२०८१ असोज ४ गते १०:२८ विकासन्युज
सुनिल केसी बैंकिङ क्षेत्रमा परिचित नाम हो । वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्ष बनेर काम गरिरहेका केसी एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । केसी एनबीएको अध्यक्ष भएकै समयमा बैंकिङ क्षेत्रले ठूलो सकस भोगिरहेको छ । विशेषगरी कोरोना महामारीपछि सिर्जित मन्दीको चपेटामा बैंकिङ क्षेत्र पनि पर्याे । अहिले बैंकिङ क्षेत्रले खासै राम्रो पफर्मेन्स गर्न सकिरहेको छैन भने सेयरधनीहरूले पनि अपेक्षाअनुसारको प्रतिफल पाउन सकेका छैनन् । ऋणीले ऋणको माग नगर्दा बैंकरहरू ग्राहक खोज्न घरमै जानुपर्ने स्थितिको सिर्जना भएको छ । यो परिस्थितिमा बैंकरले के कसरी काम गरिरहेका छन् ? बैंकिङ क्षेत्रको यो सकस कहिलेसम्म रहला ? सेयरधनीले कहिले पाउलान् अपेक्षा गरेअनुसारको प्रतिफल ? बैंकिङ क्षेत्रमा भविष्य खोजिरहेको युवाजगतले अब कसरी अगाडि बढ्ने ? यी र यस्तै जिज्ञासाको जवाफ खोज्न हामीले सीईओ केसीसँग विकास वहस गरेका छौं । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
बैंकिङ क्षेत्रको अहिलेको माहोल कस्तो छ ?
उकुसमुकुस भएको धेरै वर्ष भयो । नकारात्मकता बढेको छ । यसलाई विस्तारै सकारात्मकतर्फ डोर्यायाे भने माहोल राम्रो हुन सक्छ । कोभिड–१९ महामारीका कारण विश्वभरि नै शताब्दीको ठूलो संकट आइपर्याे । महामारीले मनोविज्ञानमा असर परेको छ । त्यसबाट बाहिर आउँदा सकारात्मक सोंचतर्फ अघि बढ्नपर्ने हुन्छ ।
अहिले जुनसुकै पेसा व्यवसाय र क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छ । कुनैबेला ‘ग्ल्यामरस’ क्षेत्रका रूपमा चिनिएको बैंकिङ क्षेत्र र बैंकरहरू पनि खत्तमै हुन् भनिन्छ । तपाईंले पनि समाजमा नकारात्मकता बढेको र माहोल त्यतैतिर लागेको भन्नुभयो । यसको जड के रहेछ ?
संधै समय समान रहँदैन । उतारचढावहरू भइरहन्छ । सरकारी बैंकबाहेक नेपालको बैंकिङ युवा अवस्थामा छ । । सरकारी बैंक छाडेर हेर्ने हो भने निजी बैंकहरू सञ्चालनमा आएको ४० वर्षमात्रै पुगेको छ । यस अवधिमा नेपाल बैंकिङ क्षेत्रका लागि केही राम्रा काम पनि भएका छन् । २०४६/४७ सालपछि बैंकिङ वृद्धि उल्लेख्य बढेको देखिन्छ । यस अवधिमा समग्र अर्थतन्त्रले पनि गति लियो । अर्थतन्त्रमा बैंकिङ क्षेत्रको ठूलो योगदान छ । थुप्रै बैंकहरू सञ्चालनमा आउँदा धेरै परिवर्तन पनि आयो । तर, पछिल्लो समय अप्ठ्याराे परिस्थिति आउँदा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्नु स्वाभाविक हो । बैंकिङ क्षेत्र आफैले एक्लै केही गर्न सक्दैन । बैंकको पफर्मेन्स निजी क्षेत्र वा व्यावसायिक क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहन्छ । जनताको आवद्धता र सरकारसँग पनि नजिकको सम्बन्ध हुन्छ । त्यसैले बैंकिङ क्षेत्र र अर्थतन्त्रबीच एकआपसमा सम्बन्ध रहन्छ । तैपनि गत वर्ष बैंकिङ क्षेत्रले ४० अर्ब कर तिरेका छन् । आफ्नो तर्फबाट गर्न सक्ने काम बैंकिङ क्षेत्रले गरिरहेको छ । अप्ठ्याराे परिस्थितिका कारण नकारात्मक भाष्य निर्माण भएका हुन् । यो राम्रो विषय होइन । तर, समयअनुसार विस्तारै कम हुँदै जान्छ ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भूतप्रभावी कानुन बलपूर्वक लागू गरेपछि बैंकहरूले ४० अर्ब कर तिरे । त्यसमा पनि महालेखाको टिप्पणी, कानूनी र करका विवाद थिए । बैंकरहरूले अदालतमा मुद्दा हाले पनि हारे । यो घटनालाई स्मरण गर्दा कसरी समीक्षा गर्नुहुन्छ ?
सर्वाेच्च अदालतले निर्णय गरेको विषयमा धेरै प्रतिक्रिया दिनु उपयुक्त हुँदैन । सरकारले गरेको यो निर्णयले सकारात्मक सन्देश दिँदैन । विदेशी लगानी (एफडीआई) कम आएको सन्भर्दमा नीतिगत अस्थिरता हुँदा समस्या आउँछ । यस्तो हुँदा विदेशी लगानीकर्तामा सही सन्देश जाँदैन । किनभने नेपाल जस्तो देशले धेरै अगाडि बढ्नुपर्ने र धेरै वृद्धि गर्नुपर्ने छ । जसको लागि ठूलो पुँजीको आवश्यकता पर्छ । नेपालमा लगानी गर्न योजना बनाएका लगानीकर्ताका लागि नीतिगत अस्थिरता सही सन्देश गएको छैन । भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । थप बहस गर्ने भन्दापनि सरकारले भविष्यमा यस्ता निर्णय गर्नुहुँदैन । यहाँबाट धेरै पाठ सिक्नुपर्ने हुन्छ । यदि त्यो रकम हामीसँग हुन्थ्यो भने थप लगानी गरेर धेरै प्रभावकारी काम गर्न सकिन्थ्यो । सरकारको ढुकुटीमा त्यो रकम गइसकेपछि कहाँ लगानी भयो भन्ने विषयले पनि अर्थ राख्छ ।
एनएमबी बैंकमा विदेशी लगानीकर्ता एफएमओ छ । विदेशी लगानीकर्तामा नकारात्मक सन्देश गयो भन्नुभयो । एफएमओको प्रतिनिधिले यो घटनालाई कसरी चित्रण गरे ?
एनएमबी बैंकको सबैभन्दा ठूलो सेयरधनी एफएमओको करिब १४ प्रतिशत लगानी छ । एफएमओले भिन्न बैंकिङ, अर्थतन्त्रमा सहयोग पुग्नेगरी नवीकरणीय ऊर्जा, स-साना एसएमईज कर्जामा लगानी गर्न प्रोत्साहन गरिरहन्छ । लगानी गरेपछि सम्बन्धित देशको नियामकले लागू गरेका नियम पालना गर्नैपर्ने हुन्छ । विदेशी लगानी रहेका बैंकका लगानीकर्ता र भविष्यमा नेपालमा लगानी गर्ने योजना बनाएका लगानीकर्तामा कस्तो प्रभाव पर्याे भन्ने विषय महत्त्वपूर्ण रहन्छ । नीतिगत अस्पष्टता, फरक समयमा फरक नीति लागू गर्दा पर्ने असर ठूलो हुन्छ । यसले तत्काल असर देखिने भन्दा पनि दीर्घकालमा ठूलो असर पर्ने गर्छ । त्यतिबेला ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसपछि सहज वातावरण बनाएर विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन तथा पूर्वाधार सम्मेलन गर्नुपर्ने स्थिति आउँछ । १०/१२ अर्ब रुपैयाँ ठूलो रकम होइन । तर, त्यसको असर कति पर्छ भनेर अध्ययन विश्लेषण गर्नुपर्ने हुन्छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १८ वर्ष काम गर्नुभयो । एनएमबीमा जोडिनुभएको १६ वर्ष बढी भयो । ३४/३५ वर्षको बैंकिङ अनुभवलाई स्मरण गर्दा कति स्मरणीय रह्यो ?
सन् १९९० मार्चबाट बैंकिङ करिअर सुरु गरेको हुँ । ३५ वर्ष फर्केर हेर्दा निकै लामो यात्रा पार गरेको जस्तो लागिरहेको छ । यस क्षेत्रमा रमाइलो मानेर काम गरेको हुँदा यति लामो समय कटेको लाग्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेर यहाँसम्म आइपुग्दा बैंकिङ क्षेत्रमा धेरै परिवर्तन भए । हामीले बैंकिङ अभ्यास गर्दा ३ वटा विदेशी लगानीका बैंक र ३ वटा सरकारी बैंकमात्रै थिए । उतिबेला ग्राहक बैंकमै धाउनुपर्थ्याे । बैंक खाता खोल्न पनि थुप्रै दिन लाग्थ्यो । सरकारी बैंक मात्रै हुँदा सामान आयात गर्ने वा निर्यात गर्न एलसी खोल्नुपर्याे भने एक महिना समय लाग्थ्यो । तीनवटा विदेशी लगानीका बैंक सञ्चालनमा आएपछि उनीहरूले विदेशमा भइरहेको राम्रो अभ्यासलाई नेपालमा भित्र्याए । त्यतिबेला सबै काम म्यानुअल हुन्थ्यो भने अहिले सबै काम अटोमेटेड कम्प्युटरबाट हुन्छ । बैंकका हिसाब क्याल्कुलेटर थिचेर गरिन्थ्यो । तर, कामको सिकाइ भने पक्का हुन्थ्यो । अहिले कुनै काम गर्नुपर्याे भने एआई र प्रविधिको सहयोगबाट गरिन्छ ।
त्यतिबेलाको समय हेर्दा बैंकिङ क्षेत्रले धेरै फड्को मारिसकेको छ । आधारभूत तहबाट गर्दै सिक्दै गर्दा नेपालको बैंकिङले धेरै फड्को मारिसकेको छ । तैपनि अझै त्यस किसिमको परिवर्तन आउन सकेको छैन । लामो यात्रामा धेरै उतारचढाव र चुनौति खेप्नुपर्याे । तर, मैले यात्रालाई नयाँ विषयवस्तुबारे सिक्ने अवसरका रूपमा लिएँ । धेरै सम्झौता गरें । यसले सन्तुष्ट बनाउँछ । ग्लोबल्ली बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आएका छन् । प्रविधिको विकास छिटोछिटो र नयाँनयाँ परिवर्तन भइरहेका छन् । ती प्रविधिसँग घुलमिल हुनुपर्ने चुनौती छ । पछिल्लो १०/१२ वर्षको अवधिमा विनाशकारी भूकम्प, नाकाबन्दी, ठूला आन्दोलन र कोरोना महामारी पनि भोग्नुपर्याे । कठिन समयमा पनि बैंकिङ क्षेत्र चलाउनुपर्ने बाध्यता थियो ।
कोरोना महामारीमा कर्मचारीसँग नजिक रहेर काम गर्याैं । कर्मचारीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दियौं । कर्मचारीको अथक मिहिनेतले सन् २०२१ मा फाइनान्सियल टाइम्स लण्डनले एशियाकै उत्कृष्ट बैंक अवार्ड एनएमबी बैंकलाई प्रदान गर्याे । बैंकिङ करिअरमा अप्ठ्याराे समयमा त्यो अवार्ड पाउनु ठूलो चुनौती थियो । किनभने नाफा र समस्याभन्दा पनि दीगो बैंकिङलाई अघि बढाउनुपर्ने चुनाैती थियो । त्यसैले कुनैपनि अप्ठेरो परिस्थितिमा डराएर पछि हट्नेभन्दा पनि संघर्ष गर्नुपर्ने हुन्छ । कर्मचारीको सकारात्मक सोंचबाट नै अवार्ड पाउन सकिएको हो ।
महत्त्वपूर्ण डिल गरेर उत्साहजनक भयो भन्नुभयो । कतिपय डिल बिग्रेका पनि हुन सक्छन् । कतिपय डिलले बैंकलाई घाटा पनि भएको हुनसक्छ । संस्था र समाजलाई नै गज्जब भएको कुनै त्यस्तो कुनै डिल छ ?
सन् २०१६/१७ तिर नेपालमा होंसी सिमेन्ट उद्योग सञ्चालन गर्दा फरक तरिकाले ‘कन्सोर्टियम सिण्डिकेसन’ कर्जा प्रवाह गर्याैं । ५/६ वटा बैंक सहभागी भएर ठूलो सिण्डिकेसन लोन प्रवाह गरेका थियौं । नेपालका बैंकमात्रै नभएर संसारकै सबैभन्दा ठूलो बैंकसँग सहकार्य गरेर एफडीआई भित्र्यायौं । अहिले सिमेन्टमा नेपाल आत्मनिर्भर छ । त्यसमा योगदान गर्न पाउँदा खुसी लाग्छ । त्यसले पारेको सकारात्मक प्रभाव सम्झिनलायक छ ।
होंसी सिमेन्ट विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भए । विदेशी लगानी भनिए पनि घुमाउरो बाटो प्रयोग गरेर नेपालभित्रकै पुँजी परिचालन गरेको भन्ने थियो । खासमा के भएको थियो ?
नेपालजस्तो देशमा ठूलो आकारको प्रोजेक्टमा लगानी ल्याउन सहज वातावरण हुनुपर्थ्याे । स्ट्रक्चर डिलले पनि त्यो वातावरण बनेको थियो । त्यसमा ल्याउनुपर्ने इक्विटी सबै ल्याएको थियो । बैंक अफ चाइना र अन्य चाइनिज बैंकको फाइनान्सियल ग्यारेन्टी लोन दिएको थियो । सबै जोखिम ती बैंकले लिएका थिए । चाइनिज कम्पनीले नै बीमा गरेको थियो । कुनै प्रोजेक्ट सफल हुन जोखिम समावेश हुनुपर्छ । अहिले सबै कर्जा तिरिसकेको छ । थोरै मात्रै तिर्न बाँकी छ । नेपाल वा विदेशको पुँजीभन्दा पनि स्वदेशमै ठूलो उद्योग स्थापना भएको छ, धेरैलाई रोजगारी दिएको छ भनेर हेर्नुपर्ने हुन्छ ।
उपभोक्ता र बैंकको कर्मचारीको पक्षबाट बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । २०४०/०५० को दशकमा व्यवसाय गर्ने मान्छे अहिले पनि व्यवसाय गरिरहेका छन् । तर, लगानीकर्ताको पक्षबाट हेर्दा पछिल्लो समय खस्किएको गुनासो छ । बैंकमा गरेको लगानीबाट प्रतिफल आएन भन्नुहुन्छ, किन ?
सुरुमा बैंकमा लगानी गरेका लगानीकर्ताले सोंच्नै नसक्ने प्रतिफल पाएका छन् । विगत ५/१० वर्षको अवधिमा पुँजी वृद्धिका कारण प्रतिफल कम भएको हो । बैंकिङ क्षेत्रको नाफा ६०/६५ अर्ब रुपैयाँ छ । प्रत्येक बैंकको नाफा २/४ अर्ब छ । तर, अपेक्षाअनुसारको नाफा होइन । निजी क्षेत्र वा अन्य क्षेत्रबाट हेर्दा धेरै प्रतिफल दिने कम्पनी पनि छन् । त्यसैले बैंक मात्रै नाफामुखी भए भन्ने विषयमा सत्यता छैन । बैंकहरू आधारभूतरूपमा उचित प्रतिफल दिन सक्ने संस्था हुन् । अबको केही समयपछि परिस्थिति सहज हुने बित्तिकै उचित वा अन्य क्षेत्रसँग तुलना गर्न मिल्नेगरी प्रतिफल दिनेछन् ।
बैंकिङ क्षेत्रमा तपाईं जस्तै खारिएका व्यक्तिहरू छन् । नियामकले नजिकबाट धेरै विषयमा अभिभावकत्व गर्न खोजिरहेको जस्तो देखिन्छ । एक/डेढ वर्ष अगाडि निक्षेपको ब्याजदर १३ प्रतिशत पुग्यो । त्यो ब्याज घटेर ४/५ प्रतिशतमा झरेको छ । १५ प्रतिशत पुगेको कर्जाको ब्याजदर अहिले ७ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकको ब्याजदर सतप्रतिशत तलमाथि भयो । यो किसिमको अस्थिरता किन ?
आजभन्दा २ वर्ष अगाडि संसारभर नै ब्याजदर बढेको थियो । संसारको सबैभन्दा ठूलो र विकसित अर्थतन्त्र भएको अमेरिकामा २०/२२ पटक ब्याजदर बढ्यो । साढे १ प्रतिशतभन्दा कम रहेको ब्याजदर साढे ५ प्रतिशतसम्म पुग्यो । अमेरिकामै यस्तो परिवर्तन आउँदा बेलायत, यूरोप, भारतमा समेत ब्याजदर बढेको थियो । त्यसैले अधिकांश देशमा ब्याजदर बढेका बेला नेपालमा पनि ब्याजदर बढेको हो । नेपालमा तरलता अभाव भएपछि ब्याजदर बढेको हो । निक्षेपको माग बढी भएपछि ब्याजदर बढ्नु स्वाभाविक हो । केन्द्रीय बैंकको नीतिगत व्यवस्थाले पनि ब्याजदर बढ्न मद्दत पुगेको हो । निक्षेपको ब्याजदर बढ्दा बजारको १० प्रतिशतभन्दा नबढ्ने नीति थियो । बैंकरबीचको भद्र सहमतिअनुसार ब्याजदर बढ्दा समग्र अर्थतन्त्रमा असर गर्छ भनेर धेरै माथि जान दिएको थिएन । त्यति हुँदाहुँदै पनि बढ्नेक्रम जारी रह्यो । त्यतिबेला आन्तरिक बाह्य दुबै दबाब थियो ।
८/९ प्रतिशतमा लिएको कर्जाको ब्याज १३/१४ प्रतिशत पुग्दा कर्जाको किस्ता नियमित गर्न समस्या भयो । उद्योगी व्यवसायीका आफ्नै समस्या थिए । अहिले ७/८ प्रतिशत ब्याजदरमा कर्जा पाएर के गर्ने ? कुन दिन १५ प्रतिशत पुर्याउँछन् भन्ने संशय छ । त्यसको प्रभाव स्वरूप अहिले कर्जाको माग नआएको हो कि ?
हामीले दिने दर दुई/तीन प्रकारको हुन्छ । कुनै ब्याजदर बजारको मागअनुसार बढ्दा बढ्ने जाने र घट्दा घट्ने हुन्छ । यस्तै स्थिर ब्याजदरमा कर्जा दिएपछि बजारमा जस्तोसुकै परिवर्तन आएपनि स्थिर ब्याजदरमा कुनै परिवर्तन आउँदैन । यस्तै आधार दरमात्रै परिवर्तन हुने र प्रिमियम दर स्थिर राख्न सकिने विकल्प पनि छ । बैंकको आधार दर परिवर्तन हुँदा मात्रै परिवर्तन हुन्छ । त्यसैले यस्तो संशय गर्ने ठाउँ छैन ।
पुँजी बजारमा वाणिज्य बैंकको सेयर मूल्य निकै कम देखिन्छ । किन यस्तो भएको होला ?
म सेयर बजारको विज्ञ होइन । फण्डामेन्टल्ली कम्पनीको संरचना, लगानी, नेटवर्थ, व्यवसाय गर्न सकिने अवधारणालाई हेरेर मूल्य निर्धारण हुनुपर्ने हो । फण्डामेन्टल्ली ठिक भएका कम्पनीको सेयरले उचित मूल्य पाउनुपर्ने हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढेको र वितरणयोग्य नाफा प्रभावित भएको छ । त्यसको प्रभाव परेको पनि हुन सक्छ । तर, बैंकहरू बाउन्स ब्याक हुन्छन् ।
एनएमबी बैंकले कुनै समय उत्कृष्ट पफर्मेन्स गरेको थियो । पछिल्लो समय बैंकको स्पिड घटेको हो ?
विगत ५/६ वर्षको तुलना गर्दा लाभांश वितरणमा एनएमबी बैंक टप फाइभ भित्रपर्छ । गत वर्ष हामीले दिएनौं । तर, त्यसअघिको अवधिलाई तुलना गर्ने हो भने बैंकले औसत १८/१९ प्रतिशत प्रतिफल दिएको छ । अर्थतन्त्र समस्यामा पर्दा विभिन्न किसिमका जोखिम भएपछि गत वर्ष व्यवसाय वृद्धि गरेनौं । त्यसैले गत वर्ष लाभांश नदिएपछि कमेन्ट गरेका हुन सक्छन् । तर, रणनीतिक हिसाबले अप्ठ्याराे परिस्थितिमा सबै विषय मिलाएर अघि बढ्नुपर्ने हुन्छ । दीर्घकालीन रणनीतिक हिसाबले कुनै समय हामीले नियन्त्रण भएर बस्नुपर्ने हुन्छ । दीगो बैंकिङ गरिरहँदा प्रतिफल मात्रै नभई अन्य पार्ट पनि हेर्नुपर्ने हुन्छ । बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, शिक्षामा लगानी गरेको छ । यी क्षेत्रबाट भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । त्यसैले सहज अवस्था आएपछि क्याचअप गरिहाल्छौं ।
त्यो समय कहिले आउला ?
यही वर्ष पनि आउन सक्छ । गत वर्ष मात्रै वृद्धि नभएको हो । किनभने त्योबेला वृद्धि गर्ने समय पनि थिएन । नेपालको समग्र कर्जाको वृद्धि ५ प्रतिशत थियो । त्योभन्दा अगाडि ३ प्रतिशत थियो । २०/२५ प्रतिशत वृद्धि गर्नु स्ट्याण्डर्ड हो भनेर बजारको बुझाइ छ । बैंकिङ क्षेत्रमै वृद्धि छैन भने हामी मात्रै एक्लैले गर्न सक्ने अवस्था हुँदैन ।
तपाईंसँग ३५ वर्षको बैंकिङ अनुभव छ, बैंकिङ क्षेत्रका हरेक आरोहअवरोहरुको अनुभव गर्नु भएको छ, अबको एक/दुई दशक बैंकिङ क्षेत्र कसरी अगाडि बढ्ला भनेर अनुमान गर्न सक्नुहुन्छ । बैंकिङ क्षेत्रमा आवद्ध भइरहेका र नयाँ आउने युवापुस्तालाई तपाईंको राय के छ ?
नेपालको बैंकिङ युवापुस्तामा छ । बैंकिङलाई अन्य क्षेत्रसँग तुलना गर्ने हो भने ४० वर्षमा कमैले छलाङ मारेका छन् । यो क्षेत्र सबैभन्दा धेरै पारदर्शी छ । नियामकको दायराभित्र छ । सुशासनको स्ट्याण्डर्ड अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्रमा उत्कृष्ट छ । पछिल्लो समय विभिन्न उतारचढाव आएपनि बैंकिङ क्षेत्र धेरै अप्ठ्याराे परेन । नेपालको बैंकिङ क्षेत्र भारतबाहेक दक्षिण एशियामै राम्रो छ । किनभने अप्ठ्याराे स्थितिमा पनि हामीले उत्कृष्ट पफर्मेन्स गरिरहेका छौं । जलविद्युत, आईटी क्षेत्र र पर्यटन लगायतमा ठूलो सम्भावना छ । यी सबैलाई हेर्ने हो भने नेपालले अबको १० वर्षमा ८/१० प्रतिशतको आर्थिक वृद्धि गर्न सक्छ । त्यसैले नेपालको बैंकिङमा सम्भावना थुप्रै छन् ।
बैंकिङ क्षेत्रले डिजिटाइजेशनमा ठूलो लगानी गरेको छ । अझै लगानी भइरहेको छ । पारदर्शी, नियामक वातावारण, सुशासनमा काम गर्नेलाई बैंकिङ करिअर राम्रो नै छ । बैंकिङले आफ्नो जीवन मात्रै परिवर्तन गर्ने नभई अरूको जीवनमा पनि परिवर्तन गर्ने क्षेत्र हो । यो व्यापार गर्ने क्षेत्र होइन । बैंकिङ क्षेत्रमा १८ लाख ऋणी, ५ करोड बढी निक्षेप खाता छन् । उनीहरूसँग डिल गर्दा सन्तुष्टसँग आनन्दमय छ । वास्तविक रूपमा सही बैंक छनोट गरेर आफ्नो जीन्दगीलाई नै अर्काे तहमा पुर्याउन मद्दत पुग्छ । कसैको जीवनमा परेको सकारात्मक प्रभावले छुट्टै किसिमको अनुभूति दिन्छ । तरु, व्यापार गर्छु र पैसा कमाउँछु भन्नेलाई अन्य क्षेत्र पनि छन् ।
सुनिल केसी जस्तो बन्न पाए हुन्थ्यो, वाणिज्य बैंकको सीईओ बन्न पाए हुन्थ्यो भनेर आकांक्षा राख्ने युवा धेरै हुन सक्छन् । बैंकको टप लेभलमा पुग्छु, सीईओ बन्छु भन्नेलाई तपाईंको सल्लाह के हुन्छ ?
बैंकिङ अभ्यास विश्वासको व्यवसाय हो । एनएमबी बैंकमा साढे २ सय अर्बको हाराहारीमा निक्षेप छ । २० लाख ग्राहक छन् । ती ग्राहक पूर्व ताप्लेजुङदेखि दार्चुलासम्मका हुन् । उहाँहरू विश्वासले बैंकमा आवद्ध हुनु भएको हो । बैंकको टप पोजिसनमा पुग्न सबैभन्दा पहिला इन्टिग्रीटी, इथिकल अभ्यास, हार्ड वर्क, सिकिरहने बानी हुनुपर्छ । यो व्यवहार भएका जोपनि सीईओ बन्न सक्छ । किनभने रकेट साइन्स होइन बैंकिङ क्षेत्र ।
नेपाली बैंकरले असाध्यै राम्रो गरेका काम के-के हुन् ?
बैंकरले बैंकिङ क्षेत्रलाई व्यावसायिक रूपमा हाँकेर विश्वास कायम गरेका छन् । कुनै न कुनै हिसाबमा नेपालीहरू बैंकमा जोडिएका छन् । तर, जनताको भरोसालाई बैंकिङ क्षेत्रले टुट्न दिएको छैन । यही नै सबैभन्दा ठूलो काम हो । किनभने अन्य देशमा बैंक डुबेका उदाहरण पनि छन् । तर, नेपालको बैंकिङ क्षेत्रले हालसम्म ठूलो दूर्घटना भोगेको छैन । भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता ठूला संकट पनि टारेर आएको छ । बैंकिङ क्षेत्रलाई यहाँसम्म पुर्याउन ५० हजार कर्मचारीको ठूलो योगदान छ । सबैभन्दा राम्रोसँग सञ्चालित नियामक राष्ट्र बैक छ । अभिभावकको भूमिका राम्रो पाएको छ ।
गर्न नसकेका कामहरू के हुन् ?
यो भन्दा उचाइमा जान सकिन्थ्यो होला । अन्तर्राष्ट्रिय रूपमा जान सकेका छैनौं । आन्तरिक रूपमा मात्रै व्यवसाय गरिरहेका छाैं । डिजिटलमा अझै फड्को मार्न बाँकी छ । बैंकिङ क्षेत्रको वृद्धि हुँदा अर्थतन्त्रलाई के प्रभाव परेको छैन । २० प्रतिशतका दरले बैंकको ग्रोथ हुँदा अर्थतन्त्र ४ प्रतिशतको हाराहारीमा मात्रै बढिरहेको छ । जसरी अर्थतन्त्रको वृद्धि हुनुपर्थ्याे, त्यसरी हुन सकेको छैन ।
नेपालका बैंकहरूले ट्रेड फाइनान्समा मात्रै लगानी गरे । छिटो नाफा जहाँबाट आउँछ त्यहाँ मात्रै लगानी गरे । अनुत्पादक क्षेत्रमा मात्रै गए । उद्यमी अप्ठ्याराे परेको बेला बचाउनुपर्नेमा उल्टै धितोको धनसम्पत्ति जफत गर्नेतर्फ केन्द्रित भएको आरोप पनि लाग्छ नि ?
नेपालको अर्थतन्त्र व्यापारमा आधारित छ । सबै वस्तु आयात गर्नुपर्छ । त्यो बैंकका लागि बाध्यात्मक अवस्था पनि हो । तर, त्यतिमात्रै नभएर ६०/७० अर्ब रुपैयाँ जोखम मोलेर खोलामा लगानी गरेका छन् । यसमा बैंकिङ, राष्ट्र बैंक, निजी क्षेत्रको पनि योगदान छ । हाम्रो पहिलो धर्म निक्षेपकर्ताको बचत सुरक्षित गर्नु र मागेको बेला फिर्ता गर्नु हो ।
निक्षेपको अभाव भएपछि बैंकरहरू निक्षेपकर्ता खोज्दै निक्षेप ल्याउनुपर्ने र बढी पैसा भएपछि उद्यमी खोज्दै कर्जा दिनुपर्ने अवस्था छ । अहिले पनि ऋण लिनूहोस् भनेर उपभोक्ताको घरघरमा बैंक जान थालेका छन् । यही ट्रेण्डमा अबको ५/१० वर्ष कस्तो रहला ?
सुरुवातमा खाता खोल्न तीन/चार दिन लाग्थ्यो भने एलसी खोल्न महिनादिन कुनुपर्ने थियो । तर, अहिले ग्राहक बैंकमा नआई बैंक आफै घरघरमा पुगेका छन् । घरदैलोमा पुगेर व्यापार व्यवसाय गर्नुपर्ने अवस्था छ । डिजिटाइजेनको युग हो । अधिकांश काम मोबाइलबाटै हुने गरेका छन् । अहिले एआईले डोमिनेट गरिसकेपछि क्लाइन्टले के कस्तो खोजिरहेको छ भनेर हेर्न सकिन्छ । अब समय ग्राहकलाई के आवश्यकता छ भनेर बैंक आफैले अग्रसर हुनुपर्ने बेला आउँछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.