संघ, स्थानीय र सहकारीको संयुक्त लगानीमा शीत भण्डार सञ्चालन, ३ हजार मेट्रिक टन क्षमता

  २०८१ असोज १ गते १३:५०     विकासन्युज

नवलपरासी- (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् ।

डेढ बिघा जग्गामा पाँचवटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँचवटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ ।

त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए ।

उनका अनुसार जिल्ला सहकारी संघ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ ।

शीतभण्डारको पाँचवटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।

पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो ।

हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.