२०८१ भदौ २५ गते १४:४५ विकासन्युज
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई सत्तारूढ दलहरूले पदबाट हटाउने तयारी गरेका छन् । सत्तागठबन्धनले पदको दुरुपयाेग गरेकाले उनलाई उपसभामुख पदबाट हटाउने तयारी गरेकाे हाे ।
उपसभामुख रानामगरले पाँचजना असम्बन्धित व्यक्तिलाई अमेरिकामा लग्नेगरी पत्र लेखेको सार्वजनिक भएको थियो । अनधिकृत व्यक्तिको भिसा प्रक्रिया आफै अघि बढाएकाले उनी विवादमा तानिएकी हुन् ।
संयुक्त राष्ट्र संघको ‘संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र’ मा भाग लिन जान थालेकी सभामुख रानामगरले आफूसँग ४ पुरुष र एक महिलालाई लान प्रक्रिया अगाडि बढाएकी थिइन् । गत साउन ४ गते अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्बन्धमा संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी थिइन् ।
उपसभामुख रानामगरले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको पनि बताएकी थिइन् । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद हुन् । सत्तागठबन्धनले संविधानको धारा ९१ मा टेकेर उपसभामुख रानाविरुद्ध प्रतिनिधिसभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।
साेमबार बसेकाे सत्तारूढ दलकाे बैठकमा पनि उपसभामुखकाे बारेमा छलफल भएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरी मार्गप्रशस्त्र गर्न अनुराेध गरिसकेका छन् । राजीनामा नदिए सत्तारूढ दलहरूले उनीविरुद्ध महाभियाेग प्रस्ताव अगाडि बढाउने बताएकाे छ ।
यता प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिइ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाए सरकार र सत्तारूढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।
उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारूढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताएका छन् । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.