२०८१ असोज १ गते ११:३३ विकासन्युज
काठमाडौं । नेपाल सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।
शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ । दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् ।
राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।
२०८० सालको कक्षा १२ को नतिजा मूल्यांकनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइनेछ ।
राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्डसहित क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार दिइने छ ।
साथै, प्रमाणपत्र पनि वितरण गरिनेछ ।
प्राविधिक शिक्षालयलाई पनि पुरस्कृत गरिने भएकाे छ । प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षालयलाई पुरस्कृत गरिने भएकाे हाे ।
परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा विभिन्न चारवटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालयअन्तर्गत आङ्गिक¸ सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीनवटा क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक १५ जनालाई प्रदान गरिनेछ ।
यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा शिक्षालाई ज्ञानमा आधारित, विज्ञानमैत्री, सिप विकासमा केन्द्रित, उद्यमशीलता प्रवर्द्धन गर्ने र मौलिकतालाई जोगाउनेतर्फ उन्मुख गर्ने, शिक्षा प्रणालीले शिक्षालाई समयानुकूल बनाउने र २१औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.