पदबहाली गर्दै सीइओ जोशीले भने- १६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छु

  २०८१ भदौ २३ गते १६:३६     विकासन्युज

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर ।

काठमाडौं । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।

सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएका छन् । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो ।

प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आइतबार पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताए । उनले भने, ‘मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।’

नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ । सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्र्याउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ ।

सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्ने तथा गुणस्तरीय पर्यटक भ्त्रियाएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे । पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उहाँले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए ।

साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए । ‘मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।’

निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने सीइओ जोशीको पहिलो दायित्व रहेको छ । ‘मुख्य चुनौती दक्ष जनशक्ति नै हो नाथमलगायतका आतिथ्यतासम्बन्धी शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरेर दक्ष जनशक्ति बढाउनेमा काम गर्नेछु,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनको सुधार पनि प्राथमिकतामा हुनेछ । कार्यविधि पारित नभएको, कर्मचारीको दक्षता अभिवृद्धि गर्नुपर्ने छ ।’

सीइओ जोशीले बोर्ड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए ।

आफू दोस्रो पटक ठूलो जिम्मेवारीका साथ आएको उल्लेख गर्दै उनले कैयौं चुनौती भए पनि सफलतापूर्वक काम गर्नेमा विश्वास व्यक्त गरे ।

‘गन्तव्यको छवि खस्कँदो छ, यस क्षेत्रमा लगानी बढिरहेको र गतिविधि कम भइरहेको अवस्था छ । कोभिडअघिको अवस्थामा विदेशी पर्यटक आगमन पनि पुग्न नसकेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी प्रवर्द्धन आवश्यक छ,’ सीइओ जोशीले भने ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको यही भदौ २० गतेको ३७९ औं बैठकले बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले यही २१ गते शुक्रबार बोर्डको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेबाट सीइओ पदको नियुक्तिपत्र लिएका थिए ।

को हुन् सीइओ जोशी ?

दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय जोशीले गोरखा भूकम्प, नकाबन्दीलगायत चुनौतीकाबीच पनि पर्यटन बढाउन र निजीक्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेका थिए । प्यासिफिक एसिया ट्राभल एशोसियन (केन्द्र) मा डेस्टिनेसन कमिटि चेयर र विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य समेत रहेका जोशीले ‘च्याम्पियन इन च्यालेन्ज’, ‘पर्यटन हिरो’, एसियाका राष्ट्रिय पर्यटन संस्थामध्ये सर्वोत्कृष्ट सीइओ, पाटा पर्सनालिटि अफ द इयर, नाटा पर्सनालिटी जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेका छन् । जोशीले नेपाल उद्योग परिसङ्घमा महानिर्देशकका रूपमा पनि सेवा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.