ऋणले थिचिएको नेपाल वायुसेवा निगम, ऋण तिर्न फेरि ऋण लिँदै

  २०८१ भदौ २८ गते १८:१०     विकासन्युज

काठमाडौं । पुरानो ऋण तिर्न नसकेको र ऋणमा थिचिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले फेरि ऋण लिने भएको छ । निगमले एक सूचना जारी गर्दै ऋण तिर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने जनाएको छ ।

वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्दा लिएको ५५ अर्ब रुपैयाँ ऋण अहिलेसम्म तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ गरी कुल ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । तर, समयमै किस्ता बुझाउन नसकेपछि दायित्व बढेर ५५ अर्ब रुपैयाँ पुगेको हो ।

निगमले उक्त ऋण तिर्न, नयाँ जहाज खरिद र जहाज मर्मत गर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋणको खोजीमा दौडधूप गरिरहेको छ । न्यून ब्याजदरमा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाबाट निगमले ऋण लिन खोजेको हो । यसअघि कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट महँगो ब्याजदरमा ऋण लिएको थियो । उक्त ऋण चुक्ता गर्ने र बाँकी रकम जहाज खरिद र मर्मतमा खर्च गर्ने योजना रहेको निगमले जनाएको छ ।

निगमले यसअघि नै उक्त ऋणको खोजी गरेको थियो । तर, एउटा कम्पनीको मात्रै आवेदन परेको र सो कम्पनीले ऋण दिने टुंगो नभएपछि पुनः आवेदन आह्वान गरिएको निगमको भनाइ छ । निगमलाई ऋण दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले ४५ दिनभित्र पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.