शून्यबाट सफलता, साना उद्यमीलाई नबिल बैंकको साथ

  २०८१ भदौ २७ गते १२:४१     सीआर भण्डारी

काठमाडौं । यदि ५ रुपैयाँबाट सुरु गरेर ६ रुपैयाँ पुग्यो भने त्यति धेरै सफल भएको देखिँदैन । जब शून्यबाट सुरु भएर १ रुपैयाँ पुग्छ, त्यतिबेला ठूलो सफलता हासिल गरेको महसुस हुन्छ । हो, नबिल बैंकले पनि कर्पाेरेट कर्जामा मात्रै जोड दिन्थ्यो, ठूलो रकम कर्पाेरेट कर्जामा प्रवाह भइरहेको पनि छ । पछिल्लो समय बैंकले आफ्नो कर्जालाई विविधिकरण गर्दै नयाँ उद्यमी जन्माउन साना तथा मझौला र विपन्न वर्ग कर्जामा जोड दिन थालेको हो ।

बैंकहरूले कुल कर्जाको ५ प्रतिशत अनिवार्य विपन्न वर्ग कर्जाका रूपमा प्रवाह गर्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकको सो व्यवस्थालाई नबिल बैंकले पूर्ण रूपमा पालना गरेको छ । तर, अब बाध्यकारी व्यवस्थाबाट नभई आफै अग्रसर भएर अघि बढ्नेगरी विपन्न वर्ग कर्जामा जोड दिन थालेको  बैंकका केन्द्रीय व्यापार सञ्चालक प्रमुख मनोज यादव बताउँछन् ।

‘पहिला कर्पाेरेट लेण्डिङ मात्रै गर्थ्याे किनभने त्यतिबेला ठूलो नेटवर्क थिएन, ठूला ग्राहकलाई कर्जा दिन्थ्यौं । साना ग्राहकलाई कर्जा दिन खासै चासो हुँदैनथ्यो,’ उनले भने, ‘अब राष्ट्र बैंकको प्रावधान पुरा गर्न मात्रै होइन, बैंक आफै पनि सानासाना कर्जामा जोड दिइरहेको छ ।’

देशभर नबिल बैंकका २६८ वटा शाखा छन् । शाखा कार्यालयको पहुँचसँगै व्यवसाय वृद्धि गर्न साना कर्जामा बैंकले लगानी गर्नुपर्ने बाध्यता जस्तै छ । नयाँ उद्यमी जन्माउने र साना ग्राहकलाई ऋण दिएर ठूला ग्राहक बनाउन बैंकले मुख्य भूमिका खेलिरहेको छ ।

बैंकहरूले विपन्न वर्ग कर्जा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई तरिकाले प्रवाह गरिरहेका छन् ।  बैंक आफैले प्रत्यक्ष २० लाखसम्म कर्जा दिन्छन्  भने  अप्रत्यक्ष रूपमा लघुवित्त संस्थाका माध्यमबाट गाउँघरका ऋणीहरूलाई लगानी पनि गरिरहेका छन् ।

यादवका अनुसार बैंकले आफैले प्रत्यक्ष रूपमा १० हजार बढी ग्राहकलाई २० लाखसम्म कर्जा दिएको छ । उक्त कर्जाको आकार ७ अर्ब ८ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । साथै अप्रत्यक्ष रूपमा लघुवित्त संस्थामार्फत प्रवाह भएको कर्जाको आकार १२ अर्ब बढी रहेको उनको भनाइ छ ।

विपन्न वर्ग, साना तथा मझौला उद्यमी ग्राहकहरूको आवश्यकता परिपूर्ति गर्न बैंकले १७/१८ वटा प्रडक्ट सञ्चालनमा ल्याएको छ । साथै सहुलियतपूर्ण कर्जातर्फ ब्याज अनुदानका १० वटा प्रडक्टमा पनि बैंकले कर्जा दिइरहेको यादवले बताए ।

विदेशमा लामो समय काम गरेर स्वदेश फर्केर उद्यम गर्न चाहने व्यक्तिका लागि स्किल माइग्रेन्ट प्रडक्ट सञ्चालनमा छ । विदेशमा सिकेको सीप र अनुभवका आधारमा सो प्रडक्टअन्तर्गत कर्जा दिइरहेको पनि उनले बताए । साथै वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारले उद्यमशीलता वा स्वरोजगार गर्न चाहेमा स्किल माइग्रेन्ट फेम्ली प्रडक्ट पनि रहेको उनले जानकारी दिए  ।

‘विदेशबाट फर्किएको व्यक्तिले कस्तो किसिमको व्यापार व्यवसाय गर्न खोजेको हो, उसको अनुभव, ज्ञान कति हो, सो आधारमा कर्जा दिइन्छ, यदि परिवारको सदस्यले पनि उद्यम गर्न चाह्यो भने उनीहरूलाई पनि कर्जा दिन्छौं,’ यादवले भने ।

स्किमको प्रभावकारिता

बैंकले सञ्चालन गरिरहेका स्किमको प्रभावकारिता राम्रो देखिएको यादवकाे भनाइ छ । उनका अनुसार १० जना मान्छेका १० किसिमका आवश्यकता हुन्छन् । लक्षित समूहमध्ये विपन्न वर्ग, कृषक, किराना पसल गर्ने व्यक्तिका आवश्यकता फरकफरक हुन्छन्, सोही अनुसारका प्रडक्ट रहेको उनी बताउँछन् ।

‘१ करोड कर्जा दिनु र १ लाख दिनुमा फरक छ, व्यापार व्यवसाय गरेर सफल हुँदा कहाँबाट कर्जा लिएको भनेर कसैले सोध्दा नबिल बैंकबाट लिएर व्यवसाय गरेको भन्नुहुन्छ, त्योबेला जति सन्तुष्टि अरू बेला हुँदैन, त्योबेला गर्व लाग्छ, सफल भएको जस्तो लाग्छ,’ उनले भने ।

नबिल दीगो बैंकिङ

तपाईं घर निर्माणको योजनामा बनाएर बैंकबाट कर्जा लिन चाहनुहुन्छ ? अब बैंकहरूले सहजै कर्जा दिने छैनन् । किनभने घर बनाउँदा नवीकरण ऊर्जा (सोलार) प्रयोग, आकाशे पानी संकलन (रेन वाटर हार्विस्टिङ प्रविधि) गरी प्रयोग, फोहर व्यवस्थापनलगायत मापदण्ड पुरा गरेको हुनुपर्छ । घर बनाउँदा यी सामान्य मापदण्ड पुरा गर्नु भयो भने नबिल बैंकले सहजै कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएकाे छ । जसलाई बैंकले दिगो बैंकिङको अवधारणामा राखेको छ ।

उद्यमशीलता दीर्घकालसम्म सञ्चालन गर्नुका साथै वातावरणलाई समेत बचाउनु नबिल बैंकको मुख्य उद्देश्य हो । त्यसैले दीगो बैंकिङअन्तर्गत रहेर नबिल बैंकले बैंकिङ प्रडक्ट ल्याइरहेको छ । सस्टेनेबल हाउजिङ, सस्टेनेबल टुरिजम, सस्टेनेबल इनर्जीलाई बैंकले दिगो बैंकिङअन्तर्गत पर्छन् ।

नबिल बैंकले वेस्ट म्यानेजमेन्टमा काम गरिरहेको डोकोरी साइकल कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले बैंकका शाखा कार्यालयमा खेर गएका पेपर (कागज) संकलन गरी कच्चा पदार्थका रूपमा पुनः प्रयोगमा ल्याउने काम गर्छ । जसलाई बैंकले दीगो बैंकिङ अभ्यासका रूपमा अघि सारेको छ ।

यस्तै, बैंकको केन्द्रीय कार्यालयमा रेन वाटर हार्भेस्टिङ प्रविधि प्रयोगमा ल्याएको छ । जसबाट आकाशे पानी संकलन गरेर पुनः प्रयोगमा ल्याइएको छ । अब यो प्रविधिलाई घरमा पनि प्रयोग गर्न ग्राहकहरूलाई बैंकले आग्रह गरिरहेको छ । कर्जा आवश्यक परेर बैंकमा जानुभयो भने आफ्नो व्यवसाय वृद्धिसँगै वातावरणमा समेत टेवा पुग्ने गरी योजना बनाउनुपर्ने हुन्छ । नबिलले दीगो बैंकिङ अभ्यास सुरुवात गरेको ४ वर्ष भयो । दीगो विकासका १७ वटा लक्ष्यअन्तगर्त रहेर बैंकले उद्यमशीलता विकासमा तल्लो तहतप्काका आवश्यकता पुरा गरिरहेको छ ।

‘घर त सबैले बनाउनुहुन्छ, स्थानीय सरकारले पनि विभिन्न मापदण्ड तोकेका छन्, त्यसमा पनि पानी रिजर्भ गर्ने, फोहोर व्यवस्थापनलगायत मापदण्ड पुरा गर्नुभयो भने अन्य कर्जामा भन्दा सहुलियत वा छुटको व्यवस्था छ । त्यस्तै सवारीसाधन खरिद गर्दा वातावरणमैत्री इलेक्ट्रिकल भेइकल (ईभी) किन्दा बैंकले ब्याजमा छुट दिन्छ,’ यादवले भने ।

निक्षेप संकलन र कर्जा प्रवाह गर्नु मात्रै बैंकको काम हो भनेर अधिकांशको बुझाइ छ । पछिल्लो समय दीगो बैंकिङको अवधारणा आएसँगै बैंकले कर्जा विविधिकरण गरिरहेका छन् । तर, एउटै नबिल बैंकले मात्रै दीगो बैंकिङ अभ्यास गरेर सफल नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

‘एउटा बिरुवा रोपेपछि त्यसको नतिजा १० वर्षपछि देखिन्छ । त्यसैगरी, सस्टेनबल बैंकिङको नतिजा पनि तत्काल नभई दीर्घकालमा देखिन्छ, अर्थतन्त्रमा ठूलो योगदान बैंकको छ, राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर दीगो बैंकलाई अनिवार्य गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.