सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म

  २०८१ असोज २ गते ११:५५     सन्तोष रोकाया

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले सोमबार छानबिन प्रतिवेदन संसदमा पेस गर्दै सहकारीमा सबै ‘फेक’ अर्थात् झुटा रहेको धारणा राखे ।

‘उनले संसदको रोष्टमबाट बोल्दै भने, ‘सहकारीमा विवाह, सम्बन्ध विच्छेद, अंशबण्डा, साधारणसभा, वित्तीय प्रतिवेदन, सेयर सदस्य, ऋणी, बैंक खाता र आश्वासनहरू सबै फेक देखिए ।’

तीन महिना १५ दिनको अवधिमा सहकारीसँग सम्बन्धित ४५१ व्यक्ति तथा विज्ञहरूसँगको छलफल र १४ वटा सहकारीको बचत ठगीको विषयमा ४७ जना आरोपितहरूको बयान लिँदा उनले सो निष्कर्ष निकाले ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन नभई पैसाका लागि जेजति र जस्तो पनि हर्कत भइरहेको र सम्बन्ध विच्छेद पनि पैसाकै लागि भइरहेको विषय आफ्नो छानबिनबाट खुलेको उनकाे भनाइ थियो ।

सभापति थापाले भनेजस्तै विकासन्युजले २०८० साउन २२ गते ‘सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी विच्छेद’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि पनि धेरै सहकारी सञ्चालकले पैसाका लागि र कानूनी कारबाहीबाट बच्नका लागि नक्क्ली डिभोर्स गरेका छन् । आज हामीले पैसाका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेका भीआईपी सहकारी सञ्चालक तथा सहकारीको ठगीसँग सम्बन्धित व्यक्तिको चर्चा गरेका छौं ।

कानूनी रूपमा बच्नका लागि आफ्नो सम्पत्ति श्रीमतीको नाममा नामसारी गरेर श्रीमतीसँग सम्बन्ध विच्छेदको कागजी नाटक गर्ने सुरुवाती सहकारी सञ्चालक हुन् सुधीर बस्नेत । सहकारी क्षेत्रमा सुधीरले रोपको बीउ अहिले सर्वत्र छाएको छ । त्यो बोट अहिले चौतर्फी फैलिएको छ । जसले सहकारी ठगीको विषयलाई थप रहस्यमयी र जटिल बनाएको छ ।

सहकारी क्षेत्रमा महत्त्वाकांक्षा पालेर फसेका व्यवसायी हुन् ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत । उनी सहकारीका सदस्यबाट पैसा उठाएर घरजग्गामा लगानी गर्थे । पछि घरजग्गामा मन्दी आएपछि उनी समस्यामा परे । र, श्रीमतीसँग सम्बन्ध विच्छेदको कागजी नाटक गरे ।

बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेतमाथि लाग्यो । सदस्यहरूको पैसा फिर्ता गर्न नसकेपछि उनले श्रीमती नितु थापा बस्नेतसँग सम्बन्ध विच्छेद गरे । त्यसको पुष्टि उनकै श्रीमती नितुले गरेकी थिइन् । नितुले सुधिरसँग सम्बन्ध विच्छेद भएको भन्दै आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन पनि दिएकी थिइन् । सुधीरले अहिले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् ।

यस्तै, हाल जेलमा बास रहेका सहकारी सञ्चालक इच्छाराज तामाङले पनि सुधीरकै सिको गरेर श्रीमतीसँग कागजी डिभोर्स गरे । सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्वअध्यक्ष रहेका तामाङले पनि सहकारी ठगीबाट बच्नका लागि श्रीमती र छोरीहरूको नाममा सम्पत्ति नामसारी गरेर अन्ततः श्रीमती सिर्जना शाक्य तामाङसँग सम्बन्ध विच्छेद गरे ।

उनले सहकारीको ठगीको विषयबाट बच्न धेरै प्रयत्न गरे । तर, उनी उम्किन सकेनन् । अहिले उनी श्रीमती सिर्जनासँगै जेलमा छन् । उनले श्रीमतीसँग डिभोर्स गरेर नै तत्कालीन सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानूनी व्यवस्था भएपनि उनले सम्बन्ध विच्छेद गरेर सो सेयर बिक्री गरेका थिए । उनीमाथि अहिले दुई हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ बचत ठगीको आरोप छ ।

सुधीर र इच्छाराजकै जस्तो सम्बन्ध विच्छेदको नाटक गर्ने अर्का पात्र हुन् भरत महर्जन । भरतको नायकीको समर्थनमा उत्रिइन् उनी श्रीमती राजमाया महर्जन पनि । सुमेरु सहकारीका सदस्यहरुको पैसा ठगेको आरोप उनीमाथि छ । दुई दशकअघिसम्म सामान्य मान्छे व्यवसायी रहेका उनी अर्बपति नै भनेर चिनिन्थे । उनले असाधारण व्यावसायिक साम्राज्य खडा गरेका थिए ।

उनी निकट व्यवसायीहरूका अनुसार उनले तीन वर्षअघि नै श्रीमती राजमायासँग सम्बन्ध बिच्छेद गरेका थिए । हाल उनी सम्बन्ध विच्छेद गरेको श्रीमतीसहित स–परिवार बेलायत रहेको चर्चा छ । उनीमाथि बचतकर्ताको १० अर्ब बढी ठगेको आरोप छ ।

यस्तै, श्रीमती गीता शर्मासँगै जेलमा रहेका केदारनाथ शर्माले पनि कानूनी रूपमा बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको खुलेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष शर्माले सम्पत्ति श्रीमतीको नाममा नामसारी गरेर कागजी सम्बन्ध विच्छेद गरेको खुलेको हो । केदारनाथले शिवशिखर र तुलसी सहकारीका ३२ हजार ६१२ बचतकर्ताबाट साढे ९ अर्ब रुपैयाँ ठगेको आरोप छ ।

सहकारीका बचतकर्ताको बचत ठगेर अनेक सम्पत्ति जुटाउने र अन्तिममा सो सम्पत्ति श्रीमती जुनी श्रेष्ठको नाममा नामसारी गरेर सम्बन्ध विच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन् चन्द्रबहादुर (सीबी) लामा । उनीमाथि पनि कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सकारीको बचत अपनल गरेको आरोप छ । अहिले सीबी पनि जेलमै छन् ।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताको बचत ठगेर कानूनी रूपमा बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको खुलेको छ । उनले सहकारीबाट अपचलन गरेको पैसाबाट जोडेको सम्पत्ति श्रीमती पूजा खत्रीको नाममा सारेर पछि कागजी सम्बन्ध विच्छेद गरेको खुलेको हो । अहिले रवीन्द्र र पूजा दुवै पुर्पक्षका लागि थुनामा छन् ।

सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेर प्रहरीले हालै पक्राउ गरेका लालीगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले श्रीमती पार्वती बस्नेतसँग सम्बन्ध विच्छेद गरेको खुलेको छ । उनी पनि अहिले पुर्पक्षका लागि थुनामा छन् ।

यस्तै, हाल विदेश फरार भएका सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईले पनि श्रीमती निशा बमजनसँग सम्बन्ध विच्छेद गरेको बुझिएको छ । उनले पनि विभिन्न सहकारीका बचतकर्ताको अरबौं बचत अपचलन गरेको आरोप छ । गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ श्रीमती जेनी महर्जन श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेको बुझिएको छ । उनलाई पनि अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि सहकारी ठगीको प्रकरणमा जोडिएका छन् । उनले श्रीमती ज्योति गुरुङसँगको मिलेमतोमा ललितपुरमा रहेको मितेरी सहकारीको १५ करोड रुपैयाँ ठगेको आरोप छ । तर, उनले श्रीमती ज्योतिसँग चार वर्ष अगाडि नै सम्बन्ध विच्छेद गरिसकेकोले आफ्नो सो ऋणमा कुनै सरोकार नभएको बताउँदै आएका छन् । यद्यपि, उनले सहकारी ठगीबाट बच्नका लागि श्रीमतीसँग कागजी सम्बन्ध विच्छेद गरेको र ऋणको किस्ता दुई महिनाअघिसम्म तिरिरहेको विषय चर्चामा आएको छ । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरू सम्बन्ध विच्छेद एउटा नाटक मात्रै भएको धारणा राखेका छन् ।

यी केही भीआईपी सहकारी सञ्चालक हुन् । जसले कानूनी रूपमा बच्नका लागि श्रीमतीबाट कागजीरूपमा अलग हुने निर्णय गरे । पछिल्लो समय सहकारी क्षेत्रमा फेक डिभोर्सको सुरुवा रोगको रूपमा फैलिएको छ । सुरुमा पैसा कमाउनका लागि जस्तोसुकै हर्कत पनि गर्ने र अन्ततः श्रीमतीको नाममा सम्पत्ति नामसारी गरेर कागजी सम्बन्ध विच्छेद गर्ने प्रवृति व्याप्त छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी सहकारी क्षेत्रमा नक्कली सम्बन्ध विच्छेदको विषय ठूलो समस्याका रूपमा देखा परेको बताउँछन् । उनका अनुसार श्रीमान र श्रीमतीबीच नियमवस र मिलेमतोमै सम्बन्ध विच्छेद हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.