अर्थमन्त्रीसमक्ष व्यवसायीहरूले गरे गलैंचाको कच्चा पदार्थ आयातमा छुटको माग

  २०८१ भदौ २३ गते १६:५८     विकासन्युज

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर ।

काठमाडौं । गलैंचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरूले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।

नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैंचा व्यवसायीले अर्थमन्त्रीसमक्ष नेपाली गलैंचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए ।

नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैंचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताए ।

त्यस्तै, तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्थालाई पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग व्यवसायीहरूको छ । गलैंचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊन सरह भन्सार र भ्याट छुट हुनुपर्ने माग पनि गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले यस विषयमा संसदबाटै सम्बोधन गर्नुपर्ने बताए । यद्यपि, उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

‘मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिलताको अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार सम्बेदनशील र गम्भीर छ । तपाईंहरूका समस्यालाई पनि गम्भीर रुपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु,’ अर्थमन्त्री पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.