू हुन्थे । जुन यथार्थमा भइरहेकै घटनामा आधारित हुन्थे ।

तर, अहिले बढी पार्टी गर्ने, रमाइलो गर्ने खालको भएको देख्छु । हुन त समय परिवर्तनसँगै त्यो अवस्था रहेन होला । प्रविधिले दिएको फाइदा सदुपयोग होला । यद्यपि अहिले पनि समाजमा त्यस्ता विभिन्न घटनाहरू भइरहेका छन् । पहिलेको भन्दा केही महिला सशक्तिकरण पनि भएको छ, यस्ता गीत पनि आएको भए समय परिर्वतनसँगै फेरियो भन्न मिल्थ्यो । तर, अहिले  तीज धेरै भड्किलो भएको छ । आजभोलि भ्यूज, लाइक अनि कमेन्ट बढाउन पनि यस्तो गरेको हुन सक्छ । योसँगै संस्कृतिको कुरा पनि जोडिएर आएको छ । यसले गर्दा नराम्रो भएको छ । यसको म विरोध नै गर्छु ।

यस्तै, विद्यालयमा पनि विद्यार्थीबाट पैसा उठाएर कार्यक्रम गरेको भन्ने सुनिन्छ । हाम्रो कलेजले यस्तो गर्दैन । मलाई पनि मन पर्दैन । बरु हामीले बाहिर बाटोमा नाचिरहेका महिला दिदीबहिनीहरूलाई बोलाएर कलेजको प्राङ्गणमा नाच्ने सुविधा गराउँछौँ । पानी, जुस र म्युजिकको व्यवस्था गर्दै आएका छौँ। हामी पैसा उठाएर तीज मनाउँदैनौँ । तीजमा रमाइलो गर्न शुल्क उठाउनु विकृति हो । विद्यालयले यस्ता कार्यक्रमको आयोजना गरेर चाडपर्वबारे विद्यार्थीलाई सिकाउन सक्छ । यस्तो गर्दा बच्चाहरूले संस्कृतिबारे बुझ्दै जान्छन् । यसरी मनाउनु राम्रो हो तर बालेनजस्तो श्रीमान पाऊँ भन्दै नाच्दै गाउँदै गए राम्रो हुँदैन ।

डा. सर्मिला पोखरेल, पद्मोदय मावि 

हामीले पनि विद्यालयमै तीज कार्यक्रम मनायौं । कक्षा ११ र १२ का विद्यार्थीले आफैं पैसा उठाएर दर बनाएर खाए अनि नाचगान गरे । रमाइलो नै भयो । विद्यार्थी आफैले पैसा उठाउने निर्णय गरे । कक्षा १ देखि १० सम्मका विद्यार्थीले भने पैसा उठाएनन् । उनीहरूले नृत्य कार्यक्रम गरे । मैले यो वर्षको तीज विद्यालय र विद्यार्थीसँगै मनाइरहेकी छु । विद्यार्थीलाई रमाइलोमात्र नगराइ तीज के हो ? यसको महत्त्व के छ ? भन्ने विषयमा पनि जानकारी गराएका छौँ । अहिलेो तीज विगतको जस्तो छैन । अहिलेको पुस्ताले यस्ता पर्वलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका लाग्छ । खानपानदेखि अन्य कुरामा निकै तडकभडक छ । बच्चालाई हामीले दिने संस्कार के हो ? घरबाट के सिक्छन् ? विद्यालयबाट के सिक्छन् भन्ने हो ।

रिताल राणा,  मिडभ्याली इन्टरनेशनल कलेज

यो पटकको तीज मैले पनि रमाइलो साथ मनाइरहेकी छु । हामी सबै महिला मिलेर कलेजमै रमाइलो गर्यौँ, घरमा आफन्तहरू जम्मा भएर पनि रमाइलो गरिरहेका छौँ । यस्ता रमाइला पर्वहरूले खुसी ल्याउँछ । तीजले सधैँ टाढा भएर व्यस्त भएकाहरूसँग भेट गराउने मौका जुराउँछ । राम्रो श्रीमान पाउन मात्र होइन, श्रीमानको आयुको लागि मात्र पनि होइन, साथीभाइसँग रमाइलो गर्न  पनि यो चाड मनाइने गरिन्छ ।

रिताल राणा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.