८७ मेगावाटको लान्द्रुक मोदीमा ६ वटा बैंकले १२ अर्बभन्दा बढी लगानी गर्ने

  २०८१ भदौ ३१ गते १४:२४     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्नेगरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकासका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।

१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोबल आइएमई, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकासद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्राे हाइहेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो ।

उक्त आयोजनाको हेडवक्सदेखि विद्युत गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.