निजी क्षेत्र निरन्तर निगरानीमा छ, सबै चनाखो हुनु जरुरी छ : अध्यक्ष ढकाल

  २०८१ असोज १ गते १९:१९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएकाे बताएका छन् ।

महासंघका अध्यक्ष ढकालले  आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उनले  खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएकाे बताएका हुन् ।

उनले भने, ‘हामीहरू खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौं । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौं । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मूल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो ।’

अध्यक्ष ढकालले खुला बजार अर्थव्यवस्थामा सरकार सहजकर्ताकाे भूमिकामा रहने बताए ।

उनले भने, ‘खुला बजार अर्थव्यवस्थामा उद्यमीको प्रवेश सहजै हुन्छ र असफल भएर बर्हिगमन पनि सहज हुन्छ । त्यहाँ सरकार सहजकर्ताको भूमिकामा रहन्छ र गल्ती भए सर्वमान्य न्यायको सिद्धान्त अनुरूप सजाय हुन्छ ।’

उनले निजी क्षेत्र निरन्तर निगरानीमा परेकाे बताए ।

उनले भने, ‘हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् । लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढ्न सकेको छैन र रकम बैंकिङ माध्यममा थन्किएको छ ।’

अध्यक्ष ढकालले कार्यभार सम्हाल्दै गर्दादेखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन आग्रह गरेकाे बताए ।

उनले निर्यातमा नियन्त्रण नगर्न, ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगर्न पटकपटक माग राखे पनि सुनुवाइ नभएकाे गुनासाे गरे ।

उनका अनुसार अहिले वित्तीय क्षेत्रमा निकै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ ।

अध्यक्ष ढकालले ऋण प्रवाह बढ्न नसकेको पनि बताए ।

उनले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले निजी क्षेत्रलाई हेर्नेगरी आएकाे विधेयकलाई लिएर चनाखाे हुनुपर्नेमा सबैलाई सचेत गराए ।

उनले भने,’ हामीले कार्यकाल सुरु गरेलगत्तै अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुनेगरी नै छलफल भैरहेको छ । अब उप समितिको राय के आउँछ ? यसमा हामी सबै चनाखो हुनुपर्छ ।’

अध्यक्ष ढकालले कानुन जस्ताकाे त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुने बताए।

उनले नेपालकाे बैंकिङ क्षेत्र व्यवस्थित भएकाे पनि बताए ।

उनले भने, ‘नेपालको बैंकिङ क्षेत्र व्यवस्थित छ । नियमन र सुपरीवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गरौं तर लगानीकलाई निषेध र नियन्त्रण नगरौं ।’

अध्यक्ष ढकालले आउँदै गरेको दशैंतिहार, नेपाल सम्वत एवं छठलगायतका सम्पूर्ण चाडवाडको शुभकामना पनि व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.