२०८१ भदौ २९ गते १३:०९ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले २ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्मित १ सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् ।
होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।
प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए ।
‘व्यवसायीहरू निर्वाधरूपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ, कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन, सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन, कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ,’ प्रधानन्त्री ओलीले भने, ‘तपाईंहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्, सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.