दशैं-तिहार अफर: बाइक किन्दा सतप्रतिशत क्यास ब्याकदेखि १० लाख जित्ने अवसर

  २०८१ असोज २ गते १०:३८     विकासन्युज

काठमाडौं । चाडपर्वलाई लक्षित गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीहरूले दशैं तथा तिहार अफरहरू सार्वजनिक गरेका हुन् ।

कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको अफरदेखि लाखौं रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्ताे अफर ?

केटीएम ड्युक

केटीएम नेपालले दशैं तथा तिहारको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ। कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई सूरक्षित गराउँछ । यस्तै, कम्पनीले पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने जनाएको छ ।

हिरो

चाडपर्वको अवसरमा हिरो ब्राण्डको मोटरसाइकल तथा स्कुटर खरिदमा गर्दा ५ लाख रुपैयाँसम्म जित्न सकिने नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले जनाएको छ । स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्म पक्का नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै बम्पर उपहारमा नेटा ईभी कार पनि जित्न सकिनेछ । यसका साथै हिरोको जुनसकै बाइक तथा स्कुटर खरिद गर्दा ८ हजार देखि ५ लाख रुपैयाँसम्म छुट पनि पाउन सकिने कम्पनीले उल्लेख गरेको छ । 

यामाहा

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले बिगेस्ट १०औं नामक स्कीम ल्याएको छ । चाडपर्वलक्षित ल्याइएको उक्त स्कीमअन्तर्गत १० लाख रुपैयाँसम्मको हालखाली नजाने स्योरशट क्याशब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

यसका साथै यामाहाको बाइक तथा स्कुट खरिदका गर्न शून्य प्रतिशत ब्याजदरमा ग्राहकले कर्जा सुविधा पाउने पनि कम्पनीले जनाएको छ ।

सीएफमोटो र जिहो

नेपालका लागि सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा उक्त ब्राण्डहरूको मोटरसाइकल तथा स्कुटर किन्दा छुटसहित विभिन्न सुविधा पाइने कम्पनीले जनाएको छ ।

सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्री एसेसरिज पाउन सकिने छ । त्यसैगरी, हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ ।

जिहो ब्राण्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी, एई ४ मा १५ हजार रुपैयाँ र एई ८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ ।

यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

यो अफर असोज १ देखि आगामी कात्तिक २५ गतेसम्म लागू हुनेछ ।

 

होन्डा:

होन्डा दुईपांग्रे सवारीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ ।
साथै ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने छ ।

होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएके छ ।

सुजुकी

नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले दशैं-तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने छ ।

कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

बजाज

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । योजना अन्तर्गत बजाजको हरेक बाइक खरिदमा स्योरसट रूपमा १ लाख रूपैयाँसम्म क्यास जित्न सकिने छ ।

यस्तै, साप्ताहिक-ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनसक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् ।

टीभीएस

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको छ । साथै, पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.