संघीय संसदको चालु अधिवेशन अन्त्य

  २०८१ भदौ ३१ गते १७:४०     विकासन्युज

काठमाडौं । संघीय संसदको दुवै सदनको चालु अधिवेशन सोमबार रातिदेखि अन्त्य हुने भएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौंथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताए ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ,’ राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने ।

सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौंथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए । प्रतिनिधिसभाको चौंथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ ।

जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय छ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताए । यस अवधिमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो ।

यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधिन रहेको सभामुख घिमिरेले बताए ।

त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधिन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रूपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ ।

चालु अधिवेशनमा सांसदहरू गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित रहेका थिए । सांसदहरूको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.