दशैंमा शिक्षकले चार महिनाको तलब पाउँदै, साढे ६ अर्ब बोनस निकासा

  २०८१ असोज १ गते १४:५०     इन्द्रसरा खड्का

काठमाडौं । विभिन्न विद्यालयका शिक्षकहरूले दशैंमा चार महिनाको तलब पाउने भएका छन् । सामुदायिक विद्यालयमा काम गर्ने स्थायी शिक्षकहरूले साउन, भदौ र असोजसहित एक महिनाको दशैं खर्चबापत कुल चार महिनाको तलब एकै पटक पाउने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको दशैं खर्च तथा बोनसका लागि बजेट निकासा भइसकेको बताएको छ । केन्द्रका बजेट शाखाका अर्जुन ढकालले शिक्षकको दशैं खर्चका लागि बजेट निकासा भइसकेको जानकारी दिए । उनका अनुसार शिक्षकहरूले एक महिनाको तलब बराबरको दशैं खर्च पाउने गरी ६ अर्ब ५० करोड रुपैयाँ निकासा भइसकेको छ ।

‘हामीले प्रत्येक वर्ष शिक्षकहरूलाई दशैं खर्चबापत एक महिनाको तलब बराबरको दशैं खर्च प्रदान गर्दै आएका छौं, यस पटक पनि बजेट निकासा भइसकेको छ । सम्बन्धित पालिकालाई बजेट दिइसकेका छौं, अब पालिकाले दशैंको मुखमा शिक्षकलाई तीन महिनाको तलब र दशैं खर्चसँगै दिन्छन् होला,’ बजेट शाखाका ढकालले विकासन्युजसँग भने ।

उनले ६ अर्ब ५० करोड रुपैयाँ १ लाख ५८ हजार दरबन्दीका शिक्षकका लागि रहेको पनि जानकारी दिए ।

विगतमा मासिक तलब नपाउँदाको गुनासो गर्ने शिक्षकहरू दशैंमा एकै पटक चार महिनाको तलब बराबरको रकम पाउने भएपछि खुसी छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०८०/०८१ बजेट वक्तव्यअनुसार नेपालमा सबै प्रकारका विद्यालयमा २ लाख ८६ हजार ८८ शिक्षक कार्यरत छन् । जसमा ४२.२ प्रतिशत महिला र ५७.८ प्रतिशत पुरुष रहेका छन् ।

मासिक रूपमा तलब नपाउँदा समस्या

लामो समयदेखि शिक्षकहरुले त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् । यसले समस्या भइरहेको गुनासो पनि उनीहरूको छ । तर, सरकारले उनीहरूको समस्या सम्बोधन गर्ने प्रयत्न हालसम्म गर्न सकेको छैन ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यामिक विद्यालयका प्राचार्य हेरम्बराज कडेँल मासिक रूपमा तलब नपाउँदा शिक्षकलाई समस्या भएको बताउँछन् । विशेषगरी कोठा भाडामा लिएर बसेका शिक्षकलाई अझ यसको असर बढी रहेको उनले बताए ।

‘हुन त काठमाडौंमै घर भएकालाई पनि नियमित तलब नपाउँदा समस्या छ, भाडामा बसेर परिवार पाल्नुपर्ने साथीहरूलाई बढी समस्या छ,’ प्राचार्य कँडेल भन्छन्, ‘पहिले तलब पाउन चार महिना कुर्नुपर्थ्याे, अहिले तीन महिना कुर्नुपर्छ । महानगरले मासिक रूपमा दिन्छौं भनेपनि अहिलेसम्म दिन सकेको छैन ।’

काठमाडौं महानगरले पनि दशैं खर्चसहित तीन महिनाको तलब दशैंअघि एकै पटक दिने जानकारी आफूहरूलाई आएको उनको भनाइ छ ।

‘ऋण तिर्न ठीक्क हुन्छ’

शिक्षकहरू एकै पटक तलब आएपनि ऋण तिर्नै ठीक्क हुने बताउँछन् । अछामको मेल्लेख गाउँपालिका ६ कोलडाँडा आधाभूत विद्यालयका शिक्षक हीरासिंह खड्का दशैंमा आएको पैसा ऋण तिर्नै ठीक्क हुने बताउँछन् ।

‘छोराछोरी पढाउनै पर्‍यो, परिवार पाल्नै पर्‍याे । पैसा भने मासिक रूपमै चाहिन्छ, तलब त्रैमासिक रूपमा आउँछ,’ उनी भन्छन्, ‘थोरै भएपनि समयमै आउँदा सहज हुन्थ्यो । तीन/चार महिनामा एक पटक आउँदा न पैसा बच्छ, न गर्न खोजेका काम हुन्छ ।’

अन्य शिक्षकहरूले पनि यस्तै गुनासो गरेका छन् । सरकारले मासिक रुपमा तलब दिनसकेमा आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ ।

अधिकार स्थानीय तहलाई, नियन्त्रण आफ्नै

देश संघीयतामा गइसकेपछि राज्यले दिने सेवा सुविधा पनि विभाजन भएको छ । अहिले शिक्षा र स्वास्थ्यलगायतका धेरैजसो अधिकार स्थानीय तहले पाएको छ । तर, अधिकार प्रयोगमा तीनवटै तहको लडाइँ जारी छ । जसको प्रत्यक्ष मारमा नागरिक परेका छन् ।

अधिकार बाँडिएपनि कुन जिम्मेवारी कुन निकायको हुने भन्ने स्पष्ट छैन । पहिले शिक्षा मन्त्रालयले शिक्षकलाई चौमासिक रूपमा तलब उपलब्ध गराउँदै आएको थियो । अहिले त्रैमासिक रूपमा शिक्षकले तलब पाउँदै आएका छन् । हाल कक्षा १ देखि १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयको अधिकार स्थानीय तह अन्तर्गत छ । विद्यालयको निगरानीदेखि हरेक जिम्मेवारी पालिकामा छ । तर, संघले अधिकार दिएपनि नियन्त्रण भने आफ्नै राखेको पालिकाको आरोप छ ।

‘हामीलाई अधिकार दियो भनियो । तर, अधिकार दिएको छैन, अझै शिक्षकलाई तलब खुवाउनदेखि हरेक काम गर्न केन्द्रलाई कुर्नपर्छ,’ अछामको मेल्लेख गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्का भन्छन्, ‘शिक्षकलाई दिने तलबको कुरामात्र होइन, हरेक कुरामा यस्तै छ, अधिकार दियो भनियो तर दिएको छैन । जसले गर्दा शिक्षकले आफनो तलब पाउन पनि तीन÷चार महिना कुर्नुपर्छ ।’

मासिक रूपमा तलब दिने प्रयास

ताप्लेजुङको फुङलिङ नगरपालिकाले यो आर्थिक वर्षदेखि मासिक रूपमा तलब दिनेगरी काम भइरहेको बताएको छ । पालिकाको शिक्षा तथा युवा शाखा प्रमुख प्रकाश पौडेलले विगतमा तीन/चार महिनाको तलब एकै पटक दिने अभ्यास भएपनि अबदेखि मासिक प्रदान गर्नेगरी तयारी भइरहेको बताएका छन् ।

उनले चालु आर्थिक वर्षको सुरुको साउन, भदौ र असोजको तलब दशैंमा एकैचोटि दिने र त्यसपछिमात्र मासिक रूपमा दिने तयारी गरिरहेको उनले जानकारी दिए ।

युवा शाखा प्रमुख पाैडेलले भने, ‘शिक्षकहरूका लागि संघले नै बजेट पठाएको हुन्छ, हामीले निकासा गरी दिनेमात्र हो । अबदेखि शिक्षकले तलब पाउन दुई/तीन महिना कुर्न पर्दैन । दशैंपश्चात मासिक रूपमा नै तलब दिनेगरी तयारी भइरहेको छ । ’

रुकुम-पश्चिमको मुसीकोट नगरपालिकाले पनि असोजपछि मासिक रूपमा तलब दिने जानकारी दिएको छ । पालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत बिनाराम खड्काले शिक्षा मन्त्रालयले नै शिक्षकहरूका लागि त्रैमासिक रूपमा रकम पठाउने भएकाले त्यहीअनुसार पालिकाले दिइरहेको बताए ।

‘हामीले अब मासिक रूपमै तलब दिने तयारी गरिरहेका छौं,’ उनले भने, ‘यो पटक कोष तथा लेखा नियन्त्रण कार्यालय, महालेखा परीक्षण कार्यालयबाट फुकुवा ढिलो हुँदा दशैंअगाडि शिक्षकलाई बोनससहित चार महिनाको तलब उपलब्ध गराउँदैछौं । त्यसपछि भने मासिक रूपमै तलब खुवाउनेगरी तयारी अगाडि बढाइरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.