२०८१ भदौ २३ गते ११:०७ विकासन्युज
सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत-प्रभु इन्स्योरेन्स लिमिटेड
अर्थतन्त्र खराब हुँदा पनि गत वर्ष ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको थियो । यस वर्ष सरकारले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा १३ प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य लिएको छ । कर्जा विस्तार हुँदा बीमा क्षेत्रको व्यवसाय स्वाभाविक रूपमा वृद्धि हुन्छ । यी सबैलाई आधार मानेर हेर्दा चालु आर्थिक वर्षमा बीमा व्यवसाय विस्तार उच्च दरमा हुने देखिन्छ । यद्यपि बीमा कम्पनीहरूको गत आर्थिक वर्षको व्यवसाय वृद्धि ३ प्रतिशतमा सीमित रह्यो । यस वर्ष व्यवसाय वृद्धि कस्तो होला ? बीमा क्षेत्रमा पुर्नबीमाको सट्टामा बीमा पुल कल्चर किन उदायो ? बीमा शुल्क सरकारले तोक्ने कि बजारलाई निर्धारण गर्न दिने ? बीमित र बीमकबीच सधैं आरोप प्रत्यारोप किन ? बीमा क्षेत्रको करिब दुई दशक र लामो समय प्रभु इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्लाेका संचित बज्राचार्यसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको विकास बहस यस अंकमा ।
चालु आर्थिक वर्षमा बीमा व्यवसाय विस्तार कुन दरमा हुन सक्छ ?
अहिलेसम्म बीमा बजार घटेको छैन, बढ्दो क्रममा नै छ । यसलाई पनि राम्रो पक्ष मान्न सकिन्छ । तर, विश्व अर्थतन्त्रमा बीमाको जति ठूलो भूमिका छ, त्योअनुसार नेपालमा छैन । बीमा क्षेत्रको वृद्धि जुन दरमा हुनुपर्ने हो, त्यो भएको देखिँदैन ।
गत वर्ष बीमा कम्पनीहरूको नाफा ५२ प्रतिशतसम्म बढेको देखिन्छ । तर ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुँदा बीमा कम्पनीहरूको व्यवसाय वृद्धि ३ प्रतिशत मात्र छ । किन यस्तो रह्यो ?
अर्थतन्त्र सन्तोषजनक रूपमा सुधार नहुँदा बीमा क्षेत्रको अवस्था पनि त्यस्तै रह्यो । जबकि बीमा क्षेत्र अगाडि बढ्नु पर्ने थियो । मान्छे जोखिममा परिरहेका हुन्छन् । जस्तै, सडक वा हवाई यातायातको क्षेत्रमा धेरै दुर्घटना भएका उदाहरण छन् । भूकम्प, बाढी, पहिरो, डुबान, आगलागीजस्ता आपतविपतका घटनाहरू बारम्बार हुने गर्दछन् । यसबाट धेरै धनजनको क्षति भएको भनिन्छ । यस्ता जोखिमको आर्थिक सुरक्षा बीमाबाट गर्ने हो ।
जनधनको क्षति पुग्ने दुर्घटना वृद्धि हुँदा पनि बीमा गर्ने अभ्यास किन बढेन ?
बीमा नगर्नु अज्ञानता नै हो । बीमा क्षेत्रको व्यवसाय वृद्धिका लागि प्राथमिक तहदेखि नै बीमा शिक्षामा जोड दिनुपर्छ, बीमा जागरणको कार्यक्रम आम मानिसमा पुग्ने गरी सञ्चालन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यद्यपि बीमाबारे राम्रो ज्ञान भएकाहरूले पनि बीमालाई महत्त्व दिएका छैनन् । यी विषयमा धेरै लामो उत्तर खोज्नु पर्दैन । बीमा नगर्नु अज्ञानता नै हो । बीमा क्षेत्रको व्यवसाय वृद्धिका लागि प्राथमिक तहदेखि नै बीमा शिक्षामा जोड दिनुपर्छ, बीमा जागरणको कार्यक्रम आम मानिसमा पुग्ने गरी सञ्चालन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यद्यपी बीमाबारे राम्रो ज्ञान भएकाहरूले पनि बीमालाई महत्त्व दिएका छैनन् ।
कुनै काम गर्दा लगानी गर्न आफूसँग पैसा भएन, हामी अरूसँग पैसा सापटी गरेर, ऋण गरेर पनि लगानी गर्छौं । त्यो लगानीबाट कति नाफा हुन्छ भनेर पहिला नै प्रक्षेपण पनि गर्छौं । कसरी मार्केटिङ गर्ने, कसरी व्यवसाय वृद्धि गर्ने, कसरी नाफा बढाउने भनेर योजना बनाउँछौं । तर त्यसको सुरक्षा गर्ने वा बीमा गर्ने पाटोमा मानिसहरूले ध्यान कम दिएको पाइन्छ । सरकारले योजनावद्ध विकासका क्रममा धेरै काम गरेको हुन्छ । तर बीमाको कुरा बिर्सेको हुन्छ । त्यहाँ क्षतिको विषय हामीले बिर्सिन्छौं । नाफा र नोक्सान मात्र हेरिन्छ । त्यो नोक्सानलाई न्यूनीकरण वा नोक्सानी हुन नदिने पाटो भनेको बीमा हो । नाफामूलकबाहेक विकास निर्माणका कार्य गर्दा त्यसबाट हुने क्षतिबाट जोगाउनुपर्छ भन्ने विषयको ज्ञान हामीमा भएन । अहिले पनि धेरै जना बीमा भनेपछि ‘ह्या’ भनेर पन्छिन खोज्छन् ।
चुरोटले स्वास्थलाई हानि गर्छ भन्छन् तर खाइरहेका हुन्छन् । जंक फूडले बेफाइदा गर्छ भन्छन् तर खाइरहेका हुन्छन् । त्यस्तै, बीमा गर्नुपर्छ भन्ने सबैलाई थाहा छ तर बीमा गर्दैनन्, हो ?
यस्तो पनि देखिन्छ । तर, कसैले पनि आफू डुब्छु, बिग्रिन्छु भनेर सोंच्दैन । बीमामा अर्को पाटो हुन सक्छ । जस्तो प्राकृतिक विपत्ति वा दुर्घट्ना हुन्छ नै भनेर कसैले सोंचेको हुँदैन । हुनसक्छ भन्ने आँकलन मात्र हो । ध्यान दिनुपर्ने केमा छ भने पछिल्लो समय दुर्घटना बढिरहेका छन् । कतिसम्म भने पानी नै नपरेको ठाउँमा सुख्खा पहिलो जान थालेको छ । अनुमान नै नगरेको समथर जमिन भासिने क्रम बढेको छ । अनुमान नै नगरेको बजारमा क्षेत्रमा बाढी पसेर ठूलो नोक्सान गरेको छ । भवितव्य कति खेर हुन सक्छ, थाहा हुँदैन । त्यसैले बीमाको महत्त्व र आवश्यकता पनि बढेर गएको छ ।
बजारको विकास माग र आपूर्तिकाे आधारमा हुन्छ । कतिपय सन्दर्भमा माग कम हुँदा पनि आपूर्तिपक्ष बलियो हुँदा बजारको विकास राम्रो हुने गरेको छ । नेपालमा बीमाको इतिहास पनि लामो भइसक्यो । बीमा कम्पनीको संख्या पनि धेरै छ । सञ्जाल (नेटवर्क), कम्पनीहरूको पुँजी, व्यावसायिकता, दक्ष जनशक्तिका संलग्नता लगायतमा धेरै पक्षमा विगत १०/१५ वर्षअघिको तुलना गर्दा बीमा क्षेत्र धेरै विकसित भइसकेको छ । तरपनि सेवालाई बलियो वा गुणस्तरीय बनाउन नसक्दा अपेक्षाकृत नतिजा नआएको हो कि ?
बीमा क्षेत्रमा मागभन्दा आपूर्ति धेरै छ । कम्पनी पनि धेरै छन् । बीमकबीचको प्रतिस्पर्धा धेरै नै छ । बीमितलाई सेवा दिन बीमकको दौडधूप धेरै नै छ । आपूर्तिपक्ष कमजोर भयो भन्न मिल्दैन ।
बजारमा बीमाको माग सिर्जना हुनेगरी बीमा कम्पनीहरूले नवीनतम सोंच र अभ्यास गर्न नसकेका हुन् कि ?
तपाईंले भन्नु भएको कुरा सही हो । तर, बीमा क्षेत्रमा मैले जे बिक्री गरिरहेको छु, त्यो मेरो लागि होइन । यो त ठ्याक्कै क्लाइन्टको लागि हो । तर, क्लाइन्टले बुझिदिनु भएन । बीमालाई क्षतिको क्षतिपूर्ति दिने माध्यम हो भनेर बुझ्नु भएन । जहिले पनि बीमालाई हेर्ने नजर नकारात्मक मात्रै भइदियो ।
तथ्यांक हेर्दा बीमा कम्पनीहरूले ठूलो रकम बीमा दाबी भुक्तानी गरेका छन् । तर, सर्वसाधारणले बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन्, दुःख दिन्छन्, सेवामूलक भएनन् । कम्पनीहरू आफूले कसरी पैसा कमाउने भन्नेमा केन्द्रित भएको सर्वसाधारणको आरोप छ नि ?
यी बजारमा मान्छेहरूले गरिरहने कुरा हुन् । तर, वास्तविकता त्यो होइन । कुनै कालखण्डमा कहाँ के भयो भन्नेतर्फ हामी लाग्नु हुँदैन । १ सय वटा काममा २ वटा काम बिग्रियो भनेर ९८ वटा कामलाई गाली गर्नु हुँदैन । हालसम्म दाबीको सन्दर्भमा त्यस्तो भएको छैन । किनभने अहिले सबै मानिस सामाजिक सञ्जालमा छन्, मिडियाहरू छन्, नियमनकारी निकाय छन् । प्रविधिले यतिधेरै फड्को मारेको छ, सबै प्रमाण केन्द्रीय कार्यालयमा बसेर जुटाउन सकिन्छ । त्यसैले अहिले दाबी भुक्तानीमा समस्या रहँदैन । निश्चित विषयमा प्रक्रियागत रूपमा अघि बढ्नुपर्ने हुन्छ । कतिपय विषयमा शर्तहरू पनि राखिएका हुन्छन् । जस्तो- सवारी दुर्घटना भएकै हो । दुर्घटना भएर क्षति पुर्याएकै हो । तर, मापसे गरेर सवारी चलाएको छ भने दाबी पाउँदैन । यस्ता विषयमा कम्पनीको तर्फबाट पनि हेर्नुपर्छ । दाबी भुक्तानी पनि नियमसंगत गर्नुपर्ने हुन्छ ।
बीमा बजारमा खराब अभ्यासहरू के-के छन् ? नियत खराब राखेर बीमा गर्ने र कम्पनीबाट फाइदा लिन खोज्ने अभ्यास कस्ता हुन्छन् ?
फेक क्लेम दुई तरिकाबाट हुने गर्दछ । एउटा हुँदै नभएको घटना सिर्जना गरेर अनि अर्को भएको घटनालाई पनि क्षतिभन्दा धेरै दाबी गरेर । बजारमा फेक क्लेम नै धेरै आउने गरेका छन् । फेक क्लेम दुई तरिकाबाट हुने गर्दछ । एउटा हुँदै नभएको घटना सिर्जना गरेर अनि अर्काे भएको घटनालाई पनि क्षतिभन्दा धेरै दाबी गरेर । कम्पनीले त्यसको मूल्याङ्कन गर्छ । तर, बीमा सर्भेयरका रिपोर्टमा मागअनुसार दाबी आउँदैन । किनभने सबै प्रमाण जुटाउँदा दाबी निर्धारण कम हुन आउँछ । त्यसपछि माग अनुसारको दाबी नभएपछि बीमा कम्पनीले भुक्तानी दिएन भनेर गलत प्रचार गर्छन् । बीमा कम्पनीले बीमा पोलिसीमा भएको शर्तहरू र प्रक्रियाहरू पूरा गरेर भएको वास्तविक क्षतिको आधारमा दाबी भुक्तानी गर्ने हो । बीमितले जति माग गरेको छ, त्यति नै भुक्तानी भएन भनेर आलोचना गर्नु गलत हो ।
क्षतिको मूल्याङ्कन गर्दा लिने आधार मूल्यको अभाव र पारदर्शिताको अभावले पनि बीमक र बीमितबीच मतभेद बढेको हो ? क्षतिको वास्तविक मूल्य कति हो भनेर पहिचान गर्न बीमा सर्भेयरलाई पनि गाह्रो परेको हो ?
बीमा कम्पनीमा पनि विभिन्न उपसमिति छन् । सर्भेयरबाट रिपोर्ट आएपछि दाबीको चित्त बुझेन भने त्यहाँ पनि हेरिन्छ । घटनाको भिडियो क्लिप्स लिएर अनुसन्धान गरिन्छ । त्यो भिडियो के-के विषय समावेश गरेको छ, त्यही सामानको बजार मूल्य कति छ भनेर हामीले बुझ्छौं । मूल्य केही फरक पर्ला । जस्तो- एउटा पसलमा ५ प्रतिशत बढी भन्ला, अर्को पसलमा ५ प्रतिशत कम भन्ला । मूल्य पनि फरक-फरक हुन सक्छ । किनभने बजारमा एकरूपता छैन । तपाईं हामी पनि कुनै सामान किन्न गयो भने मूल्यमा आकाश-पाताल फरक परेको देखिन्छ । सबैले आधिकारिक डिलरबाटै हाल्दैनन् । त्यो अवस्थाले पनि फरक पर्न सक्छ । किनभने मूल्यमा एकरूपता छैन ।
बीमाको जोखिममा कस्तो किसिमको परिवर्तन आइरहेको छ ? बीमित पक्षबाट आउने दाबी विश्लेषण गर्दा कुन क्षेत्र बढी सुरक्षित हो, कुन क्षेत्र बढी जोखिमपूर्ण बन्दै गएको देखिन्छ ?
निर्जीवन बीमा भन्नेबित्तिकै जोखिम स्वतः हुन्छ । जोखिम भएर नै बीमा गरिने हो । त्यो जोखिमको कुनै रूप छैन । हामी यहाँ बसिरहेका छौं, एक्कासि प्राकृतिक विपत्ति आएर यो सिलिङ नै खस्न सक्छ । जबकि हामीले बनाउँदा मजबुत र गुणस्तरीय बनाएको हुन्छौं । तर, कहाँनेर गुणस्तरहीन हुन्छ भन्ने थाहा नै हुँदैन । त्यसैले यो क्षेत्रको ठ्याक्कै परिभाषित गर्न सकिँदैन । जस्तो- कसैको गाडी वर्षौंसम्म दुर्घटना हुँदैन, कसैको किनेको दिन नै दुर्घटनामा पर्छ ।
काठमाडौंमा चट्याङ्को जोखिम कम भएको सुनिन्छ तर अरू क्षेत्रमा उच्च जोखिम छ भनिन्छ । कुनै ब्राण्डको सवारी धेरै दुर्घटना भएको सुनिन्छ भने कुनै ब्राण्डको सवारी कम दुर्घटना भएको सुनिन्छ । बाइक चोरीका घटना पनि कुनै कम्पनीका बढी र कुनै कम्पनीका कम छन् । समग्रमा सवारी, एभियसन, कृषि, मोटर, फायर, पूर्वाधार, जलविद्युत बीमामध्ये कुन क्षेत्रमा बढी वा कम दावी हुने गरेको छ ?
प्रविधिले कतिपय जोखिमलाई न्यूनीकरण गरेको छ । जस्तो चट्याङ्को सन्दर्भमा विगत हेरिकन निश्चित क्षेत्रमा न्यूनीकरण भएको छ, किनभने अर्थिङ गरिएको हुन्छ । घरमा अर्थिङ गर्नाले जोखिम कम हुन्छ भनिन्छ । तर, कहिलेकाहीं अर्थिङ गरेकै घरमा चट्याङ् परेको पनि छ । यसरी अन्य प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने उपायहरू अपनाइएको छ ।
कुनै सवारीसाधन बढी क्षति हुने गरेको तथ्याङ्कले देखाएको छ । त्यसको लागि बीमा कम्पनीले निश्चित दर निर्धारण गरेर सुरक्षित गरिएको हुन्छ । बिग्रेका वस्तुको बीमा गर्ने होइन । नेपालमा हवाई दुर्घटना भयो भने हवाई बीमाको दर बढ्छ नै । किनभने जोखिम बढी भयो नि त । त्यो क्षेत्रको रकम पनि ठूलो भोलुममा हुन्छ । त्यो कम्पनीलाई मात्रै बढ्ने होइन । नेपाली बजारमै त्यसको दर बढ्छ । त्यसैले डुब्न कोही पनि चाहँदैन । किनभने जोखिम मोलेपछि त्यो हामीले बेहोर्नुपर्छ । त्यो जोखिम बेहोर्नका लागि त्यसको दर पनि बढ्छ । पेट्रोल पम्पसँगै भएका घरहरू, खोला नजिक भएका घरहरूको बीमा दर बढी हुन्छ । जोखिम मूल्याङ्कन, निर्धारण त्यसैगरी गरिएको हुन्छ ।
बाढी-पहिरो वा जलवायु परिवर्तनको विषय संसारभर नै आइरहेको छ । त्यसको प्रभाव बीमा क्षेत्रमा कस्तो परेको छ ?
जलवायु परिवर्तनले बीमा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । कहीं ताल फुटेको विषय आइरहेको छ । काठमाडौंमै पनि घर डुबानमा पर्ने क्रम बढेको छ । मौसम परिवर्तनले किसानलाई बढी असर गर्न थालेको छ । कृषि, बाली तथा पशुपंक्षी बीमामा दावी बढेको छ । कुनै समय प्रकोपहरूको लहरै आएर क्षति हुने गरेको छ भने कुनै समय क्षति नै नहुने अवस्था छ ।
बाली तथा पशुको बीमा गरिएको हुन्छ । त्यसको दाबी भुक्तानी पनि हुन्छ । तर, जमिनमा पनि ठूलो क्षति गरेको हुन्छ । जमिनको किन बीमा हुँदैन ? जमिनलाई फेरि खेतीयोग्य बनाउन बीमा किन नगर्ने ?
घरको बीमा हुन्छ, जग्गाको बीमा हुँदैन । जमिनमा क्षति हुन्छ । त्यसैले बालीको बीमा गरिएको हो । जग्गाको स्ट्रक्चर बिग्रिन्छ । तर, जग्गा बगाएर त्यो ठाउँमा जग्गा नहुने भन्ने हुँदैन ।
तर, खेती रहेको समथर जमिन कटान गरेर ठूलो क्षति गरेको हुन्छ । त्यसलाई पुन: खेतीयोग्य जमिनमा ल्याउन ठूलो लागत लाग्छ । त्यो लागत कम गर्न बीमा पोलिसी किन विकास हुन सकेन ?
त्योबेलामा उसको क्षति कहाँनेर भएको छ भनेर बुझ्नुपर्छ । यदि उर्वर भूमिमा बाली लगाइएको थियो र नोक्सान भएको हो भने बालीको दाबी पाउँछ । तर, कटान भएको क्षेत्र निश्चित समयपछि पुन: आफ्नै संरचनामा फर्किन्छ । त्यसको लागि ठूलो लागत लाग्दैन । फेरि त्यहाँ संरचना बनाउनुपरेपछि बीमा हुन्छ । त्यतिकै छोड्नु भएको छ भने खुला ठाउँको बीमा हुँदैन । त्यसको कुनै आधार छैन ।
मर्जरपछि कम्पनी ठूला भएर बजारमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, अस्वस्थ प्रतिस्पर्धा हट्छ भनिन्थ्यो । नीति निर्माण गर्ने निकायले र स्टेक होल्डरहरूले यही विचारमा सहमति जनाएका थिए । तर, अहिले पनि अस्वस्थ प्रतिस्पर्धा छ भन्ने सुनिन्छ । मर्जरपछि पनि झन् खराब स्थिति बनेको हो ?
तपाईंले भन्नु भएको विषय बजारमा सुनिएको विषय हो । म एक जनाले लुकाएर लुक्ने वा देखाएर देखिने भन्ने होइन । जहाँपनि शतप्रतिशत ठीक भन्ने हुँदैन । यदाकदा यो सुनिएको विषय हो । यदि यो साँच्चै भइरहेको छ भने त्यसको प्रभाव कति पर्छ भनेर मैले भनिरहनु पर्दैन ।
बजारमा ट्यारिफ र नन ट्यारिफ दुवै प्रकारको बीमा अभ्यास छ । तपाईंहरूलाई कुन अभ्यास सही लाग्छ ?
हेर्दाखेरि ट्यारिफ भएको पक्का हो । किनभने ट्यारिफ काट्न नै मिल्दैन । तर, त्यो भन्दैमा ननट्यारिक नराम्रो होइन । ननट्यारिफ भएपछि खुला प्रतिस्पर्धा हुन्छ । तर, मैले एउटा दर निर्धारण गरें भने भोलिका दिनमा त्यो क्षेत्रमा नपुग्न पनि सक्छु । किनभने त्यहाँ उसले दर घटाउन पनि सक्ने भयो । ट्यारिफ बीमा सुरक्षित नै हो ।
खुला बजार अर्थतन्त्रमा बीमा शुल्क सरकारले नै निर्धारण गर्नु कति उपयुक्त हो ? खुला छाड्दा के बिग्रिन्छ ?
जान्दाजान्दै वा बुझ्दाबुझ्दै पनि प्रतिस्पर्धाको हिसाबले जोखिम बढी हुन सक्छ ।
प्रतिस्पर्धाको लाभ जनतालाई पनि दिनु पर्दैन ?
ट्यारिफको निर्धारण पनि जोखिम विश्लेषण गरेर गरिएको हुन्छ । सबै विषय आफूमा मात्रै निहीत हुँदैन । अहिलेका सबै मेकानिज्म अपनाएर दर निर्धारण गरिएको हुन्छ । कहिलेकाहीं प्रतिस्पर्धा हुँदा मान्छे त्योभन्दा तल नचुकोस् भनेर न्यूनतम दर निर्धारण गरिएको हो । तर, ट्यारिफमा तोकिएको दरभन्दा माथि पनि जान सकिन्छ ।
बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीचको सम्बन्ध सहज अवस्थामा छ कि जटिल बन्दै गएको छ ?
बीमा शुल्क दरका कारण अहिले जटिल बन्दै गएको छ । कतिपय पोर्टफोलियोमा अप्ठ्याराे परिस्थिति बनेको छ । कसैले बीमा गर्नका लागि प्रपोज गर्छ । तर, पुनर्बीमासँग नबुझी बीमा गर्न सकिँदैन । कम्पनी पनि सुरक्षित हुनुपर्छ । दाबी परेको बेलामा क्षतिपूर्ति दिन सक्ने अवस्था हुनुपर्छ, नभए जटिलता जन्माउँछ । कसैले व्यवसाय ल्यायो भन्दैमा जोखिम विश्लेषण नगरी लिन हुँदैन । जोखिम विश्लेषणको आधारमा ट्यारिफ निर्धारण हुने हो ।
द्वन्द्वकालमा बीमा पुल भनेर एउटा अभ्यास सुरु भयो । पछि म्यादी बीमामा पनि बीमा पुलको अभ्यास भयो । जलविद्युत बीमा, मोटर बीमामा पनि पुल बनाउने भनेर सुनिन्छ । बीमा पुलको अभ्यासमा किन रमाइरहेका हुन् बीमा कम्पनीहरू ?
यी सबैमा बीमा पुल होइन । तर, जोखिम मूल्याङ्कनको आधारमा जलविद्युतमा आजको दिनमा ट्यारिफ भएपनि त्यो दरमा गर्न नसकिने अवस्था आयो । यसले सबैलाई असहज बनाएको छ । त्यसैले पुलमा जाँदा राम्रो हुन्छ कि भन्ने हो । बीमितले बीमा गर्न पायो भने बीमकले लिन पाउँछ, राम्रो दर रेटमा । सबै मोटरमा बीमा पुल होइन । थर्ड पार्टीको सन्दर्भमा मात्रै बीमा पुल हो । किनभने त्यही व्यवसायको लागि झुम्मिन जाँदा अस्वस्थ प्रतिस्पर्धा भयो । त्यसलाई व्यवस्थित गर्न पुलको अवधारणा आएको हो । त्यसले राम्रो नतिजा दिइरहेको छ।
नेपालभित्र पुनर्बीमा नहुँदाको अवस्थामा विदेशीहरूले पनि हिंसात्मक द्वन्द्वको बीमा हुँदैन भनेपछि नेपालको सम्पत्ति, जीउधनको पुनर्बीमा गर्न आनाकानी गरेपछि बीमा पुलको जन्म भएको थियो । अहिले त्यस्तो द्वन्द्व पनि छैन । अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीले व्यवसाय स्वीकार नगर्ने वातावरण पनि छैन । तैपनि बीमा पुल हामीले चरणवद्ध रूपमा ब्यूँताइरहेका छौं । नेपालमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । पुनर्बीमाको विकल्पको रूपमा उदाएको हो बीमा पुल ?
एभियसन, जलविद्युतमा बीमा कम्पनीले चाहेर पनि बीमा गर्न नसक्ने अवस्था आयो । किनभने हामीले जसलाई जोखिम हस्तान्तरण गर्छौं, उसले त्यो जोखिम लिन मानेन । अर्थात् पुनर्बीमा कम्पनीहरूले जोखिम लिन मानेनन् । किनभने यी व्यवसायमा जोखिम बढी छ । संसारमा कसैले पनि नाफा पनि हेर्छ, बीमा समाजसेवा मात्रै होइन । त्यसैले कसैले जोखिम लिन मानेन भन्दैमा हामीले पेसा नै छोड्नु भएन । त्यस्तै क्षेत्रका लागि पुलमा जाँदा सहज भयो । आफ्नो जोखिम न्यूनीकरण भयो, बीमितले बीमा गर्न पायो । त्यसैले पुलको अवधारणा आएको हो । हवाईजहाज दुर्घटना भयो भने त्यसको दर बढ्दै जान्छ । अब दर बढ्यो भन्दैमा हवाईजहाज नै नउडाउने भन्न त मिल्दैन । बीमा नभई बीमन उडाउने विषय पनि हुँदैन । एभियसनमा पुलको अवधारणा आइरहेको छ भन्ने सुनेको हो । जलविद्युतमा विभिन्न किसिमको चरणको छलफल भएको सुनिन्छ । तर, म त्यसमा प्रत्यक्ष रूपमा संलग्न छैन । सेयर लगानीकर्ताले बुझेर नै लगानी गरेको हुन्छ । वित्तीय विवरणको आधारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य धेरै होइन । अझै बढी नै हुनुपर्ने हो ।
प्रभु इन्स्योरेन्सको आगामी योजना के छन् ? पुँजी वृद्धिको विषय के भईरहेको छ ?
पुँजी वृद्धिका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं । त्यसमा शिरोधार्य गरेर काम गरेको हो । प्रक्रियामा जाँदा अन्य पक्षबाट ढिलाइ भएको हो । प्रक्रियामा जाँदा कहिलेकाहीं ढिलोचाँडो हुन्छ । साथै कम्पनीले बीमालाई विस्तार गर्न चेतनामूलक काम गरिरहेको छ । प्रचार गर्न र योजना ल्याउन मात्रै हामीले काम गर्दैनौं । संसारभरि बीमाको प्रडक्ट एउटै हो । कार्य गर्ने शैली फरक हुनसक्छ । हामीले प्रभु इन्स्योरेन्सको प्रडक्टलाई जनमानसमा पुर्याएर बीमा गर्नेको दर बढाउने हो र त्यसमा सम्बन्धित सबैको साथ सहयोगको आवश्यक पर्छ ।
दोस्रो बजारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य १ हजार रुपैयाँको हाराहारीमा छ । १ हजार रुपैयाँ हालेर प्रभु इन्स्योरेन्सको सेयर किन खरिद गर्ने ? लगानीकर्ताले कस्तो किसिमको प्रतिफल पाउनेछन् ?
निश्चय पनि प्रभु इन्स्योरेन्सका लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन् । त्यसको आधार भनेको हामीले त्रैमासिक प्रकाशित गर्ने वित्तीय विवरण हो । सेयर मूल्य बजारले निर्धारण गर्छ । किनभने लगानीकर्ताहरूले धेरै अध्ययन तथा विश्लेषण गरेका हुन्छन् । संधै हचुवाको भरमा हुन्छ भन्ने मात्रै नबुझ्दा हुन्छ । लगानीकर्ताको अपेक्षाले पनि मूल्य निर्धारण गर्छ । सेयर लगानीकर्ताले बुझेर नै लगानी गरेको हुन्छ । वित्तीय विवरणको आधारमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य धेरै होइन । अझै बढी नै हुनुपर्ने हो । बीमा कम्पनीको रिपोटका आधारमा त्यो औसत नै हो । त्रैमासिक वित्तीय विवरण अध्ययन गर्दा कति कमाएको छ, कुन क्षेत्रबाट कुन पोर्टफोलियोबाट कमाएको छ, कति दाबी परेका छन् र हाम्रो कार्यशैली के छ ? एक वर्षको मात्रै कार्यशैली मात्रै हेरेर हुँदैन, विगतको कार्यशैली पनि हेर्नुपर्छ ।
हामी आक्रामक हिसाबले काम गरिरहेका छौं । तर, आक्रामक भन्ने बित्तिकै नचाहिने काम गर्दैंनौं । हामीले जति व्यवसाय गरेका छौं, त्यो व्यवसाय निश्चय नै जोखिम विश्लेषण गरेर नै गरेका छौं । दाबी नआउने व्यवसाय नै हामी गर्छाैं भन्ने पनि होइन । दाबीको भर नै हुँदैन । तर, त्यसको विगत हेरेर विश्लेषण गरेर व्यवसाय गरेका छौं । कम्पनीको वृद्धि स्मुथ रूपमा भइरहेको छ । विगत १० वर्षको अवधिमा लाभांश नदिएको वर्ष नै छैन । एनएफआरएस लागू भएपछि एक वर्ष लाभांश दिन सकेनौं । त्यसमा हाम्रो कारण छैन । लाभांश दिन नसकेर पनि होइन । त्यो वर्षबाहेक हामीले निरन्तर लाभांश दिइरहेका छौं । लाभांशको दर पनि कम्पनीको समान छ । त्यस आधारमा राम्रो नै गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.