बैंकको ब्याज खर्च नै ४ खर्ब, पैसा तान्ने प्रतिस्पर्धाले सकस

  २०८१ भदौ २३ गते १४:५५     सीआर भण्डारी

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई झण्डै ४ खर्ब रुपैयाँ ब्याज प्रदान गरेका छन् । बैंकहरूले निक्षेप संकलन गरेबापत गत आर्थिक वर्ष २०८०/८१ मा निक्षेपकर्तालाई ३ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँ ब्याज खर्च गरेका हुन् । जबकि अघिल्लो वर्ष बैंकहरूले निक्षेपमा ३ खर्ब ३६ अर्ब ४९ करोड रुपैयाँ ब्याज खर्च गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको ब्याज खर्च ८.६० प्रतिशत अर्थात् ३१ अर्ब ५९ करोड रुपैयाँ बढेको हो ।

समीक्षा अवधिमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको ब्याज खर्च बढेको छ । गत वर्ष बैंकको ब्याज खर्च ७५.३८ प्रतिशत अर्थात् १० अर्ब ८ करोड रुपैयाँ बढेर २३ अर्ब ४५ करोड रुपैयाँ गरेको हो ।

यस्तै, हिमालयन बैंकको २४.६५ प्रतिशत अर्थात् ४ अर्ब ७० करोड रुपैयाँ बढेर २३ अर्ब ८१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २३.४६ प्रतिशत अर्थात् ५ अर्ब ३३ करोड रुपैयाँ बढेर २८ अर्ब ४ करोड रुपैयाँ, कुमारी बैंकको २०.१९ प्रतिशत अर्थात् ४ अर्ब ६५ करोड रुपैयाँ बढेर २७ अर्ब ६९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११.९६ प्रतिशत अर्थात् ३ अर्ब ७२ करोड रुपैयाँ बढेर ३४ अर्ब ८२ करोड रुपैयाँ ब्याज खर्च गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उपमहाप्रबन्धक तथा प्रमुख सूचना अधिकारी राजेश शर्माका अनुसार ग्राहक संख्या बढेका कारण ब्याज खर्च बढ्न पुगेको हो । साथै गत वर्ष बैंकको निक्षेप संकलन बढेका कारण ब्याज खर्च बढेको उनको भनाइ छ । साथै मर्जरका कारण पनि ब्याज खर्च बढ्न पुगेको उनले बताए ।

यस्तै, प्राइम बैंकको ११.३७ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँ बढेर १७ अर्ब ८४ करोड रुपैयाँ, कृषि विकास बैंकको ८.७४ प्रतिशत अर्थात् अर्ब ३५ करोड रुपैयाँ बढेर १६ अर्ब ८० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ६.८० प्रतिशत अर्थात् १ अर्ब २५ करोड रुपैयाँ बढेर १९ अर्ब ७१ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ६.७५ प्रतिशत अर्थात् १ अर्ब ७५ करोड रुपैयाँ बढेर २७ अर्ब ७५ करोड रुपैयाँ ब्याज खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तै, नेपाल एसबीआई बैंकको ६.२५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बढेर १२ अर्ब ७६ करोड रुपैयाँ, नबिल बैंकको ५.९७ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ बढेर ३० अर्ब ९ करोड रुपैयाँ, नेपाल बैंकको ४.४३ प्रतिशत अर्थात् ६९ करोड रुपैयाँ १६ अर्ब ४५ करोड रुपैयाँ, प्रभु बैंकको ०.६२ प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बढेर १९ अर्ब ९० करोड रुपैयाँ, एनएमबी बैंकको ०.२७ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बढेर १८ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेका हुन् ।

तर, समीक्षा अवधिमा आधा दर्जन बैंकको ब्याज खर्च भने घटेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ब्याज खर्च घटेको देखिन्छ । यस बैंकको १६.५४ प्रतिशत अर्थात् २ अर्ब ३० करोड रुपैयाँ घटेर ११ अर्ब ६१ करोड रुपैयाँ ब्याज खर्च गरेको हो ।

माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल व्यवसाय वा निक्षेप वृद्धि नभएको र ब्याजदर घटाएका कारण बैंकको ब्याज खर्च घट्न पुगेको बताउँछन् । ऋणीहरू नभएकाले बैंकको व्यवसाय स्थिर राखेको उनको भनाइ छ ।

‘हामीले अन्य बैंकको तुलनामा ब्याजदर घटाएका हौं, घटाउने रणनीति थियो किनभने हामीलाई धेरै व्यवसाय गर्नु थिएन, निक्षेप पनि धेरै वृद्धि गर्नु थिएन, साथै ऋणको फिगर पनि कम थियो, दर घटाउने र ऋणीका ग्राहक कम भएर ब्याज खर्च घट्न पुगेको हो,’ उनले भने, ‘जसको व्यवसाय बढेको छ, उनीहरूको ब्याज खर्च बढ्छ । जसको निक्षेप घटेको छ, उसको ब्याज खर्च पनि घट्न पुगेको हो, ब्याजदर घट्दा र व्यवसाय स्थिर रहँदा त्यो हुनु स्वाभाविक हो ।’

गत वर्ष प्राय: सबै बैंकले ब्याजदर घटाएका थिए । तर, व्यवसाय वा निक्षेप वृद्धि गरेका बैंकको ब्याज खर्च बढ्न पुगेको उनको भनाइ छ ।

यस्तै, गत वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.७० प्रतिशत अर्थात् ८६ करोड रुपैयाँ घटेर ५ अर्ब ९२ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ८.९२ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड रुपैयाँ घटेर १७ अर्ब ७३ करोड रुपैयाँ, सिटिजन्स बैंकको ६३ प्रतिशत अर्थात् ८३ करोड रुपैयाँ घटेर १३ अर्ब ९९ करोड रुपैयाँ, सानिमा बैंकको ३.८५ प्रतिशत अर्थात् ५८ करोड रुपैयाँ घटेर १४ अर्ब ४५ करोड रुपैयाँ र एभरेष्ट बैंकको ०.६३ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ घटेर १४ अर्ब ७९ करोड रुपैयाँ ब्याज खर्च गरेका हुन् ।

बिग मर्जर गरेका बैंकहरुबीच प्रतिस्पर्धाको लहरले अहिले सकस सिर्जन भएको हाे। बैंकहरूबीच मर्जरपछि निक्षेप र ग्राहक संख्या बढाउने प्रतिस्पर्धा नै चलेको थियो । त्यसले बैंकमा तरलता पनि थुप्रियो । तर, अहिले ऋणको माग नभएपछि बैंकहरू निक्षेपको ब्याज मात्रै तिर्न विवश भएका हुन् । यसले बैंकको खर्चमात्रै बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.