जसले आफूलाई घर बनाएनन्, अरूलाई उद्यमी बनाए

  २०८१ असोज ५ गते ११:०५     ऋतु

काठमाडौं । दुई दशकअघि गुल्मीबाट व्यापार–व्यवसाय गर्न उनी काठमाडौं आएका थिए । सामान्य काममा हात हालेका उनले दिनरात नभनी अथक मिहिनेत र इमान्दारिताका साथ कर्म गर्दै गए । बिस्तारै सफलता पनि हात लाग्दै गयो ।

काममा उनले कहिल्यै सम्झौता गरेनन् । कामलाई सानो वा ठूलो पनि भनेनन् । मिहिनेत र परिश्रम नै कर्म हो भन्ने मन्त्र सधैं आत्मसाथ गरेर अगाडि बढे । यही मन्त्रले उनलाई सफलताको उचाइतिर अगाडि बढाउँदै लग्यो ।

र, एकदिन त्यो उनको पोल्टामा परिछाड्यो । जुन, सायद उनले सोचेका पनि थिएनन् होला । अथक मिहिनेत र कडा परिश्रमबाट उनले ‘नाम र दाम’ दुवै कमाए ।

पैसा कमाएपछि आरामदायी जिन्दगी बिताउने रहर मानवीय स्वभाव हो । पैसा कमाएपछि घरजग्गा जोडौं, देशविदेश शयर गरौं, अब धेरै दुःख किन गर्ने भन्ने भावना आममानिसमा उत्पन्न हुनु अस्वाभाविक पनि होइन । तर, गुल्मीका शंकर भण्डारी भने यो मामलामा ‘अपवाद’ देखिन्छन् ।

व्यापार–व्यवसाय नै गर्न भनेर काठमाडौं झरेका शंकरले आफन्तसँगै काम सिके । लगनसाथ आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गर्न ज्ञान सिके, सिप पनि सिके । विडम्बना, आफन्तसँगको उनको सहयात्रा त्यति लामो समय अगाडि जान सकेन । तर, हस्पिटालिटी क्षेत्रमा अहिले पाएको सफलतामा तिनै आफन्तको देन भनेर शंकर भुल्न सक्दैनन् ।

‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ ।

‘मलाई धेरै पैसा कमाउँ, लक्जरियस लाइफ बिताउँ भन्ने नै लाग्दैन,’ शंकर सादगी सुनिन्छन्, ‘म एक सामान्य मान्छे हुँ, मैले कमाएको पैसा म सकेसम्म बिजनेसमै लगानी गरेर यसलाई अझ विस्तार गरौं भन्ने नै रहन्छ ।’

होटल–रेस्टुरेन्टबाट कमाएको पैसा घरजग्गा किन्ने, उपभोगमा खर्च गर्ने सोच उनमा कहिल्यै आएन । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ ।

२२ वर्षअघि २०५९ साल । काठमाडौं सुन्धारामा शंकरले आफन्तसँगको साझेदारीमा होटल सुरु गरे । काम गर्दै जाने क्रममा लामो समय सहकार्य नहुने देखिएपछि उनले होटलको साझेदारी छाडे । होटल छाड्दा उनीसँग ८० हजार रुपैयाँ थियो । त्यही पैसाले सुन्धारामै किराना पसल खोल्ने निर्णय गरे ।

‘पसल सुरु गर्दा ८० हजार मात्रै थियो, त्यसमा पनि ३५ हजारको त समान राख्न र्याक नै बनाएँ,’ शंकर सम्झिन्छन्, ‘बाँकी ४५ हजार रुपैयाँको सामान हालेँ ।’

पसल उनले सोचेभन्दा राम्रो हुन थाल्यो । त्यो किराना पसल पाँच वर्ष चलाए । त्यो बेला उनको पसल सुन्धारा क्षेत्रकै ‘उत्कृष्ट’ पसल भएको उनी सम्झिन्छन् । ‘मैले यस क्षेत्रका सबैजसो होटललाई किराना सामान सप्लाई गर्थें,’ उनी भन्छन्, ‘त्यसबेला दैनिक डेढ लाखसम्मको व्यापार पनि भयो ।’

किराना पसलबाटै राम्रो व्यापार भए पनि उनको मन भने होटल व्यवसाय कसरी गर्ने भन्नेमै डुलिरहेको थियो । ‘किराना पसल मेरो लक्ष्य होइन, मैलै त योभन्दा राम्रो गर्न सक्छु भन्ने हिम्मत थियो,’ शंकर तत्कालीन योजना सुनाउँछन्, ‘त्यसपछि मैले फेरि होटल व्यवसायमा हात हाल्ने निर्णय गरेँ ।’

शंकरले २०६३ सालमा सुन्धारामै एउटा घर भाडामा लिएर होटल स्थापना गरे । उनको मनमा व्यवसाय गरेपछि ‘ब्रान्ड’ स्थापित गर्नुपर्छ भन्ने सधैं हुन्थ्यो । उनले ‘भोलि म नरहे पनि मैले सुरु गरेको ब्रान्ड रहोस्’ भनेर होटलको नाम राखे ‘प्रेसिडेन्ट होटल’ ।

उनले होटल सुरु गर्ने समय देशमा पनि विभिन्न आन्दोलन भइरहेका थिए । देशको राज्य सत्ता परिवर्तनसँगै शंकर पनि व्यवसाय गरेर जीवन परिवर्तन गर्ने सुरुमा थिए ।

‘होटल सुरु गर्ने बेला पनि मसँग धेरै पैसा थिएन,’ उनी सम्झिन्छन्, ‘६ तलाको घरको दुई तलालाई मैले होटलमा रूपान्तरण गरेँ, बाँकी रहेका चार तलामा चिनेका साथीभाइसँग सरसापट गरेर त्यसलाई बढाउँदै लगेर एक वर्षमा पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएँ ।’

निरन्तरको संघर्ष र मिहिनेतमा उनले सुरु गरेको होटलले राम्रो गति लिन थाल्यो । त्यसपछि यो गतिलाई थप उचाइ दिनुपर्छ भन्ने लाग्यो । २०६५ सालमा उनले फेरि सुनधारामै अर्को घर लिएर थप होटल सुरु गरे ।

दुवै होटलबाट सफलता मिल्दै गएपछि शंकरले २०६९ सालमा रुपन्देही (लुम्बिनी) मा १५ कोठाको होटल सुरु गरे । त्यसपछि २०७२ सालमा बालाजुमा २० कोठाको अर्को होटल पनि सञ्चालनमा ल्याए ।

गुल्मीको एक मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका शंकरको परिवारको व्यापार–व्यवसायमा टाढासम्म कुनै साइनो थिएन । पुस्तादेखि कृषि पेसा अँगाल्दै आएको परिवारमा होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गर्दै आएका शंकर मात्रै थिए । यो सफलता होटलमा मात्रै सीमित राख्न चाहेनन् शंकरले ।

त्यसपछि शंकरको मन रेस्टुरेन्ट व्यवसायतिर मोडियो । २०७३ सालमा सुन्धारामा ‘पे्रसिडेन्ट सेकुवा’ रेस्टुरेन्ट सञ्चालन गरे ।

‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ को नारा राखेर सञ्चालनमा ल्याइएको प्रेसिडेन्ट सेकुवाले छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि यसका आउटलेट पनि खुल्दै गए । करिब दुई दशकको यात्रामा प्रेसिडेन्टका १४ आउटलेटमा सञ्चालनमा छन् ।

सेकुवाको स्वादले धेरैको मन जितेपछि शंकरलाई थप रेस्टुरेन्ट खोल्ने हौसला मिल्दै गयो । उनले क्रमशः कलंकीको रविभवन, पुरानो बानेश्वरको बत्तीसपुतली, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु गरे । काठमाडौंमा मात्रै २० वटा आउटलेट खोल्ने शंकरको योजना छ ।

प्रेसिडेन्ट सेकुवा काठमाडौंमा ‘स्थापित ब्रान्ड’ भएको उनको दाबी छ । प्रेसिडेन्टकै नामबाट बेकरी पनि सञ्चालनमा ल्याएका छन् ।

आज  (असोज ५ गते) शनिबारदेखि सिनामंगल एयरपोर्टमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । यसलगत्तै लुम्बिनीमा मायादेवी मन्दिरबाट ५ मिनेट दुरीमा प्रेसिडेन्ट होटल सञ्चालनमा ल्याउँदैछन् ।

साझेदारी बढाउँदै

व्यावसायिक यात्राले सफलता पाउँदै गएपछि ‘अब एक्लै धान्न सकिँदैन, साझेदार पनि चाहिन्छ’ भन्ने शंकरलाई लाग्यो । त्यसपछि उनको प्रेसिडेन्ट बिजनेस ग्रुपमा विभिन्न साझेदार जोडिए । साझेदार संख्या अहिले २५ पुगेको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुप र गैरआवासीय नेपालीहरूको सहकार्यमा नेपालभरि १ अर्ब रुपैयाँ लगानीमा एयरपोर्टमा खुलेको होटलसहित १० होटल खोल्न लागिएको शंकर खुसीसाथ सुनाउँछन् ।

‘कुल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभरि १० नयाँ होटल र रेस्टुरेन्ट खोल्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं, यी होटल काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर, जनकपुर लगायत प्रमुख सहरमा बन्नेछन्,’ शंकर योजना सुनाउँछन्, ‘गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबीचको यस सहकार्यले नेपालको होटल उद्योगलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास छ ।’

प्रेसिडेन्ट ग्रुपमा हाल करिब ३ सय युवाले रोजगारी पाएका छन् । त्यसमा २५ देखि ३० जना फरक क्षमता भएका व्यक्ति छन् ।

शंकरसँग सुरुवातदेखि जोडिएका धेरै कर्मचारी साथीहरू नै उनको बिजनेसमा साझेदार छन् । ‘हामीले धेरै ठूला होटलभन्दा साना होटल र रेस्टुरेन्टलाई फोकस गरेर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसमा नै सफलता हासिल गर्ने हाम्रो लक्ष्य हो ।’

प्रेसिडेन्ट सेकुवामा टिपिकल नेपाली स्वादका विभिन्न आइटम पस्किने जमर्को गरेको शंकर बताउँछन् । नेपाली खाना र त्यसको स्वादलाई इन्डियन, कन्टिनेन्टल, चाइनिज, इटालियन, थाई खानाहरूले पनि ग्राहकलाई सन्तुष्ट पार्ने कोसिस रहेको उनी बताउँछन् ।

‘नेपाली खाना स्वाद मात्रै नभएर पहिचान समेत भएकाले यसैलाई हामीले सिग्नेचर डिसका रूपमा विस्तार गर्दै लगेका छौं,’ उनी भन्छन्, ‘प्रेसिडेन्ट सेकुवामा आउने ग्राहकलाई हामी सकेसम्म नेपाली खाना खान प्रेरित गर्छौं, पिज्जा, बर्गर हाम्रो पहिचान होइन, त्यसैले हामीले प्रेसिडेन्ट सेकुवामार्फत नेपाली मौलिक खाना पस्केका हौं । प्रेसिडेन्टले खानाको क्वालिटी, हाइजिन र क्वान्टिटीलाई मेन्टेन गरेको छ ।’

पर्यटनमा शंकरले देखेको सम्भवाना

विगत कोट्याएर हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा धेरै ठूला दुर्घटना भए । यसले पनि यस क्षेत्रमा धेरै असर पारेको शंकर बताउँछन् । तर, नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएकाले आत्तहिाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘हरेक कुराका नकारात्मक र सकारात्मक पक्ष हुन्छन्, कोभिडपछि पर्यटन क्षेत्र चलायमान बन्दैछ, कमीकमजोरी त अझै पनि छन्,’ उनी भन्छन्, ‘नेपालीहरूमा पनि रेस्टुरेन्टमा खाने, घुम्ने, रमाउने कल्चरमा वृद्धि हुँदै गएको छ, जुन हिसाबले अन्य देशमा छ त्यो चाहिँ अहिले नभए पनि भोलिका दिनमा हुन्छ भन्नेमा हामी आशावादी छौं ।’

पाँच–सात वर्षदेखि नेपालको हस्पिटालीटी क्षेत्रमा काम गर्ने व्यवसायीहरूले एकाध बाहेक खासै मुनाफा आर्जन गर्न नसकेको शंकर बताउँछन् । तर, बिस्तारै यस क्षेत्रले फड्को मार्ने र धेरै मुनाफा आर्जन गर्नेमा उनी विश्वस्त छन् ।

‘यो क्षेत्र आज लगानी गरेर भोलि नै प्रतिफल आइहाल्ने क्षेत्र होइन,’ उनी भन्छन्, ‘यसमा जसले धैर्य गर्न सक्यो, प्यासनमा अडिग रहन सक्यो, त्यसले नै प्रगति गर्न सकेको देख्दै आइरहेका छौं ।’

पछिल्लो समय नेपालको हस्पिटालिटी क्षेत्रमा ठुल्ठूला ब्रान्ड र लगानी भित्रिने क्रम जारी छ । भएका नाम चलेका चारतारे–पाँतारे होटल बन्द भएका पनि छन् । यो प्रस्पिर्धात्मक क्षेत्र हो । यहाँ आउने जाने क्रम चलिरहने शंकर बताउँछन् ।

‘नेपाल आउने पर्यटक सबै पाँचतारे, चारतारेमा बस्ने मात्रै हुन्छन् भन्ने छैन, साना तथा मझौलामा बस्ने पर्यटक पनि आउँछन्,’ उनी भन्छन्, ‘यसै कारणले पनि यस क्षेत्रका सानादेखि ठूला व्यवसायीलाई व्यवसायमा थप हौसला मिलेको छ, दुर्घटनाले केही असर पारेको छ तर यसको असर लामो समय रहँदैन ।’

भर्खरै नेपाल पर्यटन बोर्डले नयाँ सीईओ पाएको छ । नेपालको पर्यटन प्रचार प्रसारमा बोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा शंकर आशावादी छन् ।

एयरपोर्टमा प्रेसिडेन्ट होटल

काठमाडौंको एयरपोर्ट गेट नजिकै शनिबारदेखि सञ्चालनमा आउन लागेको प्रेसिडेन्ट होटलमा करिब ५ करोड लगानी रहेको छ । २५ कोठा रहेको उक्त होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने शंकर बताउँछन् ।

नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे । उक्त होटलमा पर्यटकहरूले तीनतारे र चारतारे आवास सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चारदेखि पाँच हजार रुपैयाँको बीचमा राखिएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.