२५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, दुई महिनामै थपियो १ खर्ब

  २०८१ असोज २ गते १८:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वार्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ ।

यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो ।

समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ ।

लक्ष्यको १९.०२ प्रतिशत परिचालन

नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ ।

आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी

सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ ।

सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ ।

यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.