साल्ट ट्रेडिङ ६२औं वर्षमा प्रवेश, कारोबार र सेवा क्षेत्र अझै बिस्तार गर्ने

  २०८१ भदौ २७ गते १४:०१     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औं वर्षमा प्रवेश गरेको छ । उपभोग्य वस्तु र रासायनिक मललगायतका वस्तुको कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बिहीबारबाट ६१ वर्ष पुरा गर्दै ६२औं वर्षमा प्रवेश गरेको हो ।

स्थापना दिवसको अवसरमा कम्पनीले विशेष समारोह आयोजना गरेको थियो । समारोहमा बोल्दै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अब कारोबार र सेवा क्षेत्र झनै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । कर्पोरेशनले आफ्नाे सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्व सुलभतालाई मूलमन्त्रको रूपमा लिँदै त्यही मूल्य-मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको उनले बताइन् । यही मूल्य-मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता उनकाे छ ।

राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुऱ्याउने यात्रालाई निरन्तरता दिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे‍ भनाइ छ । उनका अनुसार कर्पोरेशन आफ्नाे सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिए‌का जिम्मेवारी पुरा गर्नसमेत प्रतिवद्ध हुँदै आएको छ ।

‘हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यो विश्वासले हामीलाई थप सेवा प्रवाहमा हौसला प्राप्त भएको छ,’ उनी भन्छिन्, ‘कर्पाेरेशनले आम उपभाेक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुऱ्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।’

साथै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले २०८१ सालको दशैं-तिहार, नेपाल संवत तथा छठको पूर्वसन्ध्यामा समस्त उपभोक्ता वर्गका साथै सबैमा शुभकामनासमेत व्यक्त गरेकी छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय रहेको उनले बताए ।

उनी भन्छन्, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ ।’

मन्त्री रिजालले सरकारले आवश्यकताअनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

त्यस्तै, कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए । कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउन थप पहल गर्नुपर्ने श्रेष्ठले बताएका छन् ।

वार्षिकोत्सवको अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरारछोरीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । उक्त समारोहमा बालबालिकाहरूको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कारसमेत प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.