एनसेल फाउन्डेसनले गर्‍यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान

  २०८१ असोज ३ गते १८:५७     विकासन्युज

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई सम्मान गरेकाे हाे ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।

पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएकाे छ ।

पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

पारा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।

सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ ।

पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो ।

एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.