अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण गरिने

  २०८१ असोज ३ गते १५:४६     विकासन्युज

बायाँबाट क्रमश: उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेल र स्वास्थ्यमन्त्री प्रदीप पाैडेल

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ ।

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्नेगरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए ।

बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो।

२०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.