२०८१ असोज ३ गते १३:१४ विकासन्युज
काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो ।
सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै कम्पनीको अबको रणनीतिकाे बारेमा जानकारी दिए ।
युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दीपेन्द्रकुमार मिश्रले भिडोललाई नेपाली ग्राहकका बीच पुर्याउन डिलरहरूको महत्त्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरे ।
युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यको योजना वारेमा प्रस्तुतिकरण गरेका थिए ।
सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रलाई हस्तान्तरण गरे ।
सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत ९ वर्ष देखि कार्यरत रहेर लामो समयसम्म सेवा गरेकोमा जनरल म्यानेजर खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।
अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन सुरु भएको छ । गत शनिबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर वासुले उद्योगको उद्घाटन गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए ।
दैनिक रूपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइलकाे दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै सुरु हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहले बताए ।
विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । भिडोल लुब्रिकेन्ट ७५ भन्दा बढी देशमा बिक्री हुँदै आएकाे छ ।
भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका-३ लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उद्योग स्थापना गरेको छ । १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रूपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।
भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारीसाधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.