यी हुन् राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी

  २०८१ असोज २ गते १८:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको छ ।

साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेकाे थियाे ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् ।

नेपालका उत्कृष्ट क्याम्पस

सरकारले देशभरका उत्कृष्ट क्याम्पस छनोट गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा छनोट गरिएका तीनवटा क्याम्पस उत्कृष्ट ठहर्दै पुरष्कृत गरेको छ ।

पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस क्याम्पस, कास्की, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनभावना क्याम्पस, ललितपुर र विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी क्याम्पसहरूमध्ये  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज, सोल्टीमोड उत्कृष्ट भएका छन् । राष्ट्रिय स्तरमा उत्कृष्ट भएको क्याम्पसलाई २ लाख ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय

सरकारले देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय छनोट गरी पुरष्कृत गरेको छ । स्कुललाई २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालयलाई छनोट गरिएको हो ।

जसमा दाङको तुलसीपुरमा रहेको श्री मा.वि. प्रथम, काठमाडौंको विश्व निकेतन मावि द्वितीय भएको छ भने दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालय तृतीय बनेका छन् ।

प्रथम भएको विद्यालयलाई शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र, द्वितीयलाई शिल्ड, ध्वजा र दुई लाख नगदसहित प्रमाणपत्र र तृतीयलाई शिल्ड, ध्वजा  र एक लाख नगदसहित प्रमाणपत्र दिइएको छ ।

उत्कृष्ट निजी विद्यालय

सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका- १५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुल भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र दिइएको  छ ।

उत्कृष्ट प्राविधिक शिक्षालय

प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएको छ । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भर्‍याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् ।

ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट गरिएको हो । सबै शिक्षालयलाई एक लाख रकमसहित प्रमाणपत्र दिइएको छ ।

यस्तै, समाजमा रहेका बालबालिकालाई शिक्षा दिने संस्थालाई पनि पुरष्कृत गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालवालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरिरहेको काठमाडौंको मनोहरामा रहेको ‘युवा क्रियाकलाप उत्थान केन्द्र’ र ललितपुरको सी आशा फाउण्डेशनलाई सरकारले दुई लाख नगदसहित प्रमाणपत्र दिइएको  छ ।

उत्कृष्ट शिक्षक कर्मचारी

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारी पनि सम्मान भएका छन् । जसमा विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी ५ जना, सार्वजनिक विद्यालयका ७४ जना, निजी लगानीका ३२ जना, विद्यालय ववस्थापन समिति, बालविकास सहजकर्ता ३५ जना रहेका छन् ।

तीन सय विद्यार्थी विभूषित

आज तीन सय विद्यार्थीलाई नेपाल विद्याभूषणबाट विभूषित गरिने भएकाे  छ । उच्च शिक्षातर्फ करिब तीन सय जना विद्यार्थी विभूषित गरिएको छ । जसमा नेपाल विद्याभूषण ‘क’ २ सय ६४ जना, नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रापदक ‘क’ १५ जनालाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.