अपांगता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपालमा

  २०८१ असोज २ गते १५:४२     विकासन्युज

काठमाडौं । अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए ।

सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ ।

बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।

अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

‘हामीले कतिपय स्थानमा अपांगता मैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगतामैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं, जसले नेपाल सवलांगका लागि मात्र नभइ अपांगताहरूका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ,’ उनले भने ।

विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

‘नेपाल प्रकृतिको अनुपम उपहार हो, यो देश साँच्चिकै सुन्दर छ, यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ, विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका अपांगता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन्, यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ,’ उनले भने ।

नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए ।

‘इच्छा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो, जुन इच्छा शक्ति र आत्मविश्वासले तपाईंहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित गर्यो, यसले अपांगता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ,’ उनले भने ।

इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.