अधिक तरलताको चापमा बैंकहरू, राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ

  २०८१ भदौ २६ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले झण्डै ५ खर्ब रुपैयाँ खिचेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ तानेको हो ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विभिन्न समयमा बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने गरेको छ । सोही उपकरण प्रयोग गरेर राष्ट्र बैंकले साउनमा ४ पटकमा १ खर्ब ७० अर्ब रुपैयाँ र भदौमा ६ पटकमा ३ खर्ब २० अर्ब रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूबाट ४ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप खिचेको हो ।

राष्ट्र बैंकले साउनमा तानेको निक्षेपको ब्याज र साँवा भुक्तानी गरिसकेको छ । राष्ट्र बैंकका अनुसार साउन २ गते तानेको ५० अर्बको साँवा र ब्याज साउन २३ गते फिर्ता गरिसकेको छ । यस्तै, साउन ९ गते ४० अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले ब्याज र साँवा रकम साउन ३० गते फिर्ता गरेको थियो । साउन १६ गते संकलन गरेको ४० अर्ब रुपैयाँ निक्षेपको भुक्तानी फिर्ता भदौ ५ गते र साउन २३ गते खिचेको ४० अर्ब रुपैयाँको भदौ १२ गते फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भदौमा हालसम्म ६ पटक बैंकिङ प्रणालीबाट निक्षेप संकलन गरेको छ । राष्ट्र बैंककाअनुसार भदौ २ गते १ खर्ब रुपैयाँ, भदौ १२ गते ४० अर्ब रुपैयाँ, भदौ १९ गते ३० अर्ब रुपैयाँ, भदौ २३ गते १ खर्ब रुपैयाँ र भदौ २६ गते ४० अर्ब रुपैयाँ गरी ३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिचेको हो । उक्त निक्षेपको ब्याज र साँवा असोजमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

पूर्वबैंकर पर्शुराम कुँवर बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग नभएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप खिच्ने गरेको बताउँछन् । स्ट्याण्डिङ डिपोजिट फेसिलेटि (एसडीएफ) मा बैंकहरू आफैं बढी भएको निक्षेप जम्मा गर्न जान्छन् भने निक्षेप संकलनमा भने राष्ट्र बैंकले बोलकबोल गरेर निक्षेप तान्ने गर्दछ ।

‘विगतमा राष्ट्र बैंकले त्यतिधेरै निक्षेप संकल गर्दैनथ्यो किनभने बजारमा पहिला तरलता अप्रयाप्त हुन्थ्यो,’ उनले भने, ‘बरू तरलता अभाव वा कडाई हुँदा राष्ट्र बैंकले उल्टै रिपोको माध्यमबाट बैंकहरूलाई प्रदान गथ्र्याे । तर, अहिले पैसा फालाफाल हुन थालेपछि निक्षेप संकलन गर्न लागेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.