इरानका राष्ट्रपति इराक जाने

  २०८१ भदौ २३ गते १९:२६     विकासन्युज

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुक इराकको भ्रमण गर्ने भएका छन् । जुलाईमा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । पेजेस्कियानले वरिष्ठ इराकी अधिकारीहरूसँग भेट्न बगदादमा उच्चस्तरीय इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बगदादमा इरानका राजदूत मोहम्मद काजम अल–सदेघलाई उद्धृत गर्दै आधिकारिक आइआरएनए समाचार एजेन्सीले भ्रमण इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको निमन्त्रणामा हुन लागेको हो । राजदूत सदेघले दुवै मुलुकबीच सहयोग र सुरक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए ।

उनकाअनुसार इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम रायसीको इराकको योजनाबद्ध भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुने भएको थियो । यद्यपि मेमा रायसीको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढोकेको पहाडमा दुुर्घटनाग्रस्त हुँदा तत्कालीन विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानसँगै उनको निधन भएको थियो ।

पदभार ग्रहण गरेपछि पेजेस्कियानले इरानको छिमेकीहरूसँगको सम्बन्धलाई बलियो बनाउन ‘प्राथमिकता’ दिने वाचा गरेका थिए । पछिल्लो दुई दशकमा इरान र इराक दुवै शिया बुहल मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ ।

तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्येको एक हो । इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ । तेहरानले इराकको उत्तरमा कुर्दिश विपक्षी समूहरूमाथि आक्रमण गरेको महिनौपछि सन् २०२३ मार्चमा दुवै मुलुकले साझा सीमालाई समेट्ने सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्यसयता उनीहरू इरानी कुर्दिश विद्रोही समूहहरूलाई निशस्त्र बनाउन र उनीहरूलाई सीमावर्ती क्षेत्रहरूबाट हटाउन सहमत भएका छन् । इरानले ती समूहहरूमाथि इराकबाट हतियार आयात गरेको र इरानी-कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्यृपछि भड्किएको सन् २०२२ को विरोध प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ ।

इरानले जनवरीमा ‘यहुदी शासन (मोसाद) का जासुसहरूले’ प्रयोग गर्ने स्थललाई निशाना बनाएको भन्दै उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा घातक आक्रमण गरेको थियो । शनिबार निर्वासित एउटा इरानी कुर्दिश समूहले उसको कार्यकर्ता बेहदाज खोसरावीलाई इराकको उत्तरी सहर सुलेमानियाबाट पक्राउ गरेर ‘इरानी गुप्तचर’ लाई सुम्पिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.