चेक बाउन्समा दोषी ठहर भए ५ प्रतिशत जरिवाना र २ वर्षसम्म जेल

  २०८१ भदौ २३ गते १८:२०     विकासन्युज

काठमाडौं । चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा यस्तो सहमतिपश्चात् सर्वसम्मत पारित भएको हो ।

संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा ५ प्रतिशत जरिवानाको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।

सभापति चालिसेका अनुसार १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना, ५० लाख रुपैयाँसम्मकोमा ३ महिना, १ करोड रुपैयाँसम्म १ वर्ष र १ करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भएमा २ वर्षको कैद सजाय हुनेछ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजायसम्बन्धि विधेयकमा बुँदा ७ माथिको छलफल मुख्य बुँदा बनेको बताए । संशोधन विधेयक माथि समितिले व्यवस्था गर्ने विषयमा समिति स्वतन्त्र रहने भन्दै समितिमा भएका छलफल सकारात्मक रहेको उनले जानकारी दिए ।

चेक अनादरको प्रवृत्ति बढ्दै गएको र यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरूरी रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । चेक अनादरको प्रवृत्तिलाई नियन्त्रण र निरुत्साहित गर्नेगरी कानुनी रूपमा सजायको व्यवस्था गरिनुपर्ने उनले बताए ।

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भए कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने  उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.