चाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न देशभरका प्रहरीलाई महानिरीक्षकको निर्देशन

  २०८१ भदौ ३१ गते १९:०६     विकासन्युज

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर । फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन भरपर्दो सुरक्षा रणनीतिका साथ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउ निर्देशन दिएका छन् ।
महानिरीक्षक कुँवरले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी सेवा प्रवाहमा कटिबद्ध हुन पनि देशभरका प्रहरीलाई निर्देशन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयबाट सोमबार भर्चुअल माध्यमद्वारा समसामयिक विषयमा सम्बोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
उक्त भर्चुअल सम्बोधनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गण र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।
सो क्रममा महानिरीक्षक कुँवरले आआफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गर्ने, जनशक्तिको तयारी गर्ने, स्रोतसाधन उपलब्ध गर्ने एवं अन्य सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने बताए ।
विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरे ।
चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उनले निर्देशन दिए । प्रहरी महानिरीक्षक कुँवरले तस्करसँग साठगाँठ कुनै हालतमा स्वीकार्य र क्षम्य नहुने उल्लेख गर्दै चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताए ।
सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उनले बताए । सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारी सहनशील भई आचारण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.