काम गरेर देखाउने बाहेकको एजेण्डा छैन : प्रधानमन्त्री

  २०८१ असोज ३ गते ११:३४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पारे । विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताए । विकासको लागि स्थायित्व अनिवार्य रहेको जानकारी दिए ।

उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पारे । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट गर्न सकिने बताए । संशोधन प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने जानकारी दिए ।

‘सुशासन कायम त हामी गर्छौं, गर्छौं । तर याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ’, उनले भने ।

प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताए । समाजमा आगो लगाउँछु भन्नेहरूबाट युवा पस्ताले आफूभित्रको केही गरौँ भन्ने आगोलाई बचाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.