रजिष्ट्रार कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोगमा सर्वोच्चले रोक लगाएपछि कम्पनी दर्ता बन्द

  २०८१ भदौ २६ गते १५:२१     विकासन्युज

काठमाडौं । पछिल्लो ३ दिनदेखि कम्पनी दर्ताको काम ठप्प भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयर प्रयोगमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएपछि यही भदौ २४ गतेदेखि कम्पनी दर्ताको काम पूर्णरूपमा ठप्प भएको कार्यालयले जनाएको छ ।

सर्वोच्चले भदौ १८ मा कम्पनी रजिस्ट्रारको कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोग कार्यान्वयन नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

कार्यालयले एक सूचना नै जारी गरेर नयाँ सफ्टवेयरमार्फत सेवा बन्द भएपछि पुरानो प्रणाली सञ्चालनमा ल्याउने क्रममा ३ दिनदेखि कम्पनी दर्ताको काम रोकिएको जनाएको छ ।

कार्यालयले कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (सीएएमआईएस) नामक सफ्टवेयर जडान गरी गत असार २१ गतेदेखि कम्पनी दर्तादेखि अन्य सेवा अनलाइन प्रणालीबाट दिइरहेको थियो ।

कार्यालयका अनुसार सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चितकालका लागि बन्द भएको हो ।

नयाँ सफ्टवेयर छाडेर पुरानै प्रणालीमा फर्कनुपर्दा कम्पनी दर्ताको काम रोकिएको र पुरानो प्रणालीबाट कम्पनी दर्ता लगायतका काम सुरु गर्ने प्रयास भइरहेको कार्यालयको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.