बिहान नगर्नुस् यी ५ गल्ती, कलेजोदेखि मधुमेहसम्मको हुन सक्छ समस्या

  २०८१ असोज २ गते १७:४१     विकासन्युज

काठमाडौं । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो । जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरबाट विषाक्त तत्वहरू बाहिर निकाल्नुका साथै यसले रगतलाई शुद्ध पार्छ र शरीरका विभिन्न कार्य सुचारू रूपमा सञ्चालन गर्न मद्दत गर्छ ।

तर, हामीले आफ्नो दिनचर्यामा केही गल्ती गर्‍याैं भने कलेजोका लागि खतरनाक साबित हुन सक्छ । विशेषगरी बिहानको समयमा गरिने खराब बानीले कलेजोलाई हानि पुर्‍याउँछ । कलेजो बिग्रियो भने मधुमेहजस्ता गम्भीर रोगको जोखिम पनि बढ्न सक्छ । आउनूहोस् बिहान उठेर हामीले के गर्नु हुँदैन भन्ने बारेमा छाेटकरीमा छलफल गराैं । हामीले आज मानिसले बिहान गर्ने गल्तीको विषयमा चर्चा गर्दैछौं ।

१. बिहान पानी पिएर दिनको सुरुवात नगर्नू

पानी स्वास्थ्यका लागि कति आवश्यक छ, यो सबैलाई थाहा भएको कुरा हो । तर, पानी कतिबेला कसरी पिउने भन्ने धेरैलाई थाहा छैन । बिहान उठ्ने बित्तिकै सबभन्दा पहिले पानी पिउनु अति आवश्यक छ ।

तर, धेरैले यो बानीलाई बेवास्ता गर्छन् । जुन कलेजोका लागि खतरनाक हुन्छ । रातभर सुत्दा शरीरमा डिहाइड्रेसन हुन्छ । बिहान उठ्ने बित्तिकै पानी पिउँदा शरीरमा पानीको कमी पूर्ति हुन्छ । पानी पिउनाले कलेजोबाट विषाक्त तत्वहरू बाहिर निकाल्छ र शरीरलाई डिटक्सिफाइ गर्न मद्दत गर्छ । यदि तपाईंले पानी नपिएर दिनको सुरुवात गर्नुहुन्छ भने यसले कलेजोमा प्रत्यक्ष असर पार्छ ।

२. बिहानै खाली पेटमा चिल्लो पदार्थ खानु

धेरै मानिस बिहानको खाजामा तारेको खानेकुरा खान मन पराउँछन् । चिल्लो पदार्थको सेवनले पाचन प्रणालीलाई मात्र नभइ कलेजोलाई पनि असर गर्छ । चिल्लो खानेकुराले कलेजोमा बोसो जम्मा गर्छ, जसले फ्याटी लिभर रोगको जोखिम बढाउँछ । यसले कलेजोको सामान्य कार्यमा बाधा पुर्‍याउन सक्छ र लामो समयसम्म बेवास्ता गरेमा मधुमेहजस्ता रोग लाग्न सक्छ ।

३. व्यायाम नगर्नू

बिहान उठ्नेबित्तिकै थोरै भए पनि शारीरिक व्यायाम गर्नुपर्छ । व्यायाम शरीरका लागि मात्र होइन, कलेजोका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरमा रक्तसञ्चार सुधार गर्नुका साथै कलेजोको काममा सुधार गर्छ । जसले दिनभरि बस्ने र बिहान व्यायाम नगर्ने गर्छन् त्यस्ता व्यक्तिको कलेजोमा नकारात्मक असर पर्न सक्छ । जसका कारण कलेजो बिस्तारै कमजोर हुँदै जान्छ र भविष्यमा यसले गम्भीर रोग निम्त्याउँछ ।

४. बचेको खाना बिहान खानु

धेरैले बिहानै रातिदेखि बाँकी रहेको खाना खाने गर्छन् । तर,यो बानी राम्रो होइन । यसले कलेजोलाई हानि पुर्‍याउँछ । बासी खानाले कलेजोमा थप दबाब दिन्छ, किनभने कलेजोले शरीरमा रहेको ब्याक्टेरिया र विषाक्त पदार्थलाई बाहिर निकाल्नको लागि धेरै मेहनत गर्नुपर्छ । यसले कलेजोको कामलाई कमजोर बनाउँछ ।

५. बिहान उठ्ने बित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु

बिहान उठ्नेबित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु राम्रो होइन । यसले कलेजोको कोशिकालाई नोक्सान पुर्‍याउँछ । जसका कारण कलेजोको काम बिग्रन सक्छ । यसलाई समयमै रोकिएन भने कलेजो सिरोसिस वा क्यान्सरको जोखिम हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.