२०८१ भदौ २६ गते १८:१० विकासन्युज
काठमाडौं । विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी माइक्रोसफ्टले भारतमा जग्गा खरिद गरेको छ ।
स्क्वायर यार्ड्सका अनुसार कम्पनीले हिञ्जवडी, पुणेमा ५ अर्ब १९ करोड ७२ लाख भारुमा जग्गा खरिद गरेको हो ।
पुणे देशको प्रमुख आईटी हबमा समावेश छ । हालका वर्षहरूमा माइक्रोसफ्टले भारतको व्यावसायिक घरजग्गा क्षेत्रमा लगानी बढाएको छ ।
कम्पनीको भारतमा धेरै डाटा केन्द्र, विकास केन्द्र र कार्यालय छन् । माइक्रोसफ्ट विश्व प्रसिद्ध प्रविधि कम्पनी हो । यो एप्पलपछि संसारको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । मंगलबारको बन्द मूल्यमा कम्पनीको मार्केट क्याप ३० खर्ब ७ अर्ब ८० करोड डलर छ ।
रजिस्ट्रेसन डकुमेन्टका अनुसार माइक्रोसफ्टको भारतीय इकाई माइक्रोसफ्ट कर्पोरेसन (इन्डिया) प्राइभेट लिमिटेडले हिञ्जवडी, पुणेमा ६६ हजार ४ सय १४ वर्गमिटर अर्थात् १६.४ एकड जग्गा खरिद गरेको छ । यो सम्झौता अगस्टमा भएको थियो । कम्पनीले यो जग्गा इन्डो ग्लोबल इन्फोटेक सिटी एलएलपीबाट खरिद गरेको हो ।
यस सम्झौतामा माइक्रोसफ्टले ३१ करोड १८ लाख रुपैयाँको स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेको थियो ।
कम्पनीले सन् २०२२ मा ३२ अर्ब ८० करोड रुपैयाँमा पिम्परी-चिंचवडमा २५ एकड जग्गा खरिद गरेको थियो । यो वर्ष उसले हैदरावादमा ४८ एकड जमिनका लागि २६ करोड ७० लाख तिरेको थियो ।
माइक्रोसफ्टले भारतमा आफ्नो व्यवसाय विस्तार गर्दैछ । विशेष गरी डाटा सेन्टर सञ्चालन र जग्गा किन्नु यसको योजनाको हिस्सा हो । कम्पनीले पुणे, मुम्बई र चेन्नईमा डाटा सेन्टरहरू निर्माण गरिसकेको छ । हाल कम्पनीको भारतमा २३ हजारभन्दा बढी कर्मचारी छन् ।
कम्पनीको बेंगलुरु, चेन्नई, हैदराबाद, मुम्बई र पुणेमा कार्यालयहरू छन् । यस वर्षको सुरुमा कम्पनीले भारतमा एक ‘स्किलिङ इनिसिएटिभ’ अभियान सुरु गर्यो । यसअन्तर्गत सन् २०२५ सम्ममा २० लाख मानिसलाई एआई र डिजिटल सिपमा तालिम दिने योजना छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.