दशैं खर्च जुट्यो, सेयरधनी मख्ख

  २०८१ भदौ ३० गते १९:१९     सीआर भण्डारी

काठमाडौं । दशैं आउन अब तीन साता बाँकी छ । बजारमा दशैंको चहलपहल बढिसकेको छ । परदेशमा रहेकाहरू स्वदेश फर्किने सुरसार गर्दैछन् । सहर पसेकाहरू गाउँ फर्किने दिन गन्दैछन् । मौसमले दशैंको झ–झल्को दिइरहेको छ । उद्योगी व्यवसायी र व्यापारीहरूले दशैंको अवसर पारेर नयाँ व्यवसाय गर्ने, व्यवसाय विस्तार गर्ने तथा विभिन्न स्कीमका योजनाहरू सार्वजनिक गरिरहेका छन् ।

विभिन्न कम्पनीका सेयरधनीहरू आफ्नो कम्पनीबाट लाभांश पाइने आशा गरिरहेका छन् । कम्पनीले ‘लाभांश देला र दशैंमा खर्च जुटाउँला’ भन्ने विश्वास धेरै लगानीकर्ता र सेयरधनीको छ । दशैंको माहोलमा धेरैले दिल खोलेर खर्च गर्छन्, घुम्छन् र रमाइलो गर्छन् । त्यसैले पनि लगानी गरेको ठाउँबाट प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक हो ।

यो दशैंमा पनि एक दर्जन पब्लिक कम्पनीका सेयरधनी मख्ख छन् । कम्पनीले लाभांश घोषणा गरेपछि धेरै सेयरधनीहरू खुसी भएका छन् ।

लगानीकर्ता माधव खनाल आफूले लगानी गरेको कम्पनीबाट दशैं अगाडि नै लाभांश वितरण गर्दा खुसी व्यक्त गर्छन् । उनी आफूले लगानी गरेका अन्य कम्पनीबाट पनि छिट्टै प्रतिफल दिनेमा आशावादी छन् ।

‘गत वर्षको भन्दा यसपटकको दशैं खर्च बढी जुटेको छ, मैले लगानी गरेका केही कम्पनीले दशैं अगाडि नै लााभांश दिने भए,’ उनले खुसी हुँदै भने, ‘तर सबै कम्पनीले दशैं अगाडि नै लाभांश दिएको भए अझै खुसी हुन्थें ।’

धेरैले दशैंमा घर बनाउने तथा गाडी खरिद गर्ने काम गर्छन् । त्यसैले पनि लगानीकर्ता तथा सेयरधनीले दशैं अगाडि नै लाभांशको अपेक्षा गर्छन् । अन्य लगानीकर्ताहरू पनि दशैंसम्म लाभांश पाउन सके सन्तुष्ट बन्न सकिने धारणा राख्छन् ।

उसो त लाभांश घोषणा गरेपछि पनि वितरणसम्म लामो प्रक्रिया गर्नुपर्ने हुन्छ । सबै कम्पनीले असोजमा साधारणसभा सम्पन्न गर्न सक्दैनन् । सञ्चालक समितिले लाभांश घोषणा गरेदेखि नियामकले स्वीकृत गर्दासम्म धेरै लामो समय लाग्छ । त्यसपछि साधारणसभा बोलाउनु पर्ने हुन्छ । हालसम्म एक दर्जन सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् ।

वाणिज्य बैंकहरूमा एभरेष्ट बैंकले दशैं अगाडि नै सेयरधनीलाई लाभांश बाँड्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले ३०औं वार्षिक साधारणसभा असोज २० गते बिहान ११ आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा डाकेको छ । बोनस सेयर सूचीकृत हुन समय लाग्ने भएपनि नगद लाभांश भने दोस्रो दिन नै सेयरधनीको खातामा जम्मा गर्ने बैंकले जनाएको छ ।

बैंकको लाभांश प्राप्त गर्न असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ सेयरधनी बन्नुपर्नेछ । किनभने साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै, कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिने जनाएको छ । साधारणसभा आह्वान हालसम्म नगरेपनि यस बैंकका सेयरधनी भने मख्ख बनेका छन् ।

यस्तै, ओरियण्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी २४औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर, काठमाडाैंमा बस्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज २ गते बुक क्लोज तोकेको छ । त्यसैले असोज १ गतेसम्म कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन् ।

यस्तै, माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १३औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन् । कम्पनीको साधारणसभा १४ गते नयाँबजार, काठमाडौंमा बिहान १० बजे बस्नेछ । भदौ ३० गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१औं वार्षिक साधारणसभाले पारित गरेपछि कम्पनीका सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन् । तर, कम्पनीले साधारणसभा भने हालसम्म बोलाएको छैन ।

सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (करसहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश आगामी १०औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । तर, कम्पनीले साधारणसभा भने हालसम्म आह्वान गरेको छैन ।

सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ९३ करोड १७ लाख रुपैयाँको ११ प्रतिशतका दरले १० करोड २४ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २१ गते बिहान १० काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गतेसम्म सेयरधनी बने उक्त बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले गत वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले हालसम्म साधारणसभा भने डाकेको छैन ।

नेपाल ल्यूव आयलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न असोज १८ गते बिहान साढे ११ बजे ललितपुरमा ३३औं वार्षिक साधारणसभा बोलाएको छ । असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

म्युचुअल फण्ड

२१ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्नेछन् ।

ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ का इकाईधनीहरूलाई ५ प्रतिशत, एनआइएमबि एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका इकाईधनीलाई नाफाबाट करसहित ६.३५ प्रतिशत र सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यस्तै, आरबीबी मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशतका दरले ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सानिमा क्यापिटलले गत वर्षको नाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत प्रतिफल अर्थात् नगद लाभांश वितरण गर्ने भएको छ ।

कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट इकाईधनीहरूलाई इकाई पुँजी ६२ करोड ४३ लाख १२ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, नबिल ब्यालेन्स्ड फण्ड २ इकाईधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रतिफल प्रयोजनार्थ असोज ११ गते एकदिनका लागि बुक क्लोज तोक्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.