साउनमा १५४ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

  २०८१ भदौ २८ गते १३:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को साउन महिनामा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा सरेण्डर (बीमा त्याग) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका बीमितले सबैभन्दा धेरै बीमा सरेण्डर गरेका छन् । साउन महिनामा एलआईसीका २ हजार ७१५ जना बीमितले ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् ।

यसैगरी, नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसैगरी, एशियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।

बीमा सरेण्डर कम हुने कम्पनीम सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । सन लाइफका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । यसैगरी, प्रभु महालक्ष्मीका ८७ बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् ।

सरेण्डरबारे के भन्छ बीमा प्राधिकरण ?

नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा सरेण्डर हुनु सामान्य विषय भएको बताएको छ । कुल जारी पोलिसीको २ प्रतिशत सरेण्डरलाई अन्तराष्ट्रिय मान्यताअनुसार सामान्य मानिने उल्लेख गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको बीमा सरेण्डर सामान्य अवस्थाको रहेको बताउँछन् ।  सरेण्डर बढ्न नदिन र घटाउनका लागि प्राधिकरण लागि परेको पनि उनले जानकारी दिए ।

उनका अनुसार सामान्यता सरेण्डर हुनुको पछाडि आर्थिक मन्दी, अभिकर्ताको फोर्स सेलिङ, बीति तथा अभिकर्तामा जनचेतनाको अभाव आदि कुराहरूले भूमिका खेलेको हुन्छ । ‘त्यसका लागि प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै ३०० भन्दा धेरै पालिकामा गएर बीमासम्बन्धी चेतना दिएको छ,’ उनले थपे, ‘केही नीतिगत सुधार गरेको छ ।’

अभिकर्तालाई तालिमको अभाव

पोलिसी सरेण्डर हुनुको मुख्य कारण अस्वस्थ प्रतिस्पर्धा रहेको अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका महासचिव ‌ओमबहादुर केसीका अनुसार अभिकर्ताहरूले नै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने भएकाले पनि बीमा सरेण्डर हुने गरेको छ ।

उनका अनुसार एक कम्पनीमा बीमा गरेका बीमितलाई अर्का कम्पनीका अभिकर्ताले खोसेर लैजाने प्रविधिले सरेण्डर हुने गरेको छ ।

यसका लागि बीमा कम्पनीले सरेण्डर रोक्न डेक्स खडा गर्नुपर्ने, नेपाल बीमा प्राधिकरणले र बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोफेशनल बनाउन त्यसअनुसारको तालिम दिनुपर्ने महासचिव केसीकाे भनाइ छ ।

यसरी अभिकर्ताको क्षमता वृद्धि, अभिकर्ताको भूमिका आदिका बारेमा तालिम दिएमा केही हदसम्म सरेण्डर रोकिने उनले उल्लेख गरे ।

उनले भने, ‘अहिले ८० प्रतिशत अभिकर्ता प्रोफेशनल छैनन् । उनीहरूले अन्य कम्पनीका बीमितलाई विभिन्न प्रलोभन देखाएर आफ्नो कम्पनीमा ल्याएर बीमा गराउने पनि गर्दछन् । त्यस किसिमको अस्वस्थ्य प्रतिस्पर्धा रोक्न नियमित तालिम दिनु पर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.