चालु १६औं अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

  २०८१ भदौ ३१ गते १८:०३     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाले चालु १६औं अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।

त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरण समेत भइसकेकका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ छन् ।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ र लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ (अध्यादेश प्रतिस्थापन) रहेका छन् ।

हाल मिडिया काउन्सिल विधेयक २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ ।

नेपाल विश्वविद्यालय विधेयक, २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिबाट प्रमाणिकरण हुने क्रममा छ । सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पनि प्रतिनिधिसभामा पठाइएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले गत वैशाख २८ देखि प्रारम्भ भएको अधिवेशनका क्रममा ४० वटा बैठक बसेको जानकारी दिए ।

यसअवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भयो ।

अधिवेशनकै क्रममा प्रधानमन्त्री/मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक लिखित र आठ मौखिक अधिवेशनका क्रममा जवाफ प्राप्त भएको बैठकलाई जानकारी दिइयो ।

राष्ट्रियसभाले यस अवधिमा हरेक दिन अनिवार्य रूपमा राख्ने शून्य समय कार्यको थालनी गरेको छ । आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.