अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

  २०८१ असोज १ गते १३:४१     डा. विभूतिनाथ मिश्र

दूरबिनपद्धतिबाट विभिन्न जोर्नीहरूको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हाे- अर्थोस्कोपी सर्जरी । सानो-सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थोस्कोपी भनिन्छ । यो अङग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दूरबिनकाे सहाराले हेर्नु, त्यसैले क्यामेरा वा दूरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई अर्थाेस्कोपी प्रविधि भनिन्छ ।

प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को गरिन्छ । अर्थोस्काेपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरू जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नीभित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्री भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरू च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दूरबिन पद्धतिलाई अर्थाेस्काेपी सर्जरी भनिन्छ । घुँडाको अर्थाेस्काेपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन ।

ढाडमा सुई (स्पाइनल एनेस्थेसिया) दिइ खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । र कतिपय बिरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् ।

यो च्यात्तिएको लिगामेन्ट वा नशालाई सानो प्वाल पारेर दूरबिनको माध्यमबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै बिरामीहरू खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट सुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका वाधा अवरोध पार गरेको हो ।

यसका उपकरणहरू तुलनात्मक रूपमा महंगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिलामात्र यो सर्जरीले विकसित रूप लिएको हो । ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरीपश्चात दुखाई पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ भएर फर्किने गरेका छन् ।

 

डा. विभूतिनाथ मिश्र

यो सर्जरीपश्चात फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय याे सर्जरी गर्ने बिरामीको संख्या बढेको छ । पटक-पटक कुम खुस्कने तथा कुमका अनेक समस्या भएका बिरामीहरू पनि यो सर्जरीबाट लाभान्वित भएका छन् ।

अर्थोस्कोपी सर्जरी गरेका बिरामीहरू नौ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्ट्समा फर्केका उदाहरणहरू धेरै मात्रामा छन् । नेपालमा यो सर्जरी एक दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रूप लिएको छ । घुँडाको लिगामेन्ट च्यात्तिएका कतिपय बिरामीहरूले वास्ता नगरी बस्दा भविष्यमा घुँडा चाँडै नै बिग्रने, घुँडा खिइने तथा पछि दुखाई लिएर बस्नुपर्ने हुन्छ । यस्ता बिरामीले समयमै उपचार गर्दा घुँडा बिग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ ।

तुलनात्मक रूपमा विदेशभन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको अर्थोस्कोपी सर्जरी गरिन्छ ।

(डा. मिश्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ अर्थोस्कोपी सर्जन हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.