युनेस्को र सेन्ट जेभियर्स कलेजकाे सहकार्यमा समाचार लेखन कार्यशाला सम्पन्न

  २०८१ भदौ २८ गते १३:०१     विकासन्युज

काठमाडौं । काठमाडौंमा सेन्ट जेभियर्स कलेज र युनेस्को कार्यालय, काठमाडौंको सहकार्यमा दुईदिने समाचार लेखन कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

कलेजको पत्रकारिता संकायको संयोजनमा आयोजना भएको कार्यशालामा पत्रकारिताका विभिन्न पक्षहरूका साथै एआई उपकरणहरूको प्रयोग पनि समेटिएको थियो ।

कलेजले काठमाडौं उपत्यकाका चार सार्वजनिक र सामुदायिक कलेजहरू रत्न राज्य लक्ष्मी क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, नमुना मच्छिन्द्र कलेज, नेपाल कमर्स क्याम्पसका पत्रकारिता अध्ययनरत १२ विद्यार्थी र सेन्ट जेभियर्स कलेजका १५ विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका लागि लेख, पिच र समाचार लेखनमा हुने समान्य त्रुटिहरूका विषयमा तालिम दिएको थियो ।

एआई विशेषज्ञ नरेश नेवारले विद्यार्थीहरूलाई तालिम दिएका थिए । उनले एआईलाई सहायकको रूपमा प्रयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिएका पनि छन् ।

उनले एआईलाई सामग्री निर्माण, सामाजिक सञ्जालका पोस्टहरू वा तस्बिरहरू बनाउन उचित हुने जानकारी दिए ।

न्युयोर्क टाइम्सका पत्रकार भद्र शर्माले आफूले मिडियाका लागि लेखेका समाचार पिच र रिपोर्टिङका अनुभव सुनाएका थिए । बेलायती लेखक लुइसा कमलले समाचार लेखनमा देखिने सामान्य त्रुटिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरेकी थिइन् ।

तालिममा क्रममा मदन भण्डारी कलेजका एक सहभागीले कार्यशालामा सहभागी हुन पाउँदा निकै खुसी भएकाे बताए ।

सेन्ट जेभियर्स कलेजले पत्रकारिता अध्ययनरत विद्यार्थीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२१ देखि समाचार लेखन कार्यशाला सञ्चालन गर्दै आएको छ ।

पहिलो पटक युनेस्कोसँग सहकार्य गरेर आयोजना गरिएको यस समाचार लेखन कार्यशालाले भविष्यमा विद्यार्थीहरूको पत्रकारिताको यात्रामा सहयोग पुग्ने अपेक्षा रहेको कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.