सिरहा : स्थानीय तहविरुद्ध दुई महिनामै २ सय ७० भ्रष्टाचारका उजुरी

  २०८१ असोज ४ गते १९:२२     विकासन्युज

 

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० उजुरी परेको जानकारी दिएको छ ।

बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फर्छ्याैट भइसकेको र बाँकी दुई सय ४४ प्रक्रियामा छन् । जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा रहेका छन् । जसमध्ये चारवटा मुद्दा फर्छ्याैट भइसकेका छन् भने ४२ वटा बाँकी छन् ।

लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फर्छ्याैट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँचवटा फर्छ्याैट भएको, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, मिर्चैया नगरपालिकाविरुद्धको १३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, भगवानपुर गाउँपालिका विरुद्धको १२ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ ।

त्यस्तै, विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुईवटा फर्छ्याैट भएको, नरहा गाउँपालिकाविरुद्धको सातवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँचवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ ।

धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धकोे पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धकोे तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो ।

कार्यक्रममा सुखीपुर नगपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले मधेस प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.