कोइका नेपाल कार्यालयद्वारा ‘फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना

  २०८१ भदौ २७ गते १५:२५     विकासन्युज

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयले कोइका आईसीटी सेन्टर, इन्जिनियरिङ इन्स्टिच्युट (आईओई) पुल्चोक क्याम्पसमा ‘२०२४ कोइका नेपाल कार्यालय फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ ।

सन् १९७४ मा गणतन्त्र नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा कोइकाले यस कार्यक्रमको आयोजना गरेको हाे । यो कार्यक्रम दुई राष्ट्रबीचको गहिरो सम्बन्धलाई उजागर गर्न आयोजना गरिएको कोइकाले जनाएकाे छ ।

दुई दिनसम्म चलेको कार्यक्रममा ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नारासहित नेपालमा कोइकाको विकास सहयोगमा केन्द्रित आकर्षक गतिविधि र प्रदर्शनीहरू राखिएको थियो । प्रदर्शनीमा कोरियाका केही सांस्कृतिक पक्षहरू जस्तै खाना, परम्परागत खेलहरू, क्यालिग्राफी र के–पप राखिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्क, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, संयुक्त राष्ट्रसंघीय निकाय तथा कोरियाली संघका प्रतिनिधि, विभिन्न मन्त्रालयका उच्चस्तरीय सरकारी अधिकारी, कोइका साझेदारहरू उपस्थित थिए ।

कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर  माेह्युन कङले कोइकाको मिसनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण सहयोग गरेकोमा नेपाल सरकार र सबै साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले प्रदर्शनी तस्बिरको प्रदर्शनी मात्र नभई साझा विकास यात्रा, समृद्धि र मानवताको साझा आकांक्षाको झल्को रहेको बताए ।

यस्तै, परराष्ट्र मन्त्रालय, उत्तर पूर्व एसिया डिभिजनका उपसचिव मणिरत्न शर्माले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपाललाई कोरिया सरकारले गरेको समग्र सहयोग र समर्थनलाई प्रकाश पारे ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्कले आफ्नो मन्तव्यमा पारस्परिक सहयोग कार्यक्रमले कोरिया र नेपालबीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेमा जोड दिए । राजदूत पार्कले कोइकामार्फत नेपाललाई विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र सूचना प्रविधि क्षेत्रमा निरन्तर विकास सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मोफागा) का सचिव भरतमणि सुवेदीले नेपाललाई वैदेशिक रोजगारी, शिक्षा र जनस्तरको आदानप्रदान जस्ता विभिन्न विकास क्षेत्रमा कूटनीतिक माध्यमबाट निरन्तर सहयोग गरेकोमा कोइका र कोरियाली सरकारलाई धन्यवाद ज्ञापन गरे ।

उनले विशेषगरी अर्थतन्त्र र लगानीका क्षेत्रमा निरन्तर सहयोगको आशा व्यक्त गर्दै द्विपक्षीय रोजगारी सहयोग सुचारु रूपमा अगाडि बढिरहेको उल्लेख गरे।

कार्यक्रममा जनता, शान्ति, समृद्धि र साझेदारीको विषयवस्तुमा विकास सहयोगका तस्बिरहरू प्रदर्शन गरिएको थियो जसमा कोइकाले वर्षौंदेखि निर्माण गरेका भवनहरूको प्रदर्शनी गरिएको थियो ।

त्यस्तै, के–कल्चर बुथ स्थापना गरिएको थियो, जसले आगन्तुकहरूलाई क्यालिग्राफी, परम्परागत कोरियाली कपडा र परम्परागत कोरियाली खेलहरू जस्ता गतिविधिमार्फत प्रामाणिक कोरियाली संस्कृतिको अनुभव गराएको थियो ।

यस्तै, कार्यक्रममा आगन्तुकहरूले विभिन्न प्रकारका कोरियाली परिकारहरूको आनन्द पनि लिएका थिए ।

कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षण कोइका फोटो प्रतियोगिताका विजेताहरूको घोषणा थियो । कोइका नेपाल कार्यालयले जुलाई २२, २०२४ मा विकास सहयोगमा केन्द्रित रहेको ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नाराका साथ फोटो प्रतियोगिताको घोषणा गरेको थियो ।

कार्यक्रममा तीन उत्कृष्ट फोटोहरूलाई पुरस्कृत गरिएको थियो। भलम आधारभूत विद्यालय, कास्कीका कोइका स्वयंसेवक अशोक तिवारीले ग्रान्ड पुरस्कार जिते । कोरियाली गैरसरकारी संस्था डोरुन नेपालकी परियोजना प्रबन्धक जिन ही लीले रजत र कोरिया नेपाल फ्रेन्डसिप नगरपालिका अस्पतालकी सरिता श्रेष्ठले कास्य पुरस्कार हात पारे ।

याे पनि पढ्नूहाेस्: कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.