…त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास

  २०८१ भदौ ३० गते १६:३५     सन्तोष रोकाया

काठमाडौं । २०८१ जेठ ३ गते । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरू सम्मिलित सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री थिए रवि लामिछाने । सडकदेखि सदनसम्म सहकारी ठगीको विषयले तहल्का पिट्दै थियो । विशेषगरी बहालवाला गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा तमासा देखाउँदै थियो । यतिसम्म कि रविलाई संसदमा जवाफ दिन कांग्रेसको रोकावट थियो ।

संसदमा केपी ओली र धनराज गुरुङबीच भएको त्यो भनाभन । फाइल फोटो

रविले पदबाट राजीनामा दिनुपर्ने माग कांग्रेसको थियो । तर, सरकारमा सहभागी भएको प्रमुख दल एमाले भने गृहमन्त्री लामिछानेको बचाउमा प्रयत्न गर्दै थियो । एमालेका अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी भएपनि लामिछानेलाई रोष्टममा पुर्‍याएर बोल्न लगाउने र कांग्रेसको प्रतिवाद गर्ने अडान राखे । सत्तापक्षले बलमिच्याइँ गरेपछि कांग्रेस तात्यो र संसदको बेल घेराउ गर्‍याे । सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच घम्साघम्सी भयो ।

त्यो दिन अर्थात् २०८१ जेठ ३ गते संसदमा पृथक किसिमको ‘चित्र’ देखियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका उपसभापति धनराज गुरुङबीचको भनाभनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल ततायो । तत्कालीन गृहमन्त्री लामिछाने रोष्टममा चढ्न जाँदा कांग्रेसका सांसदले राके । सोही समयमा ओलीले कांग्रेसका सांसदलाई सम्झाउन खोज्दा ओलीमाथि गरेको गुरुङको हर्कतले सिंगो पार्टीभित्र टीकाटिप्पणी र खैलाबैला नै भयो ।

सांसद गुरुङले देखाएको हर्कतप्रति ओली आक्रामक बने । एमालेभित्र आफ्नो सम्मानित नेता तथा पूर्वप्रधानमन्त्रीलाई कांग्रेसको उपसभापतिले गरेको दुर्व्यवहार अपाच्य बन्यो । गुरुङलाई अब ‘साइज’मा ल्याउनुपर्ने मत पार्टीका केही नेता र कार्यकर्ताबीच चल्न थाल्यो ।

…त्यसपछि सुरु भयो खोजतलास

आफ्नो शीर्ष नेताप्रति गरेको अपमान, दुर्व्यवहार र हर्कतलाई एमालेले भुल्न सक्ने अवस्था थिएन । अब एमालेका कार्यकर्ताले धनराज गुरुङको कमजोरी खोतल्न लागे । अहिले सहकारी नै सडकदेखि सदनसम्मको बहसको विषय बनेको छ । सहकारी प्रकरण नै खोतल्न सक्दा थप विवादमा ल्याउन सकिने भन्दै एमालेका कार्यकर्ता गुरुङ तथा उनको घरपरिवार आवद्ध सहकारी खोज्नमा लागे ।

ललितपुरमा रहेको एक प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकले आफूकहाँ पनि एमालेका कार्यकर्ता आएर धनराज र उनको परिवार आवद्ध सहकारी संस्थाको विषयमा बुझ्न प्रयास गरेको जानकारी दिए ।

‘मलाई एमालेका केही नेताहरूले सम्पर्क गरेर धनराज गुरुङ कुन सहकारीमा आवद्ध छन् भनेर सोध्नु भएको थियो, मलाई जानकारी नभएर भन्न सकिनँ । अन्य सहकारीका व्यवस्थापक तथा सञ्चालकलाई पनि एमालेका केही नेता र कार्यकर्ताहरूले सोधखोज गरेको भन्ने जानकारी पाएको थिएँ,’ ती व्यवस्थापकले विकासन्युजसँग भने ।

एमालेका कार्यकर्ता र पार्टी निकट केही पत्रकारले गुरुङमाथिको खोजतलास जारी राख्यो । उनको कमजोरी भेटाउन विभिन्न सहकारी संघसंस्थाका सञ्चालक तथा व्यवस्थापकलाई भेट्ने र सम्पर्क गर्ने क्रम चलिरह्यो । लामो प्रयास गर्दासमेत एमालेका कार्यकर्ताले उनको कमजोरी भेट्न सकेका थिएनन्।

यो बीचमा असार १७ गते एमाले र कांग्रेसबीच सत्ता सञ्चालनका लागि गठबन्धन भयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । गठबन्धन भएपछि एमाले र कांग्रेसबीचको मनमुटाव सकियो । पुरानो ‘इगो’ बिर्सेर कार्यकर्ता आफ्नै धुनमा थिए । तर, त्यो बीचमा केही कार्यकर्ताले धनराजको श्रीमती ज्योति गुरुङ एउटा सहकारीमा आवद्ध रहेको र त्यसमा धनराजको पनि संलग्नता रहेको फेला पारे ।

‘एक जना सहकारी सञ्चालकले नै मलाई फोन गरेर धनराज गुरुङ पनि सहकारी ठगीमा जोडिएको भनेर सुनाउनु भयो, पहिले नै फोन गर्ने एमाले कार्यकर्ताले पनि उहाँ सहकारीमा आवद्ध भएर बचत ठगी नै गरेको भन्ने सूचना दिए, मैले खासै वास्ता गरिनँ । अहिले त्यही विषय ‘हटकेक’ बन्यो,’ प्रारम्भिक सहकारी संस्थाका ती व्यवस्थापकले भने ।

अनि आयो छानबिनको दायरामा

धनराज गुरुङको कमजोरी फेला परेको भन्दै एमालेका कार्यकर्ताबीच खुसीयाली छायो । एमालेका नेता तथा कार्यकर्ताले संसदीय छानबिन विशेष समितिको प्राथमिकतामा यो विषय पर्नुपर्ने दवाव दिए । पार्टीभित्र चर्को दबाबपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका संयोजक तथा एमाले सांसद सूर्य थापाले गुरुङले बचत ठगेको भनिएको ललितपुरको महालक्ष्मीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई सिंहदरबार बोलाए । उनीसँग समितिले लामो समय सोधपुछ गर्‍याे । कुम्भराजले पनि धनराज र उनको श्रीमती ज्योति गुरुङको गल्ती भएको समितिसमक्ष स्पष्ट पारे ।

मितेरी सहकारीबाट सीआईबीमा परेको उजुरी ।

त्योबीचमा उनै कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पनि उजुरी दिए । सीआईबीमा समेत उजुरी परेपछि एमालेका कार्यकर्ताले अब यो विषय सञ्चारमाध्यममा ल्याउनुपर्ने आवश्यकता ठाने । र, एमाले निकट मानिएको जनता टाइम्स अनलाइन न्यूज पोर्टलबाट ‘ब्रेकिङ’ को रूपमा आयो, ‘सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज र पत्नी ज्योति गुरुङको संलग्नता भेटियो, १५ करोड रकम ठगी गरेको खुलासा’ ।

धनराज गुरुङ र श्रीमती ज्योती गुरुङ । तस्बिर : सामाजिक सञ्जाल ।

त्यसपछि यो विषयले अन्य सञ्चारमाध्यममा पनि प्राथमिकता पायो । अहिले धनराज गुरुङ जोडिएको सहकारी र उनले गरेको बचत ठगीको विषयको विभिन्न कोणबाट चर्चा भइरहेको छ । सीआईबीमा परेको जाहेरीमा धनराज र पत्नी ज्योतिले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि धनराजको कमजोरी रहेको बयान दिएका छन् । दुई दिनअघि मात्रै संसदीय छानबिन समितिले मितेरी सहकारीमै पुगेर स्थलगत निरीक्षण गरेको छ । सो निरीक्षणको क्रममा धनराजले दुई महिनाअघिसम्म ऋणको किस्ता तिरिरहेको खुलेको छ ।

तर, धनराजले भने २०७७ मै आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेकोले त्यसमा आफ्नो संलग्नता नरहेको पुष्टि गर्न खोजिरहेका छन् । उपसभापति गुरुङले आफूमाथि छानबिन गर्न चुनौती दिइसकेका छन् । उनले संसदमा बोल्दै आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको बताउँदै स्वतन्त्ररूपमा छानबिन गर्न आग्रह गरिसकेका छन् । उनले ज्योति गुरुङसँग पहिल्यै सम्बन्ध विच्छेद भइसकेको र अहिले आफ्नो चरित्रहत्या गर्न यो विषय सार्वजनिक भइरहेको भन्दै खण्डनसमेत गरेका छन् ।

अहिले धनराजको श्रीमती ज्योति फरार छिन् । धनराजले कागजीरूपमा मात्रै ज्योतिसँग सम्बन्ध विच्छेद गरेको विषय पनि अहिले व्यापक चर्चामा छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरिसकेको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

मितेरी सहकारी संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.