टीआई नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित

  २०८१ असोज ४ गते १९:०३     विकासन्युज

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रूपमा विगत ४ वर्षदेखि क्रियाशील रहँदै आएका थिए ।

यसैगरी, सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।

भ्रष्टाचारविरुद्धको राजनीतिक प्रतिवद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रणतर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ ।

वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनु पर्ने, सहकार्य सशक्त गराउनुपर्नेजस्ता कुरामा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.