१० ठूला बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव रद्द

  २०८१ भदौ २८ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिलाई राष्ट्र बैंकले रद्द गरेको हो ।

आवेदन दिएका विभिन्न ५ कम्पनीमध्ये राष्ट्र बैंकले गत साउन ३१ गते केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्मलाई छनोट गरेको थियो । तर, शुक्रबार एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३६ उपदफा १(ख) बमोजिम प्रक्रिया रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । यस व्यवस्थामा लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएमा रद्द गर्न सक्ने रहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा ठूला बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले गत चैतमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।  आईएमएफसँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको आह्वानअनुसार नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको थियो ।

यसअघि प्राविधिक रूपमा योग्य केपीएमजीले सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला गर्ने र १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने राष्ट्र बैंकले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.