९ वर्षपछि सञ्चालकको भत्ता बढाउँदै एभरेष्ट बैंक, लाभांश पारित गर्न डाक्यो साधारण सभा

  २०८१ भदौ ३० गते १२:२०     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको साधारण सभा असोज २० गते बिहान ११ आम्रपालि ब्याङ्क्वेट घाटभटेनी काठमाडौंमा बस्नेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ ।

बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ ।

साथै बैंकको सभाले सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि गर्नेछ । बैंकका अनुसार सञ्चालकलाई नेपाल, भारत र अन्य देशको भ्रमण गर्दा दैनिक भत्ता विगत ९ वर्षदेखि पुनरावलोकन भएको छैन । त्यसैले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्ने बैंकले जनाएको छ ।

यस्तै संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.